Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    पाँच बैंकसँग सम्झौता

    बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

    बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका


    • बिहिवार, पौष ९ २०७७

    • नेपाल वाइड


    बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
    राष्ट्रिय वाणिज्य बैंकका प्रमुखलाई सम्झौता–पत्र प्रदान गर्दै मेयर दिपनारायण रिजाल  

         खोटाङ । पुस ९, विभिन्न स्थानीय तहमा सामाजिक सुरक्षा भत्तामा अनियमितता भइरहेको तथ्य बाहिर आइरहेको अवस्थामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्ने तयारी गरेको छ । जिल्लाकै साकेला गाउँपालिका र बराहपोखरी गाउँपालिकामा सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको समाचार बाहिरिएको केही समयपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको तयारी गरेको हो । आगामी दोश्रो चौमासिकदेखि सबै १५ वडाकै लाभग्राहीलाई बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता वितरणका लागि नगरपालिकाले बिहिबार एकैसाथ पाँच वटा बैंकसँग सम्झौता गरेको छ ।

    Salpa Biakas Banka.jpg

    सालपा विकास बैंकका प्रतिनिधिलाई सम्झौता–पत्र प्रदान गर्दै मेयर दिपनारायण रिजाल  

    राष्ट्रिय बाणिज्य बैंक, सालपा विकास बैंक, ज्योती बिकास बैंक, ग्लोवल आइएमई बैंक र सेञ्चुरी कमर्सियल बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्ने तयारी गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए । सामाजिक सुरक्षाभत्ता वितरणलाई चुस्त र पारदर्शी बनाउनका लागि मेयर रिजालले पाँच वटै बैंकका शाखा प्रमुखसँग सम्झौता गरेका छन् । नगरपालिकाका अनुशार सालपा विकास बैंकमार्फत दिक्तेल, बाम्राङ, लफ्याङ, नेर्पा, चिउरीडाँडा, दोर्पाचिउरीडाँडा, पाथेका, खार्मी, नुनथला, बुईपा र विजयखर्कका लाभग्राहीलाई सामाजिक सुरक्षाभत्ता वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

    Jyoti Bikas Banka.jpg

    ज्योती बिकास बैंकका प्रतिनिधिलाई सम्झौता–पत्र प्रदान गर्दै मेयर दिपनारायण रिजाल 

         यस्तै, राष्ट्रिय वाणिज्य बैंकमार्फत खाल्ले, सेन्चुरी कमर्सियल बैंकमार्फत निर्मलीडाँडा, ज्योति विकास बैंकमार्फत सोल्मा र ग्लोबल आइएमई बैंकमार्फत जालपाका लाभग्राहीलाई सामाजिक सुरक्षाभत्ता वितरण गर्ने सम्झौता गरिएको नगरपालिकाले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने ५ हजार १३ जना लाभग्राही छन् ।

       ‘केही समय यता विभिन्न पालिकामा सामाजिक सुरक्षाभत्ता हिनामिना भएको समाचार आए । अहिले पनि सामाजिक सुरक्षाभत्ता दुरुपयोग भएको सुन्दा अचम्मित भयौँ,’ रिजालले भने, ‘विभिन्न क्षेत्रबाट बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्न सुझाव आएपछि यो विधि कार्यन्वयनमा ल्याएका हौँ ।’ चालु आर्थिक वर्षको दोश्रो चौमासिकदेखि सबै लाभग्राहीलाई नेपाल सरकारले जारी गरेको ‘सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५’ बमोजिम बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने वाध्यत्मक अवस्थाले पनि हाल धेरैजसो स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरिरहेका छन् ।

    Senchuri Banka.jpg

    सेञ्चुरी कमर्सियल बैंकका प्रतिनिधिलाई सम्झौता–पत्र प्रदान गर्दै मेयर दिपनारायण रिजाल  

         हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका, साकेला गाउँपालिका लगायतका स्थानीय तहले बैंकमार्फत सामाजिक भत्ता वितरणको तयारी गरिसकेका छन् । जन्तेढुंगा गाउँपालिकाले केही वर्षअगाडि देखि बैंकमार्फत सामाजिक वितरण गर्ने अभ्यास गरिसकेका छन् । केही समयअघि मात्र साकेला गाउँपालिकामा एक आर्थिक वर्षमै मृत्यु भइसकेका, बसाई सरिसकेका, कतिपय हुँदै नभएको व्यक्तीको नाममा ‘फेक डकुमेन्ट’ बनाएर ८७ लाख ४१ हजार ६ सय रुपैयाँ रकम चुहावट भएको प्रतिबेदन सार्वजनिक भएको थियो । 

    सम्बन्धित समाचार