शनिवार, मंसिर २० २०७७
नेपाल वाइड
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बजारका घरबाट निस्कने फोहोरमैलालाई बर्गीकरण गर्दै मल बनाउने तयारी गरेको छ । दिक्तेलबजारका घरबाट निस्कने कुहिने फोहोरमैलालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको कम्पोष्ट मल प्लान्टमा लगेर मलमा रुपान्तरण गर्ने तयारी गरेको हो ।
घरबाट निस्कने सागसव्जी, घाँसपात, फलफुल, खानेकुरा, कसिंगर जस्ता कुहिने फोहोरमैलालाई अलग–अलग राख्ने तथा हरेक आईतबार र बिहिबार ढुवानी गरेर कम्पोष्ट मल प्लान्टमा लैजाने व्यवस्थाको तयारी पूरा भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो ।
सोल्मामा करोडौंको लगानीमा कम्पोष्ट मल प्लान्ट निर्माण सम्पन्न भएको केही समयपछि नगरपालिकाले फोहोरमैलालाई श्रोतबाटै बर्गीकरण गर्ने र कुहिने खालका फोहोरलाई कम्पोष्ट मल प्लान्टमा लैजाने व्यवस्थाका लागि शुक्रबार दल, टोल विकास समिति, उद्योग बाणिज्य संघ, होटल व्यवसायी, यातायात व्यवसायी लगायतसँग अन्तरक्रीया गरेको छ ।

घरबाट निस्कने फोहोरबाट मल उत्पादनको तयारीबारे अन्तरक्रिया कार्यक्रमका सहभागीहरु
घरबाट निस्कने कुहिने, नकुहिने र शिशाजन्य फोहोरमैलालाई श्रोतबाटै वर्गीकरण गर्ने तथा कुहिने फोहोरमैलालाई मोहरमा रुपान्तरण गर्ने पुर्वतयारीमा छलफल तथा अन्तरक्रीया गरिएको मेयर रिजालले बताए । कार्यक्रममा घरबाट सकेसम्म फोहोरमैला कम निकाल्ने र निस्किएका फोहोरलाई कुहिने, नकुहिने र शिशाजन्य फोहोरमा वर्गीकरण गरेर घरैमा राख्ने, बजारबाट निस्केको दिशाजन्य फोहोरलाई सोल्माकै वायोग्याँस प्लान्टमा लैजाने निर्णय गरिएको छ ।
यस्तै, बजारमा राखिएका डस्विनमा पैदलयात्रीबाट निस्केको फोहोर मात्र राख्ने, नगरपालिकाले फोहोरमैला तथा सरसफाई सम्बन्धि आवश्यक निति–नियम बनाउने र कार्यान्वयन गर्ने, टोल बिकास समितिले फोहोरमैला तथा सरसफाई व्यबस्थापन सम्बन्धी जनचेतना जगाउने, सबैले सरसफाई तथा फोहोरमैला ब्यबस्थापनलाई एजेन्डाकै रूपमा प्रस्तुत गर्ने लगायतका निर्णय भएको नगरपालिकाले जनाएको छ । दिक्तेलबजारका नकुहिने फोहोरमैलालाई भने नगरपालिकाले संकलन गरेर डम्पिङसाइटमा लगेर थन्काउँदै आएको छ ।