Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसी च्यास्मीटारको दाल्फुमा पहिलोपल्ट विद्युत विस्तार

    हलेसी च्यास्मीटारको दाल्फुमा पहिलोपल्ट विद्युत विस्तार


    • शुक्रवार, पौष १० २०७७

    • नेपाल वाइड


    हलेसी च्यास्मीटारको दाल्फुमा पहिलोपल्ट विद्युत विस्तार
    विद्युतीकरणका लागि श्रमदानबाट पोल गाड्दै च्यास्मीटार दाल्फुका स्थानीय

          खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको दाल्फुमा विद्युत विस्तार भएको छ । नगरपालिकाको ‘उज्यालो वडा’ घोषणा अभियान अन्तरगत दाल्फुमा पहिलोपल्ट केन्द्रिय प्रशारणलाईन अन्तरगतको विद्युत विस्तार गरिएको हो ।

         पोल गाड्ने, तार टाँग्ने, ट्रान्सफर्मर राख्ने, मिटरबक्स जडान गर्ने लगायतका काम पुरा भएपछि साविकको च्यास्मीटार–४ दाल्फुमा बिहिबार दिउँसोदेखि विद्युत बालिएको उपभोक्ता समितिका अध्यक्ष दिपेन राईले बताए । दाल्फुका ३२ घर परिवारमध्ये पहिलो चरणमा ८ घरमा वत्ती बलेको छ ।

         गाईघाट–दिक्तेल ३३ केभी प्रशारणलाईन अन्तरगतको विद्युत बलेपछि स्थानीय हर्षित भएका छन् । गाउँमा विद्युत बिस्तारका लागि उपभोक्ताबाट पोल गाड्ने, तार टाँग्ने र ट्रान्सफर्मर राख्ने काममा श्रमदान जुटाइएको स्थानीय केसीराज राईले बताए । तत्कालै अन्य घरमा विद्युत बल्ने उपभोक्ता समितिले जनाएको छ ।

         च्यास्मीटारका साविकका अन्य कतिपय वडामा विद्युत विस्तार भइसकेका छन् भने कतिपय ठाउँमा विद्युतीकरणको काम भइरहेको छ ।
    ११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकाले हाल विद्युत विस्तार गर्न बाँकी वडामा विद्युतीकरणको कामलाई तिब्रता दिएको छ ।

        नगरपालिकाको आफ्नै बजेट, संघीय सरकार र नगरपालिकाको म्याचिङ फण्ड तथा नेपाल विद्युत प्राधिकरणको बजेटमा विद्युत बिस्तारलाई तिब्रता दिइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

        हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेर र हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारलाई आर्थिक वर्ष २०७६/०७७ मा ‘उज्यालो वडा’ घोषणा गरिएको थियो । स्थानीय सरकार आउन अघि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा मध्यपहाडी लोकमार्ग आसपासका टोलमा मात्र विद्युत बिस्तार भएको थियो ।

     

    सम्बन्धित समाचार