मंगलवार, मंसिर ३० २०७७
नेपाल वाइड
खोटाङ । मंसिर ३०, भौतिक संरचना निर्माणकाक्रममा गुणस्तर कायम गर्ने लक्ष्यका साथ खोटाङको खोटेहाङ गाउँपालिकाले स्थानीयलाई डकर्मी तालिम दिएको छ । सडक, पुल, भवन लगायतका संरचना निर्माणकाक्रममा लगाइने पर्खालमा गुणस्तर कायम गर्नका लागि गाउँपालिकाले डकर्मीको काम गर्दै आएका स्थानीयलाई तीन दिने तालिम दिएको हो ।
आयोजनाको कामलाई निर्धारित समयमा निर्धारित गुणस्तरमा सम्पन्न गर्नका लागि उपभोक्ता समितिलाई सहभागी गराएर अभिमुखीकरण सञ्चालन गरेको गाउँपालिकाले पुःन ९ वडाका साविकका एक/एक जना व्यक्तीलाई सहभागी गराएर डकर्मी तालिम सञ्चालन गरेको हो । विकास निर्माणका काम गर्ने क्रममा धेरैजसो ठाउँमा ढुंगाको पर्खाल लगाउने दक्ष जनशक्तीको अभाव देखिएपछि स्थानीयलाई डकर्मी सम्वन्धी तालिम दिइएको गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।
स्थानीयलाई ढुंगाको पर्खाल लगाउने, ग्याविन भर्ने, सडक सोलिङ गर्ने, सुर कस्ने लगायतका सिप सिकाउनका लागि गाउँपालिकाले आइतबारदेखि मंगलबारसम्म तालिमको आयोजना गरेको थियो । योजना अनुगमनकाक्रममा फिल्डमा पुग्दा अधिकांस ठाउँमा निर्माणको स्टाण्डर्ड मेन्टेन नभएको पाइएकाले डकर्मी तालिम सञ्चालन गरिएको गाउँपालिकाका पुर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखाका ईन्जिनियर राजु भट्टराईले बताए ।
तालिम प्राप्त डकर्मीले आगामी दिनमा गाउँमा सञ्चालन हुने योजनाको काममा गुणस्तर कायम गर्न र गराउनका लागि पहरेदारको भूमीका निर्वाह गर्ने अपेक्षा गरिएको छ । तालिममा पुर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखाका इन्जिनियर भट्टराई, सव–इन्जिनियर शैलेन्द्र पोख्रेल र रितेश श्रेष्ठले श्रोतव्यक्तीको भूमीका निर्वाह गरेका थिए ।