Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    विभेदपूर्ण सरुवा गरिएको भन्दै शिक्षक संगठनको विरोध

    विभेदपूर्ण सरुवा गरिएको भन्दै शिक्षक संगठनको विरोध


    • मंगलवार, पौष ७ २०७७

    • नेपाल वाइड


    विभेदपूर्ण सरुवा गरिएको भन्दै शिक्षक संगठनको विरोध
    फायल तस्बिर

         खोटाङ । पुस ७, खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा विभेदपूर्ण तरिकाले शिक्षकको सरुवा गरिएको भन्दै दुई शिक्षक संगठन बिरोधमा उत्रिएका छन् । प्रअ बनाउने भ्रम छर्दै दरबन्दी मिलानको नाममा विषयगत दरबन्दी नमिल्नेगरी शिक्षकको सरुवा गरिएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन र एकिकृत अखिल नेपाल शिक्षक संगठन हलेसी तुवाचुङ नगर कमिटिले बिरोध जनाएको हो ।

         नगरपालिकाले सबै माबिमा मावि स्थायी शिक्षकलाई प्रअ नियुक्त गर्ने गरी मावि शिक्षक सरुवा गर्ने निर्णय गरेको केही समयपछि शिक्षक संगठन बिरोधमा उत्रिएका हुन् । नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर समिति अध्यक्ष शिवकुमार राई, सचिव देबराज राई, एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष मेथबहादुर राई र सचिव दिलिप वाम्बुले राईले मंगलबार विज्ञाप्ती जारी गर्दै शिक्षक सरुवाको निर्णय शिक्षा नियमावली २०५९ को नियम ९८ विपरित भएको तथा शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७६ र २०७३ साल चैत ९ गते शिक्षा मन्त्रालयबाट स्वीकृत दरबन्दी मिलान तथा समायोजनको आधारलाई समेतलाई बेवास्ता गरिएको जनाइएको छ ।

         शिक्षकको विभेदपूर्ण सरुवाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दुई शिक्षक संगठनले अलोकतान्त्रिक र गैरकानुनी निर्णय भन्दै भत्र्सना गरेको छ । शिक्षक संगठनले मौजुदा क्रियासिल ऐन, कानून विरुद्ध रहेको शिक्षक सरुवा सम्वन्धी निर्णय खारेजीको माग गरेको छ । ‘नगरकार्यपालिका आफैले निर्माण गरेको माध्यमिक शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७७ समेत प्रचलित मूल ऐन, नियमसँग बाझिएको छ,’ विज्ञाप्तीमा भनिएको छ, ‘जुन कार्यविधिलाई आधार मानेर समितिले निर्णय गर्‍याे, सोही कार्यविधिको परिच्छेद–३, दफा ४ (ख) समेतको विपरितमा गइ शिक्षकलाई हतोत्साहित गर्ने काम भएको छ ।’

         संयुक्त विज्ञाप्तीमा नगरपालिकाबाट विगतदेखि नै राजनैतिक आस्थाको आधारमा शिक्षक माथि गरिदै आएको विभेदकारी प्रवृत्ति र व्यवहार अन्त्याको माग गरिएको छ । शिक्षक संगठनले नगरपालिकाको ‘वृहत्तर शैक्षिक सुधार कार्यक्रम’लाई सफल पार्न पेशागत हैसियतले कर्तव्यनिष्ठ भइ लाग्ने जनाएका छन् ।

          २०७६ सालदेखि शैक्षिक सुधार वर्षको अभियान थालेको नगरपालिकाले यसपल्ट नगरपालिकाभित्रका सबै माबिमा दरबन्दी मिलान गर्दै मावि तहकै शिक्षकलाई प्रअको जिम्मेवारी दिने तयारी गरिएको जनाएको छ । विद्यालयको शैक्षिक तथा प्रशासनिक सुधार गर्दै शैक्षिक गुणस्तर वृद्धिका लागि माविमा मावि तहकै स्थायी शिक्षकलाई प्रअकारुपमा पठाउने निर्णय गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । नगरपालिकाको यो निर्णयले प्रावि वा आधारभुत तहका शिक्षकलाई मावि तहको प्रअ हुनबाट रोक लगाएको छ । ११ वडा रहेको नगरपालिकामा ११ वटै माबि छन् ।

    सम्बन्धित समाचार