शनिवार, मंसिर २० २०७७
नेपाल वाइड
खोटाङ । मंसिर २०, प्रदेश नम्बर १ का सांसद राजन राई खोटाङको केपीलासगढी गाउँपालिका–३ बासपानीस्थित राष्ट्रिय माविको साईन्स ल्याव कक्ष निर्माणकाक्रममा मजदुरको रुपमा काम गर्न पुग्दा कतिपय स्थानीय अलमलमा परे । कतिपयले काम गरेजस्तो गरेर फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने र लोकप्रियताका लागि प्रचार गर्न खोजेको अनुमान गरे ।
तर, प्रदेशसभा सांसद राईले खुरुखुरु साईन्स ल्याव निर्माणका लागि बालुवा चाल्ने, बालुका बोक्ने, सिमेन्ट र बालुवा मुछ्नेलगायतका काम गर्न थालेपछि भने स्थानीयले सांसद राई साँच्चीकै मजदुरको काम गर्न आएको भनेर पत्याए । प्रदेशसभा सांसद राईले बिहिबारदेखि शनिबारसम्म राष्ट्रिय माविको साईन्स ल्याव निर्माणकाक्रममा मजदुरकारुपमा काम गरेका छन् । दैनिक एक हजार पारिश्रमिक लिएर मजदुरीको काम गरेको सांसद राईले बताए ।
खोटाङबाट प्रदेशसभा सांसद निर्वाचित राईको जन्मथलो पनि बासपानी नै हो । चार/पाँच दिन अघिदेखि उनी जन्मथलो बासपानीमा बसिरहेका छन् । गत मंसिर १५ गते ऐसेलुखर्क गाउँपालिकामा १५ शैयाको अस्पताल शिलान्यासपछि उनी घर आइपुगेका हुन् । आगामी मंसिर २३ गते केपीलासगढी गाउँपालिकामा पनि १५ शैया अस्पताल शिलान्यासका लागि गाउँपालिकाले प्रदेशसभा सांसद राईलाई नै प्रमुख अतिथिकारुपमा निम्त्याएको छ ।
केपीलासगढी गाउँपालिकाको अस्पताल शिलान्यास गरेर मात्र प्रदेश नम्बर १ को राजधानी जाने योजना अनुशार घर बसिरहेको अवस्थामा पारिश्रमिक लिनेगरी मजदुरीको काम गरेको सांसद राईले बताए । ‘अहिले प्रदेश संसद पनि चलेको छैन । बिराटनगर पुगेर फर्किनुभन्दा केपीलासगढी गाउँपालिकाको अस्पताल शिलान्यास गरेर मात्र जाने योजना बनाएर बसिरहेको छु,’ प्रदेशसभा सांसद राईले भने, ‘घरमा बसेको बेलामा दाजुभाईसँगै काम गरेर समय सदुपयोग गरेको हुँ । सुरुमा त फोटो चिखाउन आएको होला भन्ने पनि ठानेछन् । दिनभर काम गरेपछि भने साँच्चीकै काम गर्न आएको रहेछ भनेर पत्याए । काम सबैले गर्नुपर्छ । श्रम गर्न अप्ठ्यारो मान्नु हुँदैन । काम सानो ठूलो हुँदैन ।’
साईन्स ल्याव स्थापनाका लागि गाउँपालिकाले ६ लाख ५० हजार उपलव्ध गराएपछि राष्ट्रिय माविले आन्तरिक श्रोतबाट थप व्यवस्थापनको काम गरिरहेको छ । सांसद नै मजदुरकोरुपमा काम गर्न भन्दै आएपछि विव्यास अध्यक्ष नारायण राई र प्रअ कोमल रिमालले पनि एक दिन मजदुरी काम गरे ।
सांसद नै मजदुकारुपमा काम गर्न आएपछि मजदुरी काम गर्न लजाउनेका लागि अनुकरणीय काम भएको प्रअ रिमालले बताए । ‘तीन दिन मजदुरी काम गर्नु भएका सांसद गाउँका युवाका लागि उदाहरण बन्नु भएको छ । हामीले पनि उहाँसँगै काम गर्यौं,’ प्रअ रिमालले भने, ‘ठूलाबडाले नै मजदुरी काम गर्न आउँदा गाउँका अन्यलाई पनि काम गर्नु पर्ने रहेछ भन्ने सन्देश गएको छ ।’ सांसद राईले मजदुरी काम गरेवापत प्राप्त भएको ३ हजारले शनिबार साँझ विद्यालयमा जलपान कार्यक्रम गरेर विद्यालयको भौतिक तथा शैक्षिक विकासका सन्दर्भमा विव्यास, प्रअ, मजदुर लगायतसँग अन्तक्रीया गरेका छन् ।