Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
     स्थानीय अस्थायी अध्यपन अनुमति पत्र आफै जारी गर्ने

    साकेला गाउँपालिकाले ल्यायो शिक्षा ऐन

    साकेला गाउँपालिकाले ल्यायो शिक्षा ऐन

     हरेक बालबालिकालाई अनिवार्य विद्यालय पठाउनुपर्ने व्यवस्था

    • बुधवार, पौष २९ २०७७

    • नेपाल वाइड


    साकेला गाउँपालिकाले ल्यायो शिक्षा ऐन
    साकेला गाउँपालिकाको १० औं साधारणसभामा गाउँपालिका अध्यक्ष अर्जुन खड्का र उपाध्यक्ष सरिता खड्का र प्रमुख प्रशासकिय अधिकृत रविन मगर

    खोटाङ । पुस २९, खोटाङको साकेला गाउँपालिकाले शिक्षा ऐन ल्याएको छ । विद्यालय सुधार गर्दै गणस्तरिय शिक्षाको व्यवस्थाका लागि गाउँपालिकाले मंगलबारको १० औं गाउँसभामार्फत शिक्षा ऐन २०७७ पास गरेको हो । नेपालको संविधानमा व्यवस्था भए बमोजिम स्थानीय तहको शिक्षा सम्वन्धी अधिकार सुनिश्चित गर्दै गुणस्तरीय र जीवन उपयोगी सिकाईका माध्यमबाट दक्ष, योग्य र सीपयुक्त जनशक्ती उत्पादन गर्ने लक्ष्यका साथ शिक्षा ऐन पास गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले बताए ।

    गाउँपालिकाले विद्यालय खोल्न स्वीकृति प्रदान, विद्यालयको पाठ्यक्रम र पाठ्यपुस्तक, विद्यालय गाभ्ने, स्थानीय अस्थायी अध्यपन गर्न अनुमति पत्र जारी गर्ने, विद्यालय अनुदान, गाउँ शिक्षा समिति, वडा शिक्षा समिति, विव्यास, गाउँ शिक्षा विकास कोष, विद्यालय कोष, विद्यालय शुल्क, प्रअ सम्वन्धी व्यवस्था, करारमा शिक्षक नियुक्ती, दरबन्दी मिलान तथा सरुवा, शिक्षकको विदा, आचार संहिता, विद्यार्थी भर्ना लगायतका विषय समेटिएको शिक्षा ऐन ल्याएको हो ।

    हरेक बालबालिकालाई अनिवार्य विद्यालय पठाउनुपर्ने व्यवस्था

    साकेला गाउँपालिकाको शिक्षा ऐनमा पाँच वर्ष पूरा भएका हरेक बालबालिकालाई आधारभुत शिक्षाकालागि अनिवार्य विद्यालय पठाउनुपर्ने व्यवस्था गरेको छ । विद्यालय उमेर पुगेका बालबालिकालाई विद्यालय नपठाउने अभिभावकलाई गाउँपालिकाको सेवा सुविधाबाट बञ्चित गर्नेसम्मको व्यवस्था शिक्षा ऐनमा उल्लेख छ ।

    अभिभावकले बालबालिकालाई विद्यालय पठाए/नपठाएको विषयमा सम्बन्धित वडा शिक्षा समिति, निरीक्षक तथा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले अनुगमन तथा निरीक्षण गर्ने गाउँपालिका अध्यक्ष खड्काले बताए । विद्यालय उमेर पुगेका वालबालिकालाई अनिवार्य विद्यालय भर्नाका लागि भर्ना अभियान तथा कार्यक्रम गर्ने ऐनमा उल्लेख छ ।

    स्थानीय अस्थायी अध्यपन अनुमति पत्र आफै जारी गर्ने

    साकेला गाउँपालिकाले स्थानीय अस्थायी अध्यपन अनुमति पत्र आफै जारी गर्ने भएको छ । गाउँपालिकाभित्रका आधारभुत र माविमा रिक्त अंग्रेजी, गणित, विज्ञान, लेखा, कम्प्यूटर, सिभिल इन्जिनियरिङ, पशुपालन वा वाली विज्ञान लगायतका विषयको जनशक्ति परिपूर्तिका लागि गाउँपालिकाले स्थानीय अस्थायी अध्यपन अनुमति पत्र जारी गरी लागू गर्न सक्ने व्यवस्था सहितको शिक्षा ऐन ल्याएको हो । गाउँपालिकाले जारी गर्ने स्थानीय अस्थायी अध्यपन अनुमति पत्रको अवधि जारी भएको मितिले ५ वर्षको हुने अध्यक्ष खड्काले बताए ।

     

    सम्बन्धित समाचार