बुधवार, पौष ८ २०७७
नेपाल वाइड
खोटाङ । पुस ८, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले दलित र फरक क्षमता भएका छात्र/छात्रालाई झोला वितरण सुरु गरेको छ । पालिकासँग महिला कार्यक्रम अन्तरगत दलित तथा फरक क्षमता भएका छात्र/छात्रालाई पुस्तक बोक्ने झोला वितरण सुरु गरेको हो । ७ वडामध्ये मंगलबार दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित महेन्द्रोद्धय मावि ओख्रेका ४१ जना दलित र ६ जना फरक क्षमता भएका छात्र/छात्रालाई झोला वितरण गरिएको छ ।
पालिकासँग महिला कार्यक्रम अन्तरगत सोही माबिमा अध्ययनरत छात्रालाई एक थान भलिबल, नेट र पम्प वितरण गरिएको गाउँपालिकाले जनाएको छ । पुस्तक बोक्ने झोला तथा खेलकुदका सामग्री गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, उपाध्यक्ष सपना राई लगायतले छात्र/छात्रालाई हस्तान्तरण गरेका थिए ।
आर्थिक वर्ष २०७६/०७७ मा पालिकासँग महिला कार्यक्रमका लागि विनियोजित ५० लाख बजेटबाट गाउँपालिकाले दलित र फरक क्षमता भएका विद्यार्थीलाई झोला तथा छात्रालाई खेल सामग्री वितरण सुरु गरेको हो ।
क्रमशः गाउँपालिकाभित्रका ४८ विद्यालयका कक्षा १ देखि ८ मा अध्ययनरत दलित र फरक क्षमता भएका विद्यार्थीलाई झोला तथा आधारभुत तह र मावि तहमा अध्ययनरत छात्रालाई खेल सामग्री वितरण गरिने गाउँपालिकाका आइटी अफिसर मिनचन्द्र राईले बताए । कोभिड–१९ का कारण गत वर्षको कार्यक्रम यस वर्ष सरेको गाउँपालिकाले जनाएको छ ।