शुक्रवार, माघ १६ २०७७
नेपाल वाइड
खोटाङ । माघ १६, खोटाङको दिक्तेल–खानीडाँडा–आहाले–याम्खा–पञ्चमीबजार–वातिखुम सडक खण्डमा बस सेवा सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिका जोड्ने दिक्तेल–खानीडाँडा–आहाले–याम्खा–पञ्चमीबजार–वातिखुम सडकमा खोटाङ यातायात प्रालिले विहिबारदेखि नियमित बस सेवा सुरु गरेको हो ।
दिक्तेलबाट खानीडाँडा–आहाले–याम्खा–पञ्चमीबजार हुँदै वातिखुम पुग्ने छोटो दुरीको सडक विस्तार भएपछि दिक्तेलबाट सिधै दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीको वातिखुमसम्म बस सेवा सुरु गरिएको हो । दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ को बजेटबाट दिप्रुङ चुईचुम्माको याम्खा (कोटगाउँ)देखि दिक्तेलको आहालेसम्मको सडक निर्माण गरेपछि दिक्तेलबाट पञ्चमीबजार आवत–जावत गर्ने छोटो दुरीको बाटो खुलेको हो ।
दिक्तेलबाट पञ्चमी बजार जोड्ने दिक्तेल–मात्तिम–टेम्मा सडकको तुलनामा दिक्तेल–खानीडाँडा–आहाले–याम्खा सडक दुई घण्टा छिटो दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए । गाउँपालिका र खोटाङ यातायात प्रालिबिचको मौखिक सम्झौता अनुसार दिक्तेलबाट वातिखुमसम्म ओहोर–दोहोर गर्ने छोटो दुरीको सडकमा बस सञ्चालनमा आएपछि स्थानीय लाभान्वित भएका छन् ।
हालसम्म दिक्तेल–मात्तिम–टेम्मा–पञ्चमीबजार सडकबाट बस सञ्चालनमा रहेको अवस्थामा अव दिक्तेल–खानीडाँडा–आहाले–याम्खा सडक बढि उपयोग हुने दावी गरिएको छ । अझ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने साप्सु खोलामा निर्माणाधिन मोटरेबल पुलको काम पुरा भएपछि दिक्तेल–खानीडाँडा–आहाले–याम्खा सडक नियमित हुने वातावरण बन्ने छ ।
दिप्रुङ चुईचुम्मा गाउँपालिकाकै अग्रसरतामा निर्माण सुरु गरिएको प्रिस्ट्रेस बिम पुलको काम करिब ३५ प्रतिशत पुरा भइसकेको छ । दिक्तेलबाट हरेक दिन दिउँसो र वातिखुमबाट दैनिक बिहान बस छुट्ने खोटाङ यातायात प्रालिले जनाएको छ । दिक्तेलबाट पञ्चमीबजार–वातिखुम हुँदै खोटेहाङ गाउँपालिका पुग्न सकिन्छ । केही समयपछि दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माको टेम्माटारसम्म पनि बस सेवा सुरु गरिने गाउँपालिका अध्यक्ष राईले बताए ।