शुक्रवार, माघ १६ २०७७
नेपाल वाइड
खोटाङ । माघ १६, खोटाङमा आगो ताप्नेक्रममा शरीर जल्दा गम्भीर घाईते भएकी वृद्धाको मृत्यु भएको छ । गाईबस्तुलाई खोले पकाउनका लागि बालेको आगो ताप्नेक्रममा शरीरमा आगो लाग्दा गम्भीर घाईते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङबजार धनमुढाकी १०१ वर्षकी हिमादेवी अधिकारीको मृत्यु भएको हो ।
लगाएको लुगाबाट सल्किएको आगोले शुक्रबार बिहान गम्भीर घाईते भएकी अधिकारीको केही घण्टापछि मृत्यु भएको खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए । उनी गाउँपालिकाभरीकै सबैभन्दा ज्येष्ठ नागरिककारुपमा सम्मानित वृद्धा हुन् ।
आफन्त नभएकी बृद्धा स्थानीय रामप्रसाद पौडेलको घरमा बस्दै आएकी थिईन् ।
वृद्धावस्थामा पुगेका कारण हिमादेवी बोल्न असमर्थ थिईन् । शारीरिक असक्तताका कारण घस्रेर यताउता हिँड्ने अधिकारीको शरीरमा लगाएको लुगाबाट शरीरमा आगो लागेको अनुमान गरिएको छ । लुगा डढेको गन्धका आधारमा आफन्तले उनलाई जलिरहेको अवस्थामा उद्धार गरेका थिए । शरीरका केही ठाउँ बाहेक सबै भागको छाला जलेका कारण छटपटाइरहेका अधिकारीलाई स्वास्थ्यकर्मी लगेर स्लाइन चढाउँन खोज्दा स्लाइन नचढेको वडाध्यक्ष फुयाँलले बताए ।
जलेर शरीरको छाला पिल्सिएका अधिकारीलाई आगोबाट उद्धार गरेपछि केराको पातले शरीर ढाकेर राखिएको थियो । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक गोबिन्द शाहले भने घटनाको बारेमा जानकारी आउन बाँकी रहेको बताएका छन् । बाबुआमाको एक्लो सन्तान रहेकी हिमादेवीको बाल्यवस्थामै भोजपुर भुल्केमा भट्टराई थरका पुरुषसँग विवाह भएको थियो ।
तर बिवाहपछि माईतीमै फर्किएर बसेकी उनी बाबुआमाको मृत्युपछि आफन्तको घरमा बस्दै आएकी थिईन् । विभिन्न आफन्तको घरमा आश्रय लिएरै वृद्धावस्थामा पुगेकी उनी लामो समयदेखि पौडेलको घरमा बसिरहेकी थिईन् । ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवशरमा गत असोज १५ गते खोटेहाङ गाउँपालिकाले गाउँपालिभरीकै सबैभन्दा ज्येष्ठ नागरिककारुपमा हिमादेवीलाई सम्मान गरेको थियो ।