मंगलवार, मंसिर २३ २०७७
नेपाल वाइड
मैयुङ यात्रा
यात्रा
२०७७ सालको दशैं सकिन अझै केहीदिन बाकी थियो । यसपटक दशैं कोरोना भाइरसको कारण सधैं जस्तो रमझम भएन । हामीले यस समयलाई सदुपयोग गर्ने उदेश्यले टेम्के मैयुङ भ्रमण गर्ने योजना बनायाै । कात्तिक १३ गते दिक्तेलबाट म र समाजवादी विद्यार्थी युनियनको केन्द्रीय उपमहासचिव प्रकाश चाम्लिङ ४:१५ मा भोजपुरको सुम्लिखालाई त्यो दिनको केन्द्र बनाएर हिड्याै । हामी बाइकबाट बिहान ६:३० मा करिब २ घण्टा १५ मिनेटमा चखेवा पुग्याै । चखेवा पुग्दानपुग्दै साँझले झ्याप्पै छोपिसकेको थियाे । चखेवा पुग्नसाथ हाम्रो मन फुरुङ्ग भयो । हामीले त्यस्तो राम्रो खोटाङ कहिले देखेको थिएनौँ । हामी नै अचम्मित भयौं । चखेवाबाट लामाखु, दोर्पा, दिक्तेल, मझुवागढी देखिन्थ्यो । साच्चै हाम्रै गाउँहरू हो त ? झै लाग्ने । कुनै विकसित सहर जस्तै देखिने । त्यहीँ बसेर हेरिरहौँ लाग्ने साँझको त्यो झिल्लीमिल्ली हाम्रो गाउँहरू कसरी बिहानीमा परिणत हुन्छ । त्यो हेर्न औधी मन थियो । तर हामीसँग त्यो सुन्दर ठाउँलाई पार गर्नुपर्ने बाध्यता थियाे । हामी अगाडि बढ्याै । चखेवा पुग्न साथ चिसो सिरौंटोले स्पर्श गर्न थाल्याे । हामीलाई टेम्केमैयुङ गाउँपालिकाले राखेको स्वागत गेटले स्वागत गर्यो । हामी स्वागत गेटलाई उछिन्दै अगाडि बढ्याै । अब देखियो भोजपुर । सहजै लक काट्याै । झिल्लीमिल्ली झुप्रुक्क बत्ती बलिरहेकोे सहर जस्तो देखिने पक्कै भोजपुरको सदरमुकाम बजार हो । चखेवाबाट अरु थुप्रै ठाउँहरु देखिन्थ्याे । विद्यार्थी नेता प्रकाशजी भन्दै हुनुहुन्थ्यो आहा स्वर्गमै पुगे जस्तो भयो । सायद स्वर्गीय आनन्द पनि यति आनन्द हुँदैन होला । हुनु पनि चखेवा सुन्दर नारीको गुलाफी औठझैँ मिलेको डाडाँहरुको भञ्ज्याङ छ । करिब २१/२२ सय मिटर उच्चाइमा अवस्थित चखेवा । पूर्वतिर नजर लाउँदा भोजपुर र पश्चिमतिर दिक्तेल देखिन्छ । जहाँबाट खोटाङ र भोजपुरको दुबै जिल्लाको सदरमुकामको दृश्य समेत अवलोकन गर्न सकिन्छ । अलिक हतार थियो । हामी अगाडि बतासियौँ । केहि दुरी पार गरेपछि सुन्दर ठाउँमा ४/५ वटा ढुङ्गा माटोले बनेको र टिनको छानो ओढाएको घरहरू भेटिन्छ । त्यहीँ हाम्रा परम् मित्र जसपा, नेपाल भोजपुर जिल्ला सचिव नरराज काङमाङजीको घर छ । त्यहाँ उहाँहरुले होटल संचालन गर्नुभएको छ । हामी त्यहाँ पुग्दा ३०/४० वटा बाइकहरु लस्करै थियो । त्यो ठाउँ आन्तरिक पर्यटकहरुको केन्द्रको रूपमा विकसित छ । हामी नरराजजीसँग भेटघाट गर्नुथियो । प्रकाशजीले नरराजजीलाई फोन गरेर भोजपुर आउँदै गरेको कुरा जानकारी गराउनुभएकाे थियो । हामी नरराजजीकोमा पुग्दा पाहुनाहरुको व्यवस्थापनमा व्यस्त हुनुहुन्थ्यो । हामी पुग्न साथ उहाँले हामीलाई स्वागत गर्नुभो । खासमा त्यो दिन सुम्लिखा पुग्नुपर्ने थियो । अझै सुम्लिखा पुग्न २/३ घण्टा नै लाग्ने रहेछ । कहिले नहिडिको बाटो । त्यो पनि राति । बर्खामा बिग्रेको सडक कस्तो छ ? टुंगो भएन । नरराजजीले उँहाकैमा बस्न आग्रह गर्दै भन्नुभयो- तपाईहरुको बस्ने व्यवस्था यहीँ गरिसकेको छु । सुम्लिखा पुग्ने योजनामा ब्रेक लाग्यो । खासमा सुम्लिखामा विद्यार्थी नेता सुवास भाइको घर हो । त्यहाँ भोजपुरको
अन्य साथीहरूसँग भेटेर मैयुङ जाने योजना थियो ।नहिडेको बाटो र राति भएकोले नरराजजीको प्रस्तावमा सहमत जनाइयो । हाम्रो बास त्यहीँ हुने पक्का भयो । चिसो बढिसकेले मुटु कामिरहेको अनुभुती हुने । तैपनि बाइकको यात्रा । नरराजजीले ह्यङ्मा (तिनपाने) घिउमा चामल झानेर ल्याउनुभो । हल्का गलेको ज्यान आछुछु कस्तो चिसो पनि, देख्ने बित्तिकै मुखमा पानी निस्कियो । खाउँखाउँ नलाग्ने कुरै थिएन । तर मैले रक्सी छोडेको झन्डै आधा वर्ष भइसकेको थियो । म नखाने भए । तर नरराजजीले कर गर्नुभो । मैले कवि उपेन्द्र सुब्बाको (सम्धी ज्यू एक ट्वाक चढाउकी) कविता धेरै पल्ट पढेको थिए । सुनेको थिए । रक्सी छाडेको किस्साहरु धेरै सुनेको म । आज हामी नरराजजीको पाहुना थियौं । किराती संस्कारमा सम्मानको रूपमा तिनपाने नै दिने चलन छ । सम्झे अपमान गर्नु हुँदैन । खोटाङमा छोडे पनि अहिले भोजपुरमा छु । आ जे होस् पिउँछ भन्ने भो । तीन भाइको तिनपाने सड्काउन सुरु भयो । जसपा खोटाङ जिल्ला अध्यक्ष टंक थापा दाइले एकपटक रक्सी खाने सन्दर्भमा सबै रक्सी मिठो हुन्छ । तर कुनै कुनै रक्सी झन् मिठो हुन्छ भन्नुभएको थियो । त्यस दिन झनै मिठो रक्सी थियो । अम्मामामा कति कडा जिब्रो नै पारारा बनाउने खालको । अघि नखाने म सायद गलेको र जाडोले पनि होला । थप्दा नाइ भन्न छाडेछु । हामी रक्सी र गफमा झुम्न थाल्याै । सबै घरमा भरिभराउ आन्तरिक पर्यटकहरु । काेही गानामा झुमिरहेका त कोही नाचिरहेका थिए । सबै आआफ्नो तालमा बेताल बनिरहेका थिए । अर्थात रमाइरहेका थिए । चखेवा साच्चै पर्यटकीय सुन्दर भविस्य हो । त्यहाँ नरराजजीको रिसोर्ट बनाउने योजना रहेछ । भन्दै हुनुहुन्थ्यो मैले यहाँको भविस्य थाहा नपाउँदा धेरै भौतारिए । तर हामीले जानियो भने पैसा यहीँ रहेछ । अब यसैलाई राम्रो बनाउँछु । रिसोर्ट चलाउँछु । हामीलाई उहाँको योजना राम्रो लाग्यो । हामीले पनि धेरै सम्भावना देख्याै । अहिले विशेषगरी खोटाङ र भोजपुरको रमाइलो गर्ने स्थल चखेवा नै हो । टेम्केको काख मेरुङ, मैयुङ जाने मुन्दुम ट्रेलको प्रस्थान विन्दु । आहा चखेवाको साच्चै राम्रो भविस्य छ । गफैगफमा १० बज्याे । खाना निकै अघि तयारी भइसकेकोले अब भने खाना खाने भइयो । विभिन्न परिकार सहितको स्वादिष्ट खान । जिब्रो नै पसिजालाझै हुने । राम्रो बासको व्यवस्था । त्यस्तै सत्कार ।हामी नरराजजीप्रति ऋणि छौं । खाना खाइसक्दा ११ बजिसक्केको थियो । अब भने सुत्न हतारियौँ । बिहान कसरी जाने थोरै सल्लाह गरियो । गत साल धोद्र भने ठाउँसम्म रोडको ट्र्याक खोलेको रहेछ । त्यहाँसम्म बाइक जान्छ जाँदैन, भोलि बिहानै नरराजजीले बाटोको बारेमा सोधिदिनु हुने भयो । मैयुङ जतिसक्दो छिट्टो पुग्नुपर्ने । हामी त्यो दिन सुम्लिखा पुग्न नसकेपछि भोजपुरको साथीहरूसँग मैयुङमै भेट्ने सल्लाह भयो । धोद्रेबाट पनि मैयुङ डाँडामै पुग्न त ३ घन्टा भन्दा बढी लाग्थ्यो । धोद्रेसम्म बाइक गएन भने बिहान चखेवाबाट नै मुन्दुम मार्ग हुँदै ८/९ घण्टा हिँडिनुपर्ने थियो । भोलीको यात्राको बारेमा सोचमग्न हुँदै बिस्तारामा पल्टियाै । सररर शरीरमा तिनपाने भिज्यो । हल्का गलेको ज्यान । सुन्दर ठाउँ ! सुत्नको आनन्द, भुसुक्कै भएको पत्तै भएन ।

मैयुङका रमणीय फाँटहरु
दोस्रो दिन १४ गते ।
आहा ! क्या मिठो निन्द्रा
विहान ४ बजे नै प्रकाशजीको मोबाइलमा फोनको घण्टी बज्यो । मेरो निन्द्रा बिग्रियाे । भोजपुरका एक जना विद्यार्थी नेता पनन्न भाइले गर्नु भएको रहेछ । उत्ताबाट हामी हिड्याै छिटो गरेर हिड्नुहोस् है भन्नु भो क्यारे । यताबाट प्रकाशजी हुन्छ अब हिडिहाल्छौँ भन्नुभो र फोन राख्नु भो । प्रकाशजी बाहिर जानुभो । बाहिर अध्यारोले छोडेको थिएन । मैले हामी घुम्न आएको हो । जिवनको थकाइ मार्नु आएको, हतार गर्नु हुँदैन, आरामले जानुपर्छ । यहाँ घुम्न आएको मजा त लिनुपर्यो नि नत्र त आको अर्थै हुँदैन भने । चिसो मौसमको कारण मलाई ओछ्यान छोड्ने मन थिएन । फेरि एक झपक सुतिएछ ।५:३० तिर टेम्के जानेहरु उठ्न थाले । एकछिनपछि अरु पनि उठ्न सुरु गरे । हामी उठ्दा ६ बजिसकेको थियो । नरराजजीले उहाँको साथीलाई फोन गर्नुभो र बाटो सोध्नुभयो । बाइक जान्छ भनेपछि हामी अलिक ढुक्क भयौं । हामी उठेर बाहिर गएर हातमुख धुइयो । बिहानै चेखेवाको दृश्य अबलोकन गरियो । त्यतिबेला सम्ममा चिया पाकिसकेछ । नरराजजीको भाइ बुहारीले चिया दिनुभयो । हामीले चिसो मौसममा तातो चिया सुरुपसुरुप पार्याै । चिया पिइसक्दा ७:३० नै बजिसकेछ । हामी गन्तव्यतिर जान हतारियाै । नरराजजीले सेती बगरबाट उभो लाग्नुपर्छ भन्नु हुँदै बाटोको लोकेसन बताइदिनुभयो । हामी त्यहीँ अनुसार जाने निधो गरी नरराजजीकोबाट सबैसँग बिदा मागी बाटो लाग्याै । त्यहाँबाट करिब २ किलाेमिटर पार गरिसकेका थियाै । हात चिसो भएपछि थाहा भयो । पन्जा नरराजजीकोमै छोडेछु । पन्जा लिन फर्किनु पर्यो । हामीले हिड्न नै ढिलो गरेको बेला झन पन्जा छोडेकोले ढिलो हुने भयो । म हतारिएर पन्जा लिएर आए । हामी चखेवा, छिनामखु, अन्नपूर्ण हुँदै तल मेस्पाङ पुगेपछि प्रकाशजीलाई यहीँ गाउँ हेमराज दाइको गाउँ हो भनेर सुनाए (जसपा,नेपालको नेता तथा पूर्व मन्त्री )। तर घर थाहा थिएन । यहीँ भूमि हो नारदमुनी थुलुङ जस्तो हाम्रो महान् व्यक्तित्व जनमाउने भूमि । हामीले त्यो गाउँप्रति गर्व महसुस गर्याै । सम्मान व्यक्त गर्याै नारदमुनिकाे नाममा । अलिक पर पुगेपछि ३/४ जना आधाबैशै महिलाहरु उभिरहनु भएको थियो । सायद गाडी पर्खिनुभएको हुनुपर्छ । हामीले हेमराज दाइको घर साेध्याै, संयोग भन्नुपर्छ ठ्याक्कै दाइको त्यहीँ रोडको माथिल्लो घर रहेछ । उहाँको घर त्यही हो भनेर देखाउनुभयो । हामीलाई हतार थियो । उहाँहरुलाई धन्यवाद भन्दै अगाडि बढ्याै । अलिक अगाडि पुगेपछि स्काइभेटरले बाटो बनाउँदै रहेछ । त्यहाँ एक जना भोजपुर जाने दाइ भेट्याै र सेती बगर साेध्याै । उहाँले बाटो देखाइदिनुहुने भयो । हामीले सेती बगरसम्म उहाँलाई पछ्यायाै । सेती बगर भन्दा थोरै अगाडि रोक्किनुभयो र अब तपाईहरु जाने बाटो उभो हो भनेर देखाइदिनुभयो । उहाँलाई धन्यवाद दिदै रिमचिमको उकालो लाग्ने निधो गर्याै । बाटो कच्ची भएकोले बाटो राम्रो छैन भन्ने अनुमान थियो । उभो बाटो बाइक आयो, बाटो कस्तो छ ? भनेर साेध्याै ।फिल्लीली छ भने । हामी त्यहीँ बाटोलाई पक्रिएर तिम्मा गाउँको रिमचिम हुँदै उकालो लाग्याै । बाटो खासै राम्रो थिएन ।सफा त गरेको रहेछ तर मिसिन हिडाएको डोबहरु र केही ठाउँमा खाेस्राएकाे मात्रै । केही माथि पुगेपछि दुइटा बाटो आयो । हामीले सिधै उभो जाने बाटो समात्याै । मास्तिर पुगेपछि सोध्याै, ठिक बाटो आएछौँ । त्यहाँबाट हेर्दा दिक्तेलबाट नुनुथला जतिको दुरि देखिन्थ्यो मैयुम । तर जाँदा टाढा थियो । त्यहाँ कटुवाल थरको दाइ हुनुहुन्थ्यो । उहाँले घर सोध्नुभो हामीले हाम्राे घर हाम्रो उदेश्य, गन्तव्य सबै बतायाै । हामीलाइ मही दिनुभयो र बाटो देखाइ दिदै बाइक बाग्श्वरीसम्म मात्रै जाने कुरा बताउनुभयो । कटुवाल दाइले देखाउनु भएको बाटो लाग्याै । हामी निकै माथि पुगेपछि सानो सानो दुइटा घर र एउटा गोठ मात्रै थियो । त्यहाँ भन्दा उभो कुनै घर थिएन । जंगल मात्रै देखिन्थ्यो । बाइक रोकेर त्यहीँ घरमा सोध्याै, बाग्श्वरी यहीँ रहेछ । यहाँ भन्दा उभो बाटो राम्रो थिएन र बाइक राख्ने ठाउँ पनि सबै जंगल भएकोले सुरक्षित नहुने । धोद्रेसम्म बाइक नजाने भयो । बाइक त्यहीँ छोडेर हिड्ने निर्णय गरियो । त्यहाँ १ जान लगभग ५० वर्षजतिकाे नाना मात्रै बस्नु हुदो रहेछ । उहाँले बिहे चाहि खोटाङ खार्तम्छा गर्नु भएको रहेछ । तर त्यहीँ बस्नु भएको । त्यहाँ भन्दा उभो कुनै घरहरु थिएन । हामी ९:३० मा त्यहाँ पुगेको थियाै । हाम्रो खानको बन्दबस्त नभएकोले नानालाई मकै भुटिदिन अनुरोध गर्याै । नानाले मकै भुट्नु नभेटाउने, चाउचाउ छ भन्नुभयो । हाम्रो खान त्यहीँ चाउचाउ पक्का भयो ।
चाउचाउ उमाल्दिनु भयो । चाउचाउसँग कोदोको छनुवा छान्दिनुभयो । त्यहीँ छनुवा र चाउचाउ खानाको साटो खायौं । त्यो बेलासम्म प्रकाशजीले दुइटा सिगानेको लठ्ठी तयार पार्नु भएछ । हामीले केही चाउचाउ झोलामा बोक्याै । त्यहाँ बाट स्थानीयले बाटो देखाइ दिनु भयो । हेर्दा त्यहीँ जस्तो देखिए पनि निकै टाढा थियो मैयुङ । हामी बाइक छोडेर लठ्ठीको सहारामा उकालै, उकालो हिड्याै । अघि भनेको बाटो अनुमान गर्दैगर्दै । यतिबेलासम्म १०:३० बजिसकेको थियो । बाटो बाटो जस्तो थिएन ।गाइबस्तु हिडेको गोहोहरु पोहिलाएर हिड्न कम मुस्किल भएन । निकै माथि पुगेपछि गित बजाउँदै नाच्न थाल्याै । प्रकाशजीले भिडियो गर्नुभयो तर सेभ भएन छ । भरै कम्ती खल्लो भएन । केही मास्तिर पुगेपछि गोहो पनि हरायो । जंगलमा हराइयो । तलबाट हेर्दा त्यति ठुलो जंगल नदेखिए पनि साच्चै ठुलो जंगल रहेछ । अनुमान गर्दै काडाहरु पन्साउदै हिड्नुपर्ने भयाे ।सायद यो हाम्रो जिवनको नबिर्सने घटना हो । लगातार २ घण्टा ३० मिनेट जति हिडेपछि जंगललाई पार गरियो । त्यो बेला सम्म दिउँसाेकाे १ बजिसकेको थियो । हामी धोद्रे र जलजलेको बीचको डाँडामा फुत्तै निस्केझै भयो । त्यहाँ निस्कन साथ सगरमाथा लगायतको हिम शृङ्खलाहरु फोटोमा देखिएको भन्दा सुन्दर देखिन्थ्यो । मौसम त्यस्तै सफा, चङ्गा हावामा उडेको देखेको मैले । आज मेरो मन, मेरो खुशी त्यो चङ्गा भन्दा धेरै पर पर हिमालको त्यो चुच्चो, चुच्चो हिम शृङ्खलाहरुमा चङ्गा जस्तै उडिरहेको अनुभुती भयाे । यता हेर्दा उस्तै आँखाले नभियाउने फाट्टहरु, त्यहीँ हेरिरहौँ, बसिरहौँ लाग्ने । हाम्रो थकाइ कहाँ पुग्यो कहाँ । तर त्यो देखिएको फाट पुग्न अझै समय लाग्थ्यो । तर अघिको जस्तो जंगलको बाटो थिएन । हामीले निर्माणाधीन मुन्दुम मार्गलाई पछाउनुपर्ने थियो । मुन्दुम मार्ग व्यवस्थित गर्ने काम सुरु भएको रहेछ ।तर कोरोनाको कारण थप काम रोक्किएको।हामी त्यहाँबाट जलजलले हुँदै थप २ घन्टा हिडेपछि बल्ल अघि देखिएको सुन्दर फाटहरु मैयुङ पुग्याै । हामी त्यहाँ पुग्दा करिब ३ बजिसकेको थियो । आह । मैयुङको सुन्दरताको बयान गर्न सक्ने कुनै शब्द नै भेटिएन । सबै शब्दहरु रित्तो भयो । तर खुशीले थाम्नै नसकिने गरि मन भरियो । मैयुङलाई पर्यटन बोर्डले टप १०० भित्र पर्यटकीय स्थलको रूपमा समावेश गरेको रहेछ । मैयुङको एउटा भाग नागीमा भोजपुरको साथीहरूसंग भेट्ने कुरा भयो । हामी त्यस ठाउँमा पुग्याै । साथीहरू माथी डाँडामा रमाइरहेको हामी
अर्को डाँडामा देखादेख भएपछि त खुशीको कुनै सिमा नै रहेन । देख्न साथ बेस्सरी चिच्चाएर खोटाङ्गे र भोजपुरेको माया साट्याै । (खोटाङेको रुपै राम्रो, भोजपुरेको माया, टेम्के डाँडैमा कान्छी गुरासै फुल्यो, किन किन तिमी मै मेरो मन भुल्यो) गाना गाउन सुरु गरियो । खोटाङ्गेको रुपै राम्रो गानको लय मिलाउन गाए पनि भोजपुरेको माया साँच्चै गजबको । भोजपुरबाट विद्यार्थी नेता झिल खिम्बुले, सुवास राई, पनन राई, बिपन राई,धिरेन्द्र भाइहरु र मनिशा बहिनी लगायत अरु मैले केही नचिनेको भाइबहिनीहरु आउनु भएको थियो । उहाँहरुसँग सामान्य परिचय वातचित भयो । हामी सबै फोटो खिच्न र घुम्न आत्तुर थियौँ । हामीसँग समय कम थियो । भएको समयलाई भरपुर सदुपयोग गर्नु थियो । भेटपछि खाजा सँगै खायौं । अनि मैयुङको नागी हुँदै हासपोखरीतिर सबै घुमियो । झट्ट हेर्दा हासको आकारमा बनेको पोखरी मैयुङको अर्को आकर्षणको केन्द्र रहेछ । हेर्दा नजिकै देखिने फाटहरु जाँदा टाढा हुन्थ्यो । जाँदा, जाँदा कहिले न सकिने फाटहरु । त्यहाँ डाँडा जस्तो देखिन्थ्यो त्यहाँ पुगेर हेर्दा कहाँ देखिन्छ होला भन्ने मनमा कौतहलता हुने । त्यहाँ पुगेर हेर्दा उस्तै अर्कै फाटहरु देखिने ।अर्कोदेखि अर्को अझै अर्कै उस्तै फाटहरु देखिन्थ्यो । खोटाङ र भोजपुरको सिमानामा पर्ने यो ठाउँबाट ८ हजार अग्लो ६ वटा हिमालहरु कन्चनजंघा,मकालु ,सगरमाथा,चोयु ,ल्होत्से,ल्होत्से सार र विश्वको गहिरो उपत्यका अरुण उपत्यका तथा पिखुवा उपत्यकाको अधिकांश भुभागहरु, खोटाङको फेदी, खर्तम्छा, बासपानी, बाक्सीला,पाथेका, खार्मी लगायत ठाउँहरु देखिन्थ्यो भने भोजपुरको अधिकांश ठाउँहरु देखिथ्याे । यहाँबाट अन्य जिल्लाको भुभागहरु सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा र धनकुटा लगायतको केही भाग पनि देखिने रहेछ । यस ठाउँलाई व्यवस्थित गर्न बाकी छ । यो ठाउँ राम्रो पर्यटन क्षेत्र हुँदाहुँदै पनि ओझेलमा परेको छ । यहाँ आउने पर्यटकहरुको लागि बस्ने व्यवस्था नभएकोले निकै कष्ट खेप्नुपर्छ । भर्खर एउटा होमस्टे संचालन गर्ने, भनेर संरचना तयार बनाएको भए पनि कोरोनाको कारण संचालनमा आउन बाकी नै छ । हामीले मैयुङको कसरी प्रवर्द्धन र व्यवस्थित बनाउन सकिन्छ, खुब धेरै कल्पना गर्याै । मैयुङ नेपालको एक उत्कृष्ट पर्यटन क्षेत्र हो भन्नेमा कुनै दुबिधा छैन । त्यहीँ भूगोलमा बसेर त्यस भूगोलको भविस्यको कल्पना गर्नुको मजा छुट्टै हुँदो रहेछ । चखेवा बाट मुन्दुम पद मार्ग हुँदै हिडेर जान ८/९ घन्टा लाग्छ ।त्यसैले मैयुङ जाने धेरैको रहर भए पनि धेरै हिड्नु पर्ने कारण नजादो रहेछ । हामीले कल्पना गरियौँ । मैयुङ जाने पर्यटकको लागि चखेवा बाट धोद्रे सम्म घोरा को व्यवस्थापन गर्नु पाए राम्रो व्यावसाय र सुविधा दुवै हुने सम्भावना देखियो । म मुस्ताङ नगएको मान्छे तर जान धेरै रहर थियो । जब मैयुङ आए मेरो मुस्ताङ जाने रहर नै हरायो । यहीँ ठाउँ मात्रै हरेक पल हेरि रहौँ झैँ लाग्यो । कल्पनाको गोहिराइमा निकै डुबिएछ । यतिबेलासम्म करिब ४:३० बजिसकेको थियो । भोजपुरको साथीहरू र सुन्दर मैयुङबाट बिदा लिने समय भइसकेको थियो । हामीलाई यस ठाउँबाट छुट्टिनु पटक्कै मन थिएन । जिबनमा पहिलो पटक यति छिटो समय गयो कि हामी त्यहाँ घुमेको, फोटो खिचेको, गाना गाएको, खाजा खाएको ५/१० मिनेट जस्तो मात्रै लाग्थ्यो । तर दिन बितिसकेको पत्तै भएन । यति छिटो समय बित्छ भन्ने जिवनमा पहिलो अनुभव भयो । मिल्ने भए त्यो दिन रात नपरी दिन नै भै रहोस् जस्तो महसुस भाकाे थियो । सत्यलाई हामीले जित्न सक्दैनौं सत्य सत्य नै हो । दिन दिन रहेन सधैं झै त्यो दिन पनि साँझ पर्ने निश्चित थियो । दिनपछि रात पर्ने प्राकृतिक नियम नै हो । साथीहरूसँग छुट्टिनुपर्ने भयो । विदा माग्नु भन्दा पहिले हाम्रो मनहरु अमिलो भयो । मानौँ कुनै नारीले आफ्नो माइती घर छोडेर पराई घर जाँदैछिन् । साथीहरूले सुम्लिखातिरै जाउँ भनेर अनुरोध गर्नुभयो । हाम्रो बाध्यता थियो । जान असमर्थ भयौं । साँझ पर्ने लागेको र पुग्नुपर्ने ठाउँ टाढा नै भएकोले बिदाईको हात मिलायौँ । मन गह्रौ, अमिलो पार्दै हामी आआफ्नो बाटो लाग्याै । साथीहरूसँग छुट्टिएपछि म र प्रकाशजी पनि अब मैयुङबाट बिदा हुने तरखरमा थियौं । मलाई पटक्कै त्यो दिन, त्यो ठाउँ छोड्ने मन थिएन । मेरो मैयुङ यात्रा यो दोस्राे पटक थियो । पहिलो पटक आउँदा १ जना तेण्डी शेर्पा दाइको गोठमा चौंरी गाइको खिर खाएको, दुध पिएको, घिउ खाएको, आलो आलो छुर्पी खाएको अनि मही पारेको यादहरु मसँग ताजै छ । म पहिलो पटक ७ महिना अगाडि २०७६ चैत अन्तिममा गएको थिए । त्यस समय रङ्गी बिरर्ङ्गी चिमल र गुराँसहरु ढक्कमक्क फुलिरहेको थियाे । त्यस्तो राम्रो फुलेको चिमल र गुराँसको बोटहरु अहिले अरु सामान्य रुख झैँ मात्रै थियो ।यो समय चिमलको बैसो सकिदो रहेछ ।सबै कुरा बैसमा मात्रै सुन्दर देखिने अचम्म ।आज त्यहीँ तेन्डी दाइको गोठमा प्रकाशजीसँग बसुम भन्ने सल्लाह भयो । अनि हामी तेन्डी दाइको गोठ तिर लाग्यौं । तर गोठमा पुग्दा गोठ मात्रै थियो । हामी पहिलोपटक जाँदा देखिएको चौंरी गाइको बच्चा, मही पारेको ठेकी, आलोआलो सुकाइरहेकोे छुर्पी अनि तेन्डी दाइ कोही पनि थिएन । गोठहरु सबै लेखबाट ओउलतिर झारिसकेको रहेछ । चैतमा जाँदा देखिएको चौंरी गाइहरु, भेडाबाख्राहरु, भैंसी, गाइवस्तु, घोडाहरु केही देखिएन । सबै बेसी झारिसकेको रहेछ । चैत महिनाबाट लेखतिर निकाल्ने र असोजदेखि कात्तिक पहिलो हप्तातिर औउलमा झार्ने रहेछ । हाम्रो यो पटक चौंरी गाईको छुर्पी, खिर, दुध, घिउ खाने योजना अधुरै रह्यो । मान्छेहरु मैयुङ घुम्न आउँदा बस्ने ठाउँ गोठ नै हो । यस ठाउँ घुम्न आउँदा सबै कुराको आफैं बन्दोबस्त गरेर आउनुपर्छ । त्यहाँ गोठ भन्दा अरु बस्ने ठाउँ केही छैन । बाँस बस्न गाउँतिर जान कम्तीमा पनि ३/४ घन्टा भन्दा बढी हिड्नुपर्छ । हामीले यो पटक बास बस्नलाई गोठ पाएनौं । समय ५ बजिसकेको थियो । कात्तिक महिनाकाे चिसो बढ्न सुरु भइसकेको त्यसै पनि यो ठाउँ ३३३३ मिटरको उचाईमा चिसो निकै नै थियो । हामी अब त्यहाँबाट फर्किने निर्णय गर्याै । अघि आको बाटो जंगल थियो । मैयङमै साँझ परिसकेकोले त्यहीँबाट जाँदा दिउँसो हराएको बाटोमा राति हराउने निश्चित थियो । त्यसैले हामी धोद्रेतिर जाने निधो गर्याै । धोद्रेबाट जाँदा अलिक ठुलो बाटो ठाउँठाउँमा मुन्दुम ट्रेलको एराे देखाएको बाटो भएको र म एकपटक त्यो बाटो यात्रा गरिसकेकोले त्यतै लागियो । धोद्रे ७:३० बजे पुग्याै । धोद्रेमा २/३ वटा सामान्य पसल राखेर बस्ने गोठहरु छ । त्यहाँ नेर्पाको १ जना गुरुङ दाइ फेदि सुम्धेको सम्पाङ नानासँग बिहे गरेर बस्नु भएको छ । त्यस दिन अरु गोठहरुमा मान्छे थिएन । सबै दशै मनाउन गाउँ गएको रहेछ । त्यहाँ गुरुङ दाइ र सम्पाङ नाना मात्रै हुनुहुन्थ्यो । उहाँहरू पनि सुत्नै लाग्दा हामी पुग्याै । त्यस दिन हाम्रो बास त्यहीँ धोद्रे गुरुङ दाइकोमा भयो । मैयुङ आउँदा बास बस्ने नजिक ठाउँ यही हो धोद्रे ।

मैयुङ पुगेका भ्रमण टोली
तेस्रो दिन १५ गते ।
गलेको ज्यान, मिठो निद्रा, चिसो मौसम बिहान अलिक ढिलोगरी उठ्याै । हामी उठ्दा ६:३० बजिसकेको थियो । उठेर हातमुख धुइयो । तातोपानी साम्पङ नानाले बनाईदिनुभयो । तातोपानी छिटो छिटो गरेर पियाै र हामी हाम्रो त्यो दिनको गन्तव्यतिर लाग्ने सुरसार गर्याै । हाम्रो त्यो दिनको गन्तव्य थियो भोजपुर बजार । गुरुङ दाइले मुलबाटै छ हराउँदैन तल चौतारीदेखि दुईवटा बाटो छ दायाँ नजानु फेरि छिनामखु पुगिन्छ, बायाँको बाटो जानु भन्दै बाग्श्वरी जाने बाटो देखाइदिनुभयो । गुरुङ दाइ र साम्पङ नानालाई हामीले स्वादिष्ट खाना, राम्रो बासको व्यवस्थाप्रति धन्यवाद दिदै फेरि आउने बचन दिएर हामी बाटो लाग्याै । त्यो बाटो हाम्रो खोटाङको उभोखोलाकोहरु विशेषगरी धरान, धनकुटातिर झर्ने बाटो रहेछ । हामी गुरुङ दाइले भने बमोजिमको बाटो हुँदै ९:३० बजे बग्श्वरीमा पुग्याै । हिजो त्यहाँ बाइक छोडेको घरको नानालाई बेल्का खाना खाने गरि फिर्ने भनेको थियौं । नानाले खाना पकाउनुभएछ । तर हामी आउन सकिएन । हाम्रो लागि पाकेको खाना त्यो दिन बासी भयो । हामीलाई भोजपुर जान हतारो भएकोले । त्यहीँ खाना भुटेर खाइयो । नानाले घिउँमा भुटी दिनुभयो । हामी त्यहीँ खाना खाएर भोजपुर बजारको यात्रा तय गर्याै । बाग्श्वरीबाट रिमचिम, पिखुवा खोला, दावा, देवरालीको घुम्तीहरु हुँदै भोजपुर बजार १२ बजे पुग्याे । हामी चोमोलुङ्मा होटलमा बसेर कफी पिउँदै जसपा भोजपुर जिल्ला अध्यक्ष आशकुमार दाइलाई फोन गरेर हामी आइसकेको जानकारी गराइयो । आधा घण्टपछि पार्टी कार्यालयमा भेट्ने सल्लाह भयो । हामी पार्टी कार्यालयमा पुग्दा आशकुमार दाइ हाम्रो प्रतिक्षामा रहनुभएको रहेछ । हामी त्यहाँ पुग्न साथ दाइले सम्मानकाे साथ खादा लाइदिदै स्वागत गर्नुभयो । हामीलाई दाइको स्वागत र समानले साच्चै असजिलो भएको थियो । यहीँ क्रममा जिल्ला उपाध्यक्ष प्रशन्न दाइ पनि आइपुग्नुभयो । हामीले पार्टी संगठन, देशको राजनीतिक परिस्थितिको बारेमा लामै कुराकानी गर्याै । हामी फेरि त्यहीँ दिन फिर्नु थियो र बजार पनि घुम्न थियो । हामी कफी पिउँदै बजार घुम्न पार्टी कार्यालय निस्कियाै । आशकुमार दाइ र प्रशन्न दाइले भोजपुरको सबै ठाउँ र महत्त्वको बारेमा जानकारी गराउनु हुँदै त्यस जिल्लाको नेता र स्थानीयबासी हुनुको नाताले अभिभावकीय दायित्व, जिम्मेवारी पुरा गर्नुभयो । हामीले २००७ सालको क्रान्ति नायकहरु रामप्रसाद राई र नारदमुनि थुलुङको सम्झनामा बनाएको सालिकमा फोटो लियौँ र उहाँहरुप्रति श्रद्धासम्मान व्यक्त गर्याै । हामी भोजपुर बजारबाट ५ बजे अन्नपूर्णलाई त्यस दिनको बाँस बस्ने केन्द्र बनाइ फर्कियाै । भोजपुर बजारबाट होरा हुँदा नै साँझ झमक्क भइसकेको थियो । तर हामी अन्नपूर्ण पुग्नैपर्ने बाध्यता भन्दा पनि त्यहाँ बास बस्ने उत्सुकता धेरै थियो । अन्नपूर्णमा बास बस्न पुग्नुको खास कारण २००७ सालको क्रान्ति नायक आदर्शवादी नेता नारदमुनि थुलुङको जन्मभूमि, जसपा नेपालको नेता पूर्वमन्त्री हेमराज राई, पहिचानवादी लेखक नेपाली साहित्यको खम्बा राजन मुकारुङ दाइहरु लागायत थुप्रै विशिष्ट व्यक्तिहरु जन्माउने उर्वर भुमि रहेकोले त्यस मलिलो माटोमा बस्ने रहर थियो । ७ बजे अन्नपूर्ण पुगेपछि बास बस्न लाम्दिकी होटलमा पुग्याै । संयोगले त्यस दिन त्यहाँ सबै छिमेकीहरु मिलेर म:म खाने योजना रहेछ । हाम्रो त्यस दिनको भोजन पनि म:म नै भयो । त्यहाँ थुप्रै युवाहरूको जमघट रहेछ । खोटाङ र भोजपुरको विशेषताको बारे गफ गरियो ।त्यहाँको युवाहरुको अभिव्यक्तिमा देशमा बढ्दो भ्रष्टाचार र अनियमितता प्रतिको आक्रोश प्रष्ट झल्किन्थ्यो । भोजपुर महान व्यक्तिहरु जन्माउने भुमि रहेकोले भोजपुर प्रतिको समान सधैं रहेको कुरा सेयर गर्याै । त्यहीँ बाट हामीले राजन मुकारुङ दाइलाई सम्झिएर त्यहाँको युवाहरू सहित भिडियो कलमा कुराकानी गर्दाको पल झनै रमाइलो भएको थियो । अन्नपूर्णबाट दाइको घर नजिकै रहेछ । बिहान दाइको घर जाने कुरा भयो । हामीलाई दाइको घर भन्दा पनि दमिनी भिर हेर्ने औधी रहेर जागेर आयो । त्यहीँ दमिनी भिर उपन्यास लेखेर दाइले २०६९ सालमा मदन पुरस्कार जित्नु भएको थियो । त्यहाँको युवाहरूसँगको मिठो बौद्धिक भलाकुसारीले पुगेको भरखरै जस्तो लागे पनि ११ बजिसकेको थियो । बिहानै टेम्के गएर सुर्यदय हेर्ने उत्सुकता कम थिएन । त्यसैले गफलाई बिट मार्दै सुत्ने तयारी गर्याै । अन्नपूर्णको बास त्यहाँको युवाहरुसँगको अनेपेक्षित भेट र संवाद हाम्रो लागि संयोग र सुखद् बसाइ रह्यो ।
चौथो दिन १६ गते ।
भुइँमा उज्यालो खसिनसकेको । चिसो मौसम । सुनसान वातावरण । ५;३० बजे एकाबिहानै सुर्यदय हेर्न अन्नपूर्णबाट टेम्के यात्रा तय गर्याै । केहीसमय पहिले खोटाङमा स्थापित रुपाकोट रेडियोको बिहानी गित (उठ है सुतेको मान्छे उठ) भन्ने गाना मोबाइलमा बझाउँदै बाइकमा दौरिदा केही जोस् जागर बढिरहेकोे थियो । रिमरिममै चखेवा पुग्याै । चखेवाबाट कच्ची सडक हुँदै केही मास्तिर टेम्के डाँडा नपुग्दै सुर्यदय भयो । कहिले नहेरेको सुर्यदय मेरो लागि जिवनकै नौलो अनुभव थियो । पहेलो देखिने सुर्य त्यहाँबाट झुल्केको हेर्दा रातो रंगको गुलाफ र सुर्यमुखी फुलको मिश्रण जस्तै आकर्षक देखिन्थ्यो । हेरिरहुँ लाग्ने, आह प्राकृतिक सुन्दरता सबैको लागि खास हुन्छ । कल्पना गरे भन्दा राम्रो वयान गर्न नसकिने दृश्य । सायद स्वर्गकी परीलाई भेटियो भने पनि यति आनन्द मिल्दैन होला । टेम्के डाडाँ पुग्दा अरु धेरै हामी भन्दा अगाडि पुगिसकेको रहेछ । टेम्के एउटा आफैंमा ३१०० मिटरको प्राकृतिक भ्युटावर हो । यहाँबाट विभिन्न कंचन हिउँहरुले ढाकिएको मनमोहक सेतै हिम शृङ्खलाहरु, लमटनन्न परिरहेको मैयुङको फाटहरु र खोटाङ, भोजपुरको विभिन्न सुन्दर गाउँबस्तीहरु अबलोकन गरियो । आकाशमा उडेको देखिने हवाइजहाज टेम्केबाट त ओरालो हेर्नुपर्ने । टेम्केबाट दिक्तेल हेर्दा त झन तल पो देखिने । त्यहाँबाट देखिने सब चिज हेर्दा सपनाझैँ लाग्ने बिपना थियो । म केटाकेटी हुँदा मलाई टेम्केमा आकाश ठोकिएको छ भन्ने भान हुन्थ्यो । आकाश र डाँडा जोडिएको देखिने क्षितिज हो भनेर नबुज्दा । पृथ्वी त्यति नै हो झै लाग्थ्यो । त्यहाँबाट अरु आकाश छ । त्यहाँ पुगियो भने आकाश भेटिन्छ भन्ने लाग्थ्यो र केटाकेटी हुँदा त्यहाँ गएर आकाशलाई छुन खुब धेरै रहर लाग्थ्यो । केटाकेटीमा हुँदा लागेको रहर युवा भएपछि टेम्के पुग्ने सपना त पुरा गरे तर त्यहाँ पुग्दा आकाश लाई छुने रहर भने पुरा गर्न सकिदैन थियो । टेम्के डाँडा करिब २ घन्टा बस्दा २ मिनेट झै लाग्यो । टेम्के डाँडामै फोनको टावर राखेकोले सुन्दर नारीको अनुवारमा खोट लागेर कुरुप देखिएझै गरी टावर राखेर प्राकृति सुन्दरता बिगारेको रहेछ । डाडाँमै भ्युटावर निर्माणको लागि ठुलो खाडल खनेकोले झन् धेरै कुरुप बनाएको देखेर मन खिन्न भयो । सुन्दर जनावर बनाउन खोज्दा केही नमिलेको उट बनेको उखान जस्तै कतै टेम्के त्यस्तै त बनाउने होइन ? भन्ने शंका अनि डर भयो । टेम्के डाडाँसम्मै सडक खन्नुले टेम्केको महत्त्व, गरिमा र यसको विशेषतामा गहिरो ठेस लागेको जस्तो लाग्यो । टेम्केबाट झर्दा बेसिक्यममा लाखौंको लगानीमा बनेको सुन्दर पाहुना घर अलपत्र, घरको सामना छरपस्ट देख्दा मन कटक्क दुखो । त्यहाँ राज्यको सम्पत्ति दुरुपयोग भएको स्पष्ट देखिन्छ । हामी चखेवाबाट घर नफर्किएर फेरि अन्नपूर्णतिर लाग्याै । अबको हाम्रो योजना थियो पान्धारे जाने । चखेवा हुँदै जाने बाटो अफ्ट्यारो छ भनेकोले सजिलो बाटो रोज्दा अन्नपूर्ण नै दोहोर्याएर झर्नु पर्यो । त्यहाँ झर्दा १०:३० बजिसकेको थियो । हिजो राजन दाइले घरमा पस्नु भनेको कुरा र दमिनी भिड हेर्ने हाम्रो रहर पुरा भएन ।कति रहरहरु अधुरै हुन्छ । अन्नपूर्णबाट दिल्पा नागी, खावा, हुँदै पान्धारे पुग्न साथ ।(पान्धारे चौकी मायाँ पो नलाई बा मरिन्छ की ) भन्ने गितमा गाना गाउदै नाच्नुको आनन्द छुट्टै थियो ।पान्धारे आफैँमा ऐतिहासिक ठाउँ हो ।यहाँ उभौलीमा किरात राईहरुको साकेला भव्य हुन्छ ।पान्धारे संगै जोडिएको छ तावाँभन्ज्याङ ।तावाँभन्ज्याङको पहिचान विशेष छ ।अहिले साकेला गाउँपालिकाले तावाँतालको योजना अगाडि बढाएको छ ।तावाँताल सम्पन्न भएपछि पक्कै यो ताल खोटाङ र भोजपुर कै लागि विशेष हुने पक्का देखिन्छ ।हामी त्यहीँबाट मानेभञ्ज्याङ पुगियो ।मानेभञ्ज्याङमा प्रकाश जीको साथी रबिन मगर ज्यूको (साकेला गाउँपालिकाको प्रशासकीय अधिकृत ) त्यो दिन हामी पाहुना भैयो ।
मैयुङ पुगेका भ्रमण टोली
पाचौं दिन १७ गते
मानेभञ्ज्याङ बाट नजिकै जसपा,पार्टीको केन्द्रिय सदस्य सन् बहादुर राई दाइको घर बिहानै उठेर गैयो । कोरोनाको कारण दाइ संगको भेटघाट पातालो भएकोले प्रकाश जी संग दाइ लाई भेटेर जाने सल्लाह भयो ।सन् दाइ संग लामो समयपछि भेटेकोले थुप्रै विभिन्न विषयमा महत्त्वपूर्ण र विशेष कुराकानीहरु भयो ।दाइ संगको ३/४ घन्टा लामो कुराकानी पछि हामी मेरो मावली मात्तिम हुँदै पुनः दिक्तेल फिरेर हाम्रो अविस्मरणीय, ऐतिहासिक, सुन्दर, उपलब्धिमूलक यात्रा सफल पारियो । सबै सबैमा धन्यवाद ।
लेखक रविन खम्बु समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य तथा जसपा,नेपाल खोटाङका प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ ।