Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हिंसा पिडित महिलालाई नगरको साथ, गहभरी आँशु पार्दै लिए नगद सहयोग

    हिंसा पिडित महिलालाई नगरको साथ, गहभरी आँशु पार्दै लिए नगद सहयोग


    • बिहिवार, मंसिर २५ २०७७

    • नेपाल वाइड


    हिंसा पिडित महिलालाई नगरको साथ, गहभरी आँशु पार्दै लिए नगद सहयोग
    हिंसा पिडित महिलालाई नगद हस्तान्तरण गर्दै प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई लगायत  

          खोटाङ । मंसिर २५– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हिंसा पिडित महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यकासाथ आर्थिक सहयोग गरेका छ । आफ्नै परिवारका सदस्यबाट पिडित भएपछि दिक्तेलमा तरकारी पसल गरेर एक जना छोरीलाई पढाइरहेकी दोर्पाकी दया पाण्डे र पारिवारिक हिंसाकै कारण विस्थापित भएपछि दिक्तेलमा बसेर एक छोरा सहित बसिरहेकी पार्वती खत्री बुढाथोकीलाई नगरपालिकाले नगद १५/१५ हजार प्रदान गरेको हो ।

          लैंगीक हिंसा विरुद्धको १६ दिने अभियान समापनको अवशरमा विहिबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले हिंसा पिडित महिलालाई नगद हस्तान्तरण गरेका छन् । घरेलु हिंसाका कारण विस्थापित भएपनि छोरीलाई पढाउन एक्लै संघर्ष गरेर अरुका लागि उदाहरण बनेर देखाएकामा दयालाई प्रोत्साहन स्वरुप नगद सहयोग गरिएको हो ।

        यस्तै, हिंसाका कारण छोरासँग बसेर व्यवसायी बन्ने प्रयास गरिरहेकी पार्वतीलाई सहयोग गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपप्रमुख बिणादेबी राईले बताईन् । हिंसा पिडित पार्वतीले गहभरी आँशु पारेर नगरपालिकाको नगद सहयोग थापेकी थिईन् ।
    उपप्रमुख राईले पारिवारिक हिंसाका कारण गाउँबाट दिक्तेलमा आएर आश्रय लिएर छोरी सहित बसिरहेकी झुमा राईलाई बंगुर पालनका लागि सहयोग गर्ने घोषणा गरेकी छन् ।

         यस्तै, हिंसाका कारण नेर्पाबाट माईती घरमा आएर चित्राले बारेको छाप्रामा एक छोरा सहित बसिरहेकी अम्बिका आचार्यलाई आवास निर्माणमा सहयोग गर्ने घोषणा गरिएको छ । उपप्रमुख राईले अम्बिका र उनका छोराका लागि भूकम्पीय आवास निर्माण शैलीको दुई कोठे भवन निर्माण गरिदिने बताएकी छन् । जग्गा व्यवस्था गरेको अवस्थामा नगरपालिकाले अम्विकाको घर बनाइदिने भएपछि स्थानीय तारानाथ फुयाँलले दिक्तेलको पञ्चमाबि भन्दामुनि चार आना जग्गा निःशुल्क उपलव्ध गराउने घोषणा गरेका छन् ।

          कार्यक्रममा नगरपालिकाले बालकछँदै देब्रे खुट्टा गुमाएका खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका १२ वर्षीय सञ्जिव राईलाई बैसाखी प्रदान गरेको छ । हाल पञ्च माबि दिक्तेलमा कक्षा ५ मा अध्ययनरत सञ्जिवलाई प्रतिनिधिसभा सदस्य भट्टराईले पनि व्यक्तीगतरुपमा २ हजार प्रदान गरेका छन् । सञ्जिव ६ महिनाको छँदा आगोमा परेर बायाँ खुट्टा गुमेको हो । नगरपालिकाले नगरपालिकाभित्रका १५ जना दृष्टिविहिनलाई सेतो छडी प्रदान गरेको छ ।

         कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, नेकपाका जिल्ला कमिटि सचिव रामप्रसाद दंगाल, कांग्रेसका जिल्ला कमिटि सदस्य डिल्लीकुमारी आचार्य, जनता समाजवादीका जिल्ला अध्यक्ष टंक थापा, राप्रपाका जिल्ला अध्यक्ष जीवन श्रेष्ठ लगायतले लैंगिक हिंसा न्यूनीकरण आफुबाट सुरु गर्नुपर्नेमा जोड दिएका छन् ।

        यसपल्ट ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान एकैसाथ समापन गरिएको छ । दुबै कार्यक्रम अधिकारका क्षेत्रमा काम गरिरहेका जिल्लाका १४ संघसंस्था तथा कार्यालयले संयुक्तरुपमा आयोजना गरेको हो । यस्तै, लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापनको अवशरमा साकेला गाउँपालिकाले हिंसामा परेका ५ वडाका १० महिलालाई बाख्राको पाठो वितरण गरेको छ । जिविकोपार्जनमा सहयोग पुर्‍याउने लक्ष्यका साथ हिंसा पिडित महिलालाई बाख्राको पाठो हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै, रावाबेँसी गाउँपालिकामा लैंगिक हिंसा न्यूनीकरणका विषयमा अन्तक्रीया कार्यक्रम गरिएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकामा बुधबार ‘लैंगीक हिंसा न्यूनीकरणमा आमा समुहको भूमीका’ विषयक प्रतियोगीतात्मक कार्यपत्र प्रस्तुत गरिएको छ ।

     

    सम्बन्धित समाचार