शुक्रवार, पौष १० २०७७
नेपाल वाइड
खोटाङ । पुस १०, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरेको छ । राष्ट्रिय पञ्जिकरण विभागको गत कत्तिक २६ गतेको पत्र अनुशार गाउँ कार्यपालिकाको शुक्रबार बसेको बैठकको निर्णय अनुशार गाउँपालिकाले आगामी चौमासिकदेखि सानीमा बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरणको तयारी गरेको हो ।
पारदर्शी रुपमा सम्वन्धित लाभग्राहीकै हातमा सामाजिक सुरक्षाभत्ता पुर्याउने व्यवस्था मिलाउने व्यवस्थाका लागि गाउँपालिकाले शुक्रबार सानीमा बैंकको दिप्रुङ चुईचुम्मा शाखासँग १५ बुँदे सम्झौता गरेको छ । बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरणका लागि गाउँपालिका अध्यक्ष भूपेन्द्र राईको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहाल र सानीमा बैंकका शाखा प्रवन्धक चेवन श्रेष्ठबीचमा सम्झौता गरिएको छ ।
सामाजिक सुरक्षा भत्तामा हुने चुहावट नियन्त्रण गर्ने लक्ष्यका साथ गाउँपालिका र बैंकबिचमा तीन आर्थिक वर्षका लागि सम्झौता गरिएको हो । गाउँपालिका र सानीमा बैंकबिचमा बैंकले गाउँपालिकाबाट प्राप्त विवरण बमोजिम लाभग्राहीको नाममा शुन्य मौज्दातमा सामाजिक सुरक्षा बचत खाता खोल्ने, पाँच वर्षमुनिका बालबालिकाको हकमा आमा वा संरक्षकबाट खाता सञ्चालन हुनेगरी बचत खाता खोलिदिने सम्झौता भएको छ ।
यस्तै, गाउँपालिकाले प्रत्येक लाभग्राहीको नाम, लक्षित समुह र पाउने रकम खुलाएर एकमुष्ट रकमको चेक हरेक चौमासिक रुपमा बैंकलाई उपलव्ध गराउने, गाउँपालिकाबाट प्राप्त भएको रकम बैंकले १५ दिनभित्र लाभग्राहीको खातामा जम्मा गरिदिने र खातामा जम्मा भएको खुल्ने विवरण र बाँकी रकम गाउँपालिकालाई उपलव्ध गराउने सम्झौतामा उल्लेख छ ।
१५ बुँदे सम्झौतामा कुनै लाभग्राहीको लगत कट्टा भएमा गाउँपालिकाले तत्काल लगत कट्टा भएको मिति र पाउने रकमको जानकारी बैंकलाई उपलव्ध गराउने, सो जानकारीका आधारमा बैंकले उक्त मितिपछिको रकम लगत कट्टा भएका लाभग्राहीको खातामा जम्मा नगरी गाउँपालिकालाई फिर्ता पठाउने, ९० वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिक र ‘क’ बर्गको रातो कार्ड पाएका अपांग तथा अति अशक्त प्रमाणित भएका लाभग्राहीलाई घरदैलोबाटै सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाएर बैंकमार्फत हिसाव मिलानको व्यवस्था मिलाउने लगायतका शर्त उल्लेख छ । आपसी समझदारीमा सम्झौता अवधि थप गर्न सकिने गाउँपालिका अध्यक्ष राईले बताए ।
सम्झौता अनुशार बैंकका कर्मचारीले आगामी पुस १८ गते दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा तथा पुस २५ गते दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बु र दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीका लाभग्राहीको खाता खोल्ने कार्यक्रम तय गरिएको छ ।
चालु आर्थिक वर्षको दोश्रो चौमासिकदेखि सबै लाभग्राहीलाई नेपाल सरकारले जारी गरेको ‘सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५’ बमोजिम बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने वाध्यत्मक अवस्थाले पनि हाल धेरैजसो स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरिरहेका छन् ।