मंगलवार, माघ २० २०७७
नेपाल वाइड
खोटाङ । माघ २०, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गर्दै आम्दानी लिने लक्ष्यका साथ एक महिने तालिम सुरु गरेको छ । स्थानीय महिलालाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ नगरपालिकाले ‘गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’ अन्तरगत खोस्टाबाट जुत्ता, चप्पल, लेडिज ह्याण्ड ब्याग, पिरा, ह्याट, पुजाका सामग्री बोक्ने ढाकी लगायतका सामग्री उत्पादन गर्ने तालिम दिन सुरु गरेको हो ।
मकै खोसेलेपछि गाईवस्तुलाई खुवाउनमा उपयोग भइरहेको खोस्टाबाट आकर्षक र उपयोगी सामग्री उत्पादन गर्ने तथा विक्री वितरण गर्दै आम्दानीको दिगो श्रोत बनाउनका लागि हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा आयोजना गरिएको तालिम मंगलबार सोही नगरपालिकाका मेयर इवन राईले उद्घाटन गरेका छन् ।
लघु उद्यम सम्वन्धी ८ दिनको तालिम दिएपछि उनीहरुलाई पुःन खोसेलाको सामग्री बनाउने सीप विकास तालिम दिन सुरु गरिएको हो । दोश्रो चरणमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा मकैको खोसेलाबाट सामग्री निर्माण गर्ने तालिम सञ्चालन गर्ने तयारी गरिएको मेयर राईले बताए । त्रि–धार्मिकस्थल हलेसीमा आउने पर्यटक तथा दर्शनार्थीले हलेसीको चिनोकारुपमा खोस्टाको आकर्षक सामग्री खरिद गरेर लैजाने वातावरण बनाउने लक्ष्यका साथ महिलालाई सोसँग सम्वन्धित तालिम दिन सुरु गरिएको हो ।
खोस्टाबाट निर्माण गरिएका सामग्री छिमेकी देश चिनसम्म निर्यात गर्ने महत्वकांक्षी लक्ष्य राखिएको छ । खोस्टाबाट उत्पादित सामग्रीको मूल्या नगरपालिकाले निर्धारण गर्ने बजारीकरणमा सहयोग गर्ने हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईले बताईन् ।