शनिवार, पौष २५ २०७७
नेपाल वाइड
खोटाङ । पुस २५, काठ्माण्डौंमा किरात नाछिरिङ राई समुदायको रिदुम खिम (मुन्धुम घर) निर्माणका लागि जग्गा खरिद गर्न अभियान तिव्र पारिएको छ । काठ्माण्डौंको गोकर्ण उत्तरगयामा निर्माण गरिने रिदुम खिम (मुन्धुम घर)का लागि आवश्यक जग्गा खरिद गर्न किरात रदु नाछिरिङ साखाम केन्द्रले सहयोग संकलन अभियान अभियान तिव्र पारेको हो ।
७५ लाख ७५ हजारमा आगामी माघ १० गतेभित्रमा ६ आना जग्गा पास गर्नेगरी अभियान सञ्चालन भइरहेको किरात रदु नाछिरिङ साखाम केन्द्रकी उपाध्यक्ष कमलकुमारी नाछिरिङले बताईन् । किरात रदु नाछिरिङ साखाम केन्द्रको स्वामित्व तथा नेतृत्वमा नाछिरिङ समुदायको एकताको प्रतिक रिदुम खिम (मुन्धुम घर) निर्माणका लागि जग्गा खरिद गर्न गत कात्तिक ७ गते चन्दा संकलन गरेरै बैना गरिएको थियो ।
रिदुम खिम निर्माण गर्ने जग्गा खरिदका लागि हाल बिश्वभरी छरिएर रहेका नाछिरिङ तथा गैर–नाछिरिङ समुदायबाट आर्थिक सहयोग संकलन भइरहेको केन्द्रले जनाएको छ । केही समयपछि भवन निर्माण गर्ने लक्ष्यका साथ किरात रदु नाछिरिङ साखाम केन्द्रले चन्दा उठाएरै जग्गा खरिद गर्ने अभियान चलाएको हो ।
हालसम्म नाछिरिङ तथा गैर–नाछिरिङ समुदायका ४७ जना दाताबाट २७ लाख ७९ हजार ८६४ रकम संकलन भइसकेको छ । दाताबाट प्राप्त भएको तथा १५ लाख ५० हजार ऋण जुटाएर जग्गाधनीलाई ४३ लाख रुपैयाँ प्रदान गरिसकिएको जनाइएको छ । जग्गा खरिदका लागि किरात रदु नाछिरिङ साखाम केन्द्रलाई अझै ३२ लाख ५० हजार अपुग छ ।
अपुग रकम जुटाउनका लागि केन्द्रले काठ्माण्डौंमा घरदैलो गर्नुका साथै विभिन्न जिल्ला समिति तथा जापान, यूएसए, यूके, हङकङ लगायतका देशमा कुरा भइरहेको जनाएको छ । किरात नाछिरिङ राईको सामुदायिक हित, भाषा, संस्कार, संस्कृति, विकास, संरक्षण एबं प्रर्बधनका लागि रिदुम खिम निर्माण गर्न लागिएको हो ।
मुल घरमा मान्दै आएको परम्परागत संस्कार–संस्कृतिलाई उपत्यकामै बसेर निरन्तरता दिने वाताबरण बनाउने, जन्म, मृत्यु, वैवाहिक लगायतका संस्कार गर्ने, संसारभर छरिएर रहेका नाछिरिङ राईलाई संगठित गर्ने, नाछिरिङ राईको भाषिक, संस्कार, संस्कृतिको एकिकरण गर्ने लगायतका लक्ष्यका साथ रिदुम खिम निर्माणको अवधारणा अघि सारिएको हो ।
‘चुला घर (रिदुम खिम) नहुँदा धेरैले मुन्धुमी संस्कार अनुसार बिवाह, जन्म संस्कार र मृत्यु संस्कार गर्न पाइरहेका छैनौं । जसले गर्दा हामी दिन प्रतिदिन अन्य धर्मको सिको गर्दै आफनो मौलिक संस्कारलाई बिर्सिदै गइरहेका छौँ,’ उपाध्यक्ष नाछिरिङले भनिन्, ‘यही तथ्यलाई मध्यनजर गर्दै हाम्रो संस्थाले हाम्रो मौलिक परम्परा र संस्कारलाई निरन्तरता दिई सभ्य समुदायको परिचय दिन रिदुम खिम (मुन्धुम घर) निमार्ण गर्ने लक्ष्य लिइएको हो ।’
सोलुखुम्बुको सोताङ, महाकुलुङ गाउँपालिका र खोटाङको ऐसेलुखर्क गाउँपालिकामा नाछिरिङ राईको सघन बस्ती रहेको छ । यस बाहेक सँखुवासभा, ताप्लेजुङ, पाँचथर, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, तेहथुम, इलाम, झापा, उदयपुर, काठमाडौँ, ललितपुर, भक्तपुर र प्रवासमा दार्जिलिङ, सिक्किम, भुटान, हङकङ, सिङ्गापुर, युके, अमेरिका, क्यानडा लगायतका देशमा समेत नाछिरिङ राईको बसोवास रहेको छ ।