शुक्रवार, माघ १६ २०७७
नेपाल वाइड
खोटाङ । माघ १६, खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला र केपीलासगढी गाउँपालिका–७ सुंदेलको बोबु जोड्ने सडक निर्माण सुरु गरिएको छ । भविष्यमा खोटाङ, भोजपुर, सोलुखुम्बु र संखुवासभाको बिचमा रहेको धार्मिक तथा पर्यटकीयस्थल साल्पा पोखरी जोड्ने गरी केपिलासगढी गाउँपालिकाले बाक्सिलादेखि सुंदेलको बोबु जोड्ने सडक निर्माण सुरु गरेको हो ।
३० लाखमा ३ किलोमिटर सडक विस्तार गर्नेगरी सडक निर्माणको काम सुरु गरिएको केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले बताए । केपिलासगढी गाउँपालिका हुँदै साल्पा पोखरी पुग्ने सडकको अभाव भइरहेको अवस्थामा बाक्सिला–बोबु सडक निर्माण सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
उपभोक्ता समितिमार्फत माघ १३ गतेदेखि सडक निर्माण सुरु गरिएको हो । सो सडकलाई क्रमशः विस्तार गर्दै साल्पा पोखरीतर्फ लगिने गाउँपालिका अध्यक्ष राईले बताए । निर्माणाधिन सडक गाउँपालिकाका अध्यक्ष राई, उपाध्यक्ष हिरादेवी वन, प्रमुख प्रशासकीय अधिकृत छविलाल राई लगायतको टोलीले निरिक्षण गरेको छ ।