शुक्रवार, पौष ३ २०७७
नेपाल वाइड
खोटाङ । पुस ३, खोटाङको साकेला गाउँपालिकाले ३ वर्षे डिप्लोमा तहको बालि विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने भएको छ । गाउँसभाबाट पारित आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत कार्यक्रम अन्तरगत गाउँपालिकाले प्राविधिक धारतर्फ ३ वर्षे डिप्लोमा तहको बालि विज्ञान विषय अध्ययन गर्ने छात्र/छात्रालाई जनही ५० हजारका दरले छात्रबृत्ति प्रदान सुरु गर्ने भएको हो ।
तीन वर्षमा १० जना छात्र/छात्राका लागि २० लाख खर्च गर्नेगरी प्राविधिक धारका विद्यार्थीका लागि छात्रबृत्ति कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले बताए । छात्रबृत्ति गाउँपालिकाभित्रका स्थायी बासिन्दाले मात्र पाउने छन् ।
साकेला गाउँपालिका–२ रतन्छास्थित साकेला माबिमा सञ्चालन भइरहेको ३ वर्षे डिप्लोमा तहको बालि विज्ञान विषय अध्ययन गर्ने छात्र/छात्रालाई लक्ष्यीत गर्दै गाउँपालिकाले छात्रबृत्तिको कार्यक्रम ल्याएको हो । छात्रबृत्ति कार्यविधि पास गरेरै गाउँपालिकाका ५ वटै वडाका दुई/दुई जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने गाउँपालिका अध्यक्ष खड्काले बताए ।
वडाको सिफारिसमा विपन्न, महिला, दलित तथा जेहेन्दार छात्र/छात्रालाई प्रथामिकता दिएर छात्रबृत्ति उपलव्ध गराइने जनाइएको छ । गाउँपालिकाले छात्रबृत्तिका लागि १५ दिनभित्र आवेदन दिनका लागि पुस २ गते सूचना जारी गरेको छ ।