मंगलवार, मंसिर २३ २०७७
नेपाल वाइड
खोटाङ । खोटाङको केपीलासगढी गाउँपालिकाले मुन्धुम ट्रेल (पदमार्ग)लाई पर्यटन प्रवद्र्धनको माध्यमका रुपमा उपयोग गर्ने तयारी गरेको छ । पुर्वी पहाडका चार जिल्लाको पर्यटन प्रवद्र्धनका लागि परिकल्पना गरिएको मुन्धुम ट्रेललाई प्रयोग गर्दै गाउँपालिकाले पर्यटन प्रवद्र्धनको योजना अघि सारेको हो ।
गाउँपालिकाले जि–फाउण्डेसनसँगको सहकार्यमा चखेवाबाट मैयूडाँडा, सातदोबाटो, बगरेभञ्ज्याङ, जुगेडाँडा, लौरेडाँडा, निकास हुँदै साल्पा पोखरी पुग्ने मुन्धुम ट्रेल जोड्ने सहायक पदमार्ग निर्माण गर्ने, मुन्धुम ट्रेल स्तरोन्नती गर्ने, मुन्धुम ट्रेलको आसपासमा होम स्टे लगायतका संरचना निर्माण गर्ने योजना बनाएको छ ।
विशेषगरी मुन्धुम ट्रेललाई पछ्याउँदै खोटाङ, भोजपुर, सोलुखुम्बु र संखुवासभाको बिचमा रहेको धार्मिक तथा पर्यटकीयस्थल साल्पा पोखरी जोड्नेगरी पुर्वाधार विकास तयारीको काम सुरु गरिएको केपीलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले बताए । मुन्धुम ट्रेलको करिब ४८ किलोमिटर खण्ड केपीलासगढी गाउँपालिकाभित्र पर्छ ।

साल्पा पोखरी र साल्पा पोखरी पुग्ने मुन्धुम ट्रेल (पदमार्ग)मा देखिएका सुन्दर दृश्य तस्बिर सौजन्य : गाउँपालिका अध्यक्ष कृष्णकुमार राई
मुन्धुम ट्रेल प्रयोग गरेर गाउँपालिकाबाट सहजरुपमा साल्पा पोखरी पुग्ने र फर्कने वातावरण बनाउनका लागि आवश्यक पुर्वाधार विकास गर्न चालु आर्थिक वर्ष गाउँपालिकाले ८ लाख र जि–फाउण्डेसनले ८ लाख विनियोजन गरेको छ ।
खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको रमणीय स्थलको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले २०७५ सालमा तयार पारिएको मुन्धुम ट्रेलले चार वटै जिल्लाभित्र रहेका चखेवाभञ्ज्याङ, मैयुङडाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पापोखरी, सिलिचुङडाँडा लगायतका पर्यटकीयस्थललाई जोडेको छ ।

ल्पा पोखरी र साल्पा पोखरी पुग्ने मुन्धुम ट्रेल (पदमार्ग)मा देखिएका सुन्दर दृश्य
मुन्धुम ट्रेल हुँदै भित्रिएका स्वदेश तथा विदेशका पर्यटकलाई गाउँपालिका भित्र्याउने तथा गाउँपालिकालाई साल्पा पोखरीसँग जोड्ने लक्ष्यका साथ आवश्यक संरचना निर्माणको काम अघि बढाइएको गाउँपालिका अध्यक्ष राईले बताए । यसका लागि गाउँपालिका र जि–फाउण्डेसनको बजेटमा सुंदेलमा गाउँबाट मुन्धुम ट्रेल जोड्ने दोर्खुदोभान–घुर्विसे पदमार्ग निर्माण र नचीदेखि जम्बुढुंगासम्मको करिब एक किलोमिटर पदमार्ग मर्मतको तयारी गरिएको छ ।
यस्तै, प्रदेश सरकार र गाउँपालिकाको बजेटबाट मुन्धुम ट्रेलको आसपासमा पर्ने सुंदेलको निकासदेखि जम्बुडाँडासम्मको पदमार्ग मर्मत, रावाधाप, धाप्लेदुन, रिमादुन, निकास, जम्बूढुंगादेखि सहदेउखर्क खानेपानी योजना सञ्चालन, जलजले–देउराली पदमार्ग मर्मत, रेवामुहान संरक्षण तथा रिचार्ज पोखरी निर्माण र रेवामुहान ईलाका जरबुटा संरक्षणका काम गरिने छन् ।

साल्पा पोखरी र साल्पा पोखरी पुग्ने मुन्धुम ट्रेल (पदमार्ग)मा देखिएका सुन्दर दृश्य
यस्तै, फेदीको लौरेदेखि जुगेडाँडा बाटो मर्मत, बगरेभञ्ज्याङ होम स्टे निर्माण, बगरेभञ्ज्याङ खानेपानी तथा फलैंचा निर्माण, सातदोबाटो–छमुवाखोला मुहान संरक्षण तथा रिचार्ज पोखरी निर्माणको काम गरिने छन् । मुन्धुम ट्रेलमार्फत पर्यटन विकास गर्ने सम्भाव्यता अध्ययनका लागि मंसिर १३ गते हिँडेको गाउँपालिका अध्यक्ष राईको टोली मंसिर १९ गते फर्केको थियो ।
पर्यटन विकासका लागि प्याराग्लाइडिङदेखि केबुलकारको सपना
मुन्धुम ट्रेलका माध्यमबाट पर्यटन विकासका लागि केपीलासगढी गाउँपालिकाले बहुवर्षीय योजना समेत बनाएको छ । डाँडाकेभीरदेखि सुंदेलसम्म स्काई डाइभिङ तथा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गर्ने, निकासदेखि सुंदेलसम्मका पदमार्गमा रेलिङ हाल्ने, सुंदेलमा साँस्कृतिक झल्किने होमस्टे निर्माण गर्ने, लौरेडाँडादेखि सुंदेलसम्म प्याराग्लाइडिङ र स्काई डाईभ तथा लौरेडाँडा–चिलिमढुंगादेखि फेदीसम्म केबुलकारको सम्भाव्यता अध्ययन गर्ने बहुवर्षीय योजनाको परिकल्पना गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

साल्पा पोखरी र साल्पा पोखरी पुग्ने मुन्धुम ट्रेल (पदमार्ग)मा देखिएका सुन्दर दृश्य
यस्तै, छमुवाखोला मुहानमा करिब २/३ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको सिमसार क्षेत्र संरक्षण गर्ने, लौरेडाँडा–चिलिमढुंगा–ढालतरबार पदमार्ग निर्माण गर्ने, केपीलासगढीडाँडा पदमार्ग निर्माण गर्ने लगायतका बहुवर्षीय योजना सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य छ । यसका लागि बजेट तयार गर्ने र क्रमशः योजना अघि बढाइने गाउँपालिका अध्यक्ष राईले बताए ।

साल्पा पोखरी र साल्पा पोखरी पुग्ने मुन्धुम ट्रेल (पदमार्ग)मा देखिएका सुन्दर दृश्य तस्बिर सौजन्य : गाउँपालिका अध्यक्ष कृष्णकुमार राई