बिहिवार, पौष २३ २०७७
नेपाल वाइड
खोटाङ । पुस २३, खोटाङका संगीतकर्मी सर्जुन राईको म्यूजिक भिडियो बजारमा आएको छ । विशेषगरी म्यूजिक भिडियो डाइरेक्सन र कम्पोजमा जमिरहेका राईको ‘दैलो’ बोलको म्यूजिक भिडियो बजारमा आएको हो । विदेसिएका नागरिकलाई आफ्नै थाँतथलोमा फर्कनका लागि आव्हान गरिएको म्यूजिक भिडियो आईम्याक्स मोसन पिक्चर्सको यू–टुवमार्फत सार्वजनिक गरिएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका सर्जुनलाई गीतमा गायीका सानु तामाङले साथ दिएकी छन् । बिश्वराज राईको शव्द तथा संगीत रहेको म्यूजिक भिडियोमा रुपेश राई, नग्मा श्रेष्ठ, सिता राई लगायतको अभिनय देख्न सकिन्छ । २०६० सालमा आफ्नै स्वरमा ‘हृदय’ बोलको गीत रेकर्ड गरेका सर्जुनको यो दोश्रो गीत हो ।
लोकपप शैलीको ‘दैलो’का अधिकांश भिडियोमा खोटाङका पर्यटकीय क्षेत्रलाई कैंद गरिएको छ । गीति भिडियोमा रुपाकोट, मुढे, नुनथला, तुवाचुङ, बुईपा, जयरामघाट लगायतका ठाउँका दृश्या देख्न सकिन्छ । ‘दैलो’का भिडियो निर्देशन अनिलकृष्ण मानन्धरले गरेका हुन् ।
गायक सर्जुन राई
गीत संगीतका माध्यमबाट खोटाङमा भएका रमणीय दृश्यको प्रचार–प्रसार गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने लक्ष्यका साथ ‘दैलो’का लागि आवश्यक दृश्या खोटाङमै कैंद गरिएको सर्जुनले बताए ।
यू–टुवमा राखिएको ‘दैलो’ले हाल राम्रो प्रतिक्रिया बटुली रहेकोे छ । ‘म्यूजिक भिडियोमार्फत खोटाङको परिवेसलाई समेटेर पर्यटन प्रवद्र्धन गर्ने प्रयास गरिएको छ, विदेसिएका दाजुभाईलाई गाउँ फर्कन सन्देश दिइएको छ,’ राईले भने, ‘अहिले भिडियो हेर्ने दर्शकले यस्तो दृश्या पनि खोटाङमा छ र भन्दै सोधिरहेको छ । प्रतिक्रिया राम्रो आइरहेको छ ।’
सुरुमा गायनमार्फत सांगीतिक क्षेत्रमा प्रवेश गरेका सर्जुन भिडियो डाइरेक्टर र कम्पोजरकारुपमा बढि परिचित छन् । सम्वन्धित विषयको अध्ययनसँगै उनले ‘रंगियो रे सिउँदो, हवाईजहाज, छड्के बुलाकी लगायतका १० गीतको भिडियो डाइरेक्सन गरिसकेका छन् ।
उनले यस अवधिमा पाँच/छ वटा सर्ट मुभीमा निर्देशन गरेको अनुभव पनि संगालिसकेका छन् । हाल खोटाङलाई चिनाउने किसिमको आर्ट मुभीको तयारी गरिरहेको बताए । कक्षा ८ मा पढ्दापढ्दै बुईपाबाट मोरङ झरेका सर्जुनले त्यहीबाट सांगीतिक यात्रा तय गरेका हुन् ।
भिडियो