शनिवार, माघ ३ २०७७
नेपाल वाइड
खोटाङ । माघ ३, चार वर्षअघि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी (हाल त्रियुगा नगरपालिका–११ गाईघाट प्रगतीग्राम, उदयपुर)का कृष्ण खत्री घर बनाउने तयारी गर्दै थिए । घर निर्माणकै लागि दिनभर काठ ओसारेर बेलुका शकुसल सुतेका खत्री भोलीपल्ट बिरामी भएर व्यूझिए ।
२०७३ साल असार ५ गते अकस्मात शरीर सुन्निने, वाकवाकी लाग्ने लगायतका समस्या देखिएपछि परिवारले उनलाई केही दिनमै अस्पताल पु¥याए । कान्छो छोरा सुदिप खत्री नेपाली सेनामा कार्यरत भएका कारण उनलाई काठ्माण्डौंको बिरेन्द्र सैनिक अस्पताल छाउनीमा लगिए । छाउनीमा दुबै मिर्गौला फेल भएको पूष्टी भएपछि उनको सोही असार १३ गतेदेखि हालसम्म डायलासिस भइरहेको छ ।
हप्तामा दुईदेखि तीन पटक डायलासिस गराउँदै बसिरहेका खत्री बिरामी भए यता एक/एक दिनका लागि दुई पटक मात्र घर पुगेका छन् । गत वर्ष आफ्नै बाबु पदमबहादुरको मृत्यु हुँदा समेत उनी घर जान सकेनन् । कोठामै किरिया बसेर पशुपतीनाथ पुगेर चोखिएको खत्रीले बताए ।
डायलासिस र औषधिको भरमा बाँचिरहेका खत्रीको उपचारकाक्रममा लाखौं रकम सक्किसकेको छ ।
घर बनाउने तयारी गर्दा गर्दै बिरामी परेका खत्रीको घर त ठडिएन नै उपचारकाक्रममा भएका घडेरी समेत बिक्री गरिसकेका छन् । हाल उनी छाउनी नजिकै डेरामा बसेर हप्ताको मंगलबार र शुक्रबार नियमित डायलासिस गराउँदै आएका छन् । डेढ वर्षसम्म हप्ताको तीन पटक डायलासिस गराएका खत्रीको स्वास्थ्यमा जटिल समस्या देखिए भने अहिले पनि तीन पटक पनि डायलासिस गर्ने गरिएको छ । डायलासिस सुरु गरे यता उनले पिसाव गरेका छैनन् ।
मिर्गौला प्रत्यारोपणका लागि सहयोगको याचना
चार वर्षको अवधिमा कृष्णको मिर्गौला प्रत्यारोपण गर्ने प्रयास पनि भए । तर, दाता भेटिएनन् । भेटिएका दाताबाट पनि नाता प्रमाणित गर्नुपर्ने व्यवस्थाका कारण मिर्गौला प्रत्यारोपणमा कानूनी जटिलता आइपरे । श्रीमती कुमारी खत्री पनि मिर्गौला दिन तयार भईन् । तर कुमारी आफै सुगर, प्रेसरको विरामी भएकाले श्रीमानलाई मिर्गौला दान गर्न असमर्थ भईन् ।
मिर्गौलाकै उपचारकाक्रममा सरकारले डायलासिस सेवा निःशुल्क उपलव्ध गराउन सुरु गरे । त्यस यता डायलासिस भने निःशुल्क गराउँदै आएको खत्रीले बताए । डायलासिस बाहेक औषधिमा मात्र उनको मासिक २० देखि २५ हजार खर्च हुने गरेको छ । यद्यपी, सैनिक परिवारका भएका कारण उनलाई वार्षिक १ लाख १० हजार बराबरको औषधि निःशुल्क उपलव्ध हुने भएकाले आर्थिकरुपमा सहज भएको छ ।
औषधिमा १ लाख १० हजारभन्दा बढि लागे भने आफैले खर्च बेहोर्नु पर्ने खत्रीले बताए । हाल उनी मिर्गौला प्रत्यारोपणको प्रयासमा छन् । ‘हर्ट अट्याक भएपछि गत मंसिर २५ गते एनजियोग्राम गर्नु पर्याे । दुई पल्ट डाक्टरले नै मायाँ मारेको थियो, तर बाँचेँ,’ खत्रीले भने, ‘त्यसपछि अलि बाँच्छुजस्तो लागेको छ । कोही भगवान बनेर आइदियो भने पक्कै पनि बाँच्ने छु । तिनै भगवान पर्खिरहेको छु ।’ उनका दुई छोरामध्ये जेठो छोरो घर सम्हालेर बसिरहेका छन् ।
गाईघाटमा बसेर व्यवसाय गरिरहेको अवस्थामा कृष्ण गाउँ फर्किएर २०५४ सालको स्थानीय चुनावमा तत्कालिन एमालेकातर्फबाट वडा सदस्यमा विजयी भएका थिए । उनले कांग्रेसबाट वडा सदस्यमा उठेका आफ्नै दाजु कर्णबहादुर खत्रीलाई पराजित गरेका थिए । गाउँ आएर चुनाव लड्नका लागि उक्साउने रामप्रसाद दंगाल, बलराम दाहाल, पृथी राईमध्ये दंगाल हाल नेकपा ओली समुहको खोटाङ अध्यक्ष छन् ।