सोमवार, पौष ६ २०७७
नेपाल वाइड
खोटाङ । पुस ६, दक्ष जनशक्ती उत्पादनका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ‘मेरो रेडियो मेरो भविष्य’ कार्यक्रम सुरु गरिएको छ । दक्ष जनशक्ती उत्पादनका लागि विशेषगरी महिलालाई प्राथमिकतामा राखेर रिड नेपाल र नगरपालिकाको सहकार्यमा ‘मेरो रेडियो मेरो भविष्य’ कार्यक्रम सुरु गरिएको हो ।
स्थानीय एफएमबाट १४४ इपिसोडको रेडियो कार्यक्रम प्रशारणको व्यवस्था गर्ने, रेडियो कार्यक्रम सुन्ने र सोही रेडियो कार्यक्रमको क्रियाकलापमा सहभागी गराएर छात्र/छात्राको क्षमता विकासका लागि कार्यक्रम सुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले बताईन् ।
कार्यक्रमका लागि नगरपालिकाका ११ वडाका १० वटा माबि छानिएका छन् । ‘मेरो रेडियो मेरो भविष्य’ कार्यक्रममा प्रतिविद्यालयका नौ छात्रा र एक छात्रा गरी कुल ९० छात्रा र १० जना छात्रलाई सहभागी गराउने टुंगो लगाइएको छ । विद्यार्थी लक्षीत साईन्स, टेक्नोजोली र म्याथ (एसटिएम) सम्वन्धी जानकारी दिने रेडियो कार्यक्रम प्रशारण गर्नुपुर्व हाल रिड नेपालले छात्र/छात्रालाई निःशुल्क रेडियो सेट वितरण गरिरहेको छ । कक्षा ६ देखि कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थीलाई ‘मेरो रेडियो मेरो भविष्य’ कार्यक्रममा समेटिएको छ ।
कार्यक्रमका लागि १० विद्यालयका एक/एक जना शिक्षकलाई फोकल पर्सन तोकिएको छ भने सम्वन्धित विद्यालयका प्रअलाई सहभागी गराएर ओरिन्टेसन कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । कार्यक्रमको अवधिमा दैनिक एक/एक वडाका दरले १४४ वटा रेडियो कार्यक्रम प्रशारण गरिने छन् ।
पुस ८ गतेदेखि हिमाल एफएम र हलेसी एफएमबाट रेडियो कार्यक्रमको प्रोमो सुरु गरिने रिड नेपालले जनाएको छ । कार्यक्रमका माध्यमबाट छात्रा ड्रपआउट हुने दर घट्ने र बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको उपमेयर राईले बताईन् । कार्यक्रममा बाल क्लवको अध्यक्ष, महिला, दलित, अपांगलाई प्राथमिकतामा राखेर छनौट गरिएको छ ।
‘एफएमबाट कार्यक्रम प्रशारण हुन्छ । विद्यार्थीले घरैमा बसेर हरेक रेडियो कार्यक्रम सुन्ने छन्,’ उपमेयर राईले भनिन्, ‘कार्यक्रमको अन्तिममा विद्यार्थीबिचमा प्रतिष्पर्धा गराइन्छ । प्रथमलाई पुरस्कारको व्यवस्था छ ।’ सोमबार बडहरेस्थित लक्ष्मी माबिका छात्र/छात्रालाई रेडियो सेट वितरण गरिएको छ । उपमेयर राई, वडाध्यक्ष किशोर बस्नेत, रिड नेपालका फिल्ड अफिर सोफिया श्रेष्ठ लगायतले छात्र/छात्रालाई रेडियो हस्तान्तरण गरेका छन् ।