शनिवार, मंसिर २७ २०७७
नेपाल वाइड
खोटाङ । मंसिर २७, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको हरेक वडामा एकै डिजाईनका वडा कार्यालय भवन निर्माण अभियानले गति लिएको छ । हालसम्म तत्कालिन गाबिसको पुरानो भवनबाट सञ्चालन हुँदै आएका वडा कार्यालयलाई पक्की भवनमा सार्ने लक्ष्यका साथ नगरपालिकाले १५ वडामध्ये ११ वडामा ‘एकै बजेटमा एकै डिजाईन’का भवन निर्माण अभियान चलाएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको वडा कार्यालयको भवन शुक्रबार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाको नवनिर्मित वडा कार्यालय भवन शनिबार हस्तान्तरण सँगै उद्घाटन गरिएको छ । नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख बिणादेबी राईले नुनथला र जालपाको वडा कार्यालय भवन उद्घाटन गरेका छन् ।
करिव सय जना अट्ने सभाहल, वडाध्यक्ष, वडा सचिव र वडा कार्य समितिका सदस्य बस्ने चार कोठे भवन निर्माण कम्पनीले नगरपालिकालाई हस्तान्तरण गरे लगत्तै नगरपालिकाले वडा कार्यालयलाई हस्तान्तरण गरेका छन् । निर्माण कम्पनी नाछिरिङ कन्ट्रक्सनले आगामी पुस मसान्तसम्ममा पूरा गर्नुपर्ने भवन समय अगावै पुरा गरेको जालपाका वडाध्यक्ष बिकास राईले बताए ।
स्थानीय निर्वाचनमार्फत नगरपालिकामा निर्वाचित भएर आएका जनप्रतिनिधिले बनाएको पाँच वर्षे आवधिक योजनामा उल्लेख भएको लक्ष्य अनुशार हरेक वडाको आफ्नै पक्की भवन निर्माणको काम अघि बढाइएको हो । पक्की भवन निर्माण भएपछि वडा कार्यालयको सेवा प्रवाह सहज भएको बताइएको छ । नगरपालिकाका बाँकी ९ वडामा पनि वडा कार्यालय भवन निर्माणको काम धमाधम भइरहेको नगरप्रमुख रिजालले बताए ।
त्यसमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको भवन निर्माणको काम भने अन्यको तुलनामा सुस्त देखिएको नगरपालिकाले जनाएकोे छ । ‘हामी निर्वाचित भएर आए लगत्तै पाँच वर्षे आवधिक योजना बनाएका थियौँ । त्यो आवधिक योजनामा पाँच वर्षभित्र नगरपालिकाको आफ्नै भवन हुन्छ, वडा कार्यालयको आफ्नै भवन हुन्छन् भनेका थियौँ ।
अहिले हामी त्यही योजना कार्यान्वयनको चरणमा छौँ,’ नगरप्रमुख रिजालले भने, ‘बाँकी वडामा पनि धमाधम भवन निर्माणको काम भइरहेको छ । सात वडाको प्रोग्रेस राम्रो छ । निर्धारित समयमा भवन निर्माणको काम पूरा हुनेमा हामी बिश्वस्त छौँ ।’ नगरपालिकाका अनुशार आगामी पुस मसान्तसम्ममा सबै वडाको कार्यालय भवन निर्माण पूरा गर्नुपर्ने निर्माण कम्पनीसँग सम्झौता छ ।
सुविधा सम्पन्न र व्यवस्थित भवन नभएका वडामा भवन निर्माणका लागि नगरपालिकाले प्रतिवडा ६५ लाखका दरले बजेट बिनियोजन गरेको थियो । तर, कतिपय भवन सोभन्दा कम बजेटमा निर्माण भइरहेको जनाइएको छ । जालपाको भवन करिब ४७ लाखमै बनेको वडाध्यक्ष राईले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा भने पहिल्यै सुविधा सम्पन्न भवन सञ्चालनमा छन् ।

वडा कार्यालय जालपाको भवनको चाँवी वडालाई हस्तान्तरणसँगै उद्धघाटन गर्दै नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख बिणादेबी राई, वडाध्यक्ष विकास राईलगायत