Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सडकबाट ३५० बेसहाराको उद्धार

    सडकबाट ३५० बेसहाराको उद्धार


    • सोमवार, पौष २० २०७७

    • नेपाल वाइड


    सडकबाट ३५० बेसहाराको उद्धार

         काठमाडौं । मुलुकलाई नै बेसहारा सडकमानवमुक्त बनाउने उद्देश्य बोकेर मेची–महाकाली उद्धार अभियानमा लागेको मावनसेवा आश्रमले पछिल्ला १० दिनमा झन्डै ३५० बेसहाराको सडकबाट उद्धार गरेको छ ।

        आश्रमका अध्यक्ष रामजी अधिकारीले यही पुस ७ गतेबाट सुरु भएको एकमहिने मेची–महाकाली सडक उद्धार अभियानका क्रममा आइतबारसम्म यसरी उनीहरुलाई उद्धार गरी संरक्षण दिएको जानकारी दिए ।

         उनका अनसार प्रदेश नम्बर–१ बाट २५४ र प्रदेश नम्बर–२ बाट ८१ सहयोगापेक्षीको उद्धार गरिएको तथा बाँकी वाग्मती र गण्डकी प्रदेशका केही जिल्लाबाट उद्धार भएका छन् । अहिले पनि गण्डकी प्रदेशमा उद्धारको अभियान जारी छ । उनका अनुसार यहाँका विभिन्न स्थानीय तहसँगको समन्वयमा उद्धार अभियान चलाइएको छ ।

        सरकारले वि.सं. २०७८ भित्र मुलुकलाई बेसहारा सडकमानवमुक्त मुलुक बनाउने उद्घोष गरिसकेको छ । उक्त सरकारी सङ्कल्प पूरा गर्ने आधार तयार पार्न मानवसेवा आश्रमले अहिले राष्ट्रिय उद्धार अभियान लिएर मेची–महाकाली सडक यात्रा गरेको आश्रमले जनाएको छ ।

        कोही पनि भोको नाङ्गो भएर र एक छाक खान नपाएर, माग्न पनि नसक्ने अवस्थामा सडकमा बसिरहेका व्यक्तिको संरक्षण गर्ने योजनाका साथ वि.सं. २०६९ मा उक्त आश्रम स्थापना भएको थियो ।

       सोही अभियानलाई साकार पार्न पछिल्लो समयमा नेपाल सरकारसँग सहकार्य भएको छ । टोलीले सातै प्रदेशका विभिन्न जिल्लामा पुगेर सडकमा रहेका असहायहरुको उद्धार गर्ने जनाएको छ । रासस

    सम्बन्धित समाचार