मंगलवार, पौष २८ २०७७
नेपाल वाइड
खोटाङ । पुस २८, विद्यार्थीलाई निमोनिया, रुघाखोकी र ज्वरोले सताउन थालेपछि खोटाङको जन्तेढुंगा गाउँपालिकाले हप्ता दिनका लागि पठन–पाठन बन्द गर्ने निर्णय गरेको छ । जाडो बढेसँगै विद्यार्थीमा निमोनिया, रुघाखोकी र ज्वरोको समस्या देखिन थालेपछि पुस २९ गतेदेखि माघ ६ गतेसम्मका लागि कक्षा बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
जन्तेढुंगा गाउँपालिकामा ३६ वटा सामुदायीक विद्यालय छन् । कक्षा बन्द रहेको अवधिमा आन्तरिक लेखा परिक्षण, अन्तिम लेखा परिक्षण, भौतिक निर्माण र कार्यतालिका निर्माण लगायतका प्रशासनिक कार्य सञ्चालन गराउनका लागि गाउँपालिकाले सवै विद्यालयलाई पत्राचार गरेको छ ।
शिक्षा समितिको मंगलबारको बैठकले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै हप्ता दिनका लागि कक्षा बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराईले जारी गरेको पत्रमा उल्लेख छ ।