सोमवार, पौष २० २०७७
नेपाल वाइड
नेपाल प्रहरीले स्रोत नखुलेको रू. एक करोड ४७ लाख ८६ हजारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–०२३ च २२५९ नम्बरको कार जाँचका क्रममा उक्त रकमसहित सोमबार बिहान दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत गोरखपुरका ३० वर्षीय अमितकुमार गुप्ता र कपिलवस्तुका २२ वर्षीय कार चालक सङ्गम थारु रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले कारको डिक्कीमुनी विभिन्न भागमा तीनवटा झोलामा लुकाएर ल्याएको उक्त रकमसहित दुईजनालाई पक्राउ गरिएको जानकारी दिए ।
“भारतबाट भारतीय रूपैयाँ ल्याई नेपालको सीमा क्षेत्रमा पटकपटक सटही गरेको अनुसन्धानबाट खुलेको छ”, प्रवक्ता विष्टले भने । कार र बरामद गरिएको रकमसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग पठाइएको प्रहरीले जनाएको छ । रासस