बिहिवार, माघ १ २०७७
नेपाल वाइड
खोटाङ । माघ १, जिल्ला अदालत खोटाङमा कार्यरत खरिदार ३६ वर्षीय कमलदिप ढकाल कोठामै मृत फेला परेका छन् । सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–११ स्थायी घर भएका खरिदार ढकाल विहिबार बिहान आफ्नै कोठामा मृत फेला परेका हुन् । बिहान अवेरसम्म नउठेपछि घरबेटीले बोलाउँदा भित्रबाट चुकुल लगाएको अवस्थामा ढकाल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक सागर शाहले बताए ।
बेलुकाको खाना खाएर सकुशल सुतेका ढकालको शव कोठामै घोप्टिएको अवस्थामा फेला परेको हो । जिल्ला न्यायधिस मातृकाप्रसाद आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, डिएसपी नारायणप्रसाद चिमरिया लगायतको उपस्थितिमा चुकुल तोडेर ढकालको कोठाको ढोका खोलिएको थियो ।
करिब दुई वर्ष अघिदेखि जिल्ला अदालतमा कार्यरत ढकाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा कोठा भाडामा लिएर बसिरहेका थिए । नासुको तयारी गरिरहेका ढकालको छेउमा लोकसेवा आयोगका तयारी पुस्तकहरु खुला छाडिएको पाइएको छ । उनको मृत्युको कारण पोष्टमार्ट गरेपछि खुल्ने प्रहरी निरिक्षक शाहले बताए ।
आफन्त आइपुगेपछि शवलाई उठाउने तयारी गरिएको प्रहरीले जनाएको छ । ‘बिहान अवेरसम्म नउठेपछि घरबेटीले बोलाएछन् तर बोलेन छन् । भित्रबाट चुकुल लगाएको देखिएपछि प्रहरीलाई खबर आएको थियो,’ प्रहरी निरिक्षक शाहले भने, ‘शव घोप्टो परेको अवस्थामा फेला परेको छ । मृत्युको कारण पोष्टमार्टम पछि खुल्छ । अहिले अनुसन्धान भइरहेको छ ।’