मंगलवार, मंसिर २३ २०७७
नेपाल वाइड
खोटाङ । मंसिर २३, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी एकल महिला एवं वृद्धा धनमायाँ खत्रीलाई चामल, ओढ्ने, ओछ्याउने कपडा र भाँडाकुडा प्रदान गरिएको छ । ९६ वर्ष पुगेको अवस्थामा पारिवारिक हेरचाहबाट बञ्चित भएकी धनमायाँलाई नगरपालिका र नेपाल रेडक्रस सोसाईटीले चामल, जाडोमा ओढ्ने व्ल्यांकेट, ओछ्याउने कम्बल, साडी चोलो लगायतका लगाउने कपडाका साथमा भाँडाकुँडा प्रदान गरेका हुन् ।
असहाय अवस्थामा बसिरहेकी एकल महिला एबं वृद्धालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिणादेबी राईले बन्दोबस्तीका सामग्री हस्तान्तरण गरेकी छन् । चामल, ओढ्ने, ओछ्याउने कपडा र भाँडाकुडा प्रदान गर्नका लागि उपमेयर राईको नेतृत्वमा महिलाको टोली धनमायाँको घरमा पुगेका थिए ।
श्रीमानको मृत्यु भएपछि धनमायाँ लामो समयदेखि दुई छोरा र दुई छोरीसँगै बस्दै आएकी थिईन् । चार सन्तामध्ये एक जना छोराको मृत्यु भइसकेको छ । हाल उनी एक छोरा, दुई छोरी र तीन नातीसहित बसिरहेकी छन् ।
पारिवारिक वातावरण पाउनबाट बञ्चित रहेको जानकारी भएपछि एकल महिला एवं वृद्धालाई सहयोग गरिएको उपमेयर राईले बताईन् । आगामी दिनमा आवश्यकता अनुशार धनमायाँलाई सहयोग गरिने नगरपालिकाले जनाएको छ ।