Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बलात्कार आरोपीलाई १० वर्ष कैद सजाय

    बलात्कार आरोपीलाई १० वर्ष कैद सजाय


    • मंगलवार, पौष ७ २०७७

    • नेपाल वाइड


    बलात्कार आरोपीलाई १० वर्ष कैद सजाय

        सप्तरी । सप्तरीमा ३० वर्षीया महिलालाई ठगी र बलात्कार गरेको आरोपमा एक जनालाई मंगलबार १० वर्ष कैद सजाय सुनाइएको छ । जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले छिन्नमस्ता गाउँपालिका ६, लोखरमका ४० वर्षीय मनोजकुमार मेहतालाई १० वर्ष कैद सजायको फैसला भएको सप्तरी जिल्ला अदालतले जनाएको छ ।

         अभियुक्तलाई जबरजस्ती करणीमा सात वर्ष कैद र ३० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । यसैगरी, ठगीमा तीन वर्ष कैद र रु ३० हजार जरिवाना तिराउने फैसला भएको छ । पीडितले दाबी गरेकोमध्ये ठहर भएको  एक लाख ९५ हजार रुपैयाँ बिगो भराई पाउनेसमेत फैसला भएको बुढाथोकीले जानकारी दिए ।

       अभियुक्तले २०७५ असोज १९ गते बलात्कार गरेको भन्दै पीडितले २०७५ मंसिर १४ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएकी थिइन् ।ठगी तथा बलात्कार आरोपितलाई पक्राउ गरी ठगी तथा बलात्कारको छुट्टाछुट्टै उजुरीमा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । उतिबेला अभियुक्त राजपा नेपाल सप्तरीका कोषाध्यक्ष थिए ।

        अपहरण तथा शरीर बन्धक मुद्दामा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका पीडितका पतिलाई छुटाइ दिने प्रलोभन देखाई आरोपितले पटक-पटक ठगी गर्नुका साथै राजविराज नगरपालिका ४ स्थित अशोक लजमा लगेर बलात्कार गरेको पीडितको आरोप छ ।

    पीडितका अनुसार थुनामा रहेका पतिलाई छुटाइदिने भन्दै अभियुक्तले २०७५ वैशाख ७ गते साढे एक लाख, असार २९ गते  चार लाख, साउन १४ गते तीन लाख, भदौ २२ गते २० हजार र भदौ २९ गते एक लाख ७५ हजार गरी १० लाख ४५ हजार रुपैयाँ ठगी गरेका छन् । जिल्ला अदालतको आदेशमा २०७५ पुस १२ गतेदेखि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । रासस

    सम्बन्धित समाचार