बिहिवार, माघ २२ २०७७
नेपाल वाइड
खोटाङ । माघ २२, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका महिला वडा सदस्यलाई नेतृत्व बिकास सम्वन्धी तालिम दिइएको छ । स्थानीय तहमा निर्वाचित महिला वडा सदस्य एवं दलित महिला वडा सदस्यको क्षमता अभिवृद्धि गर्दै वडामा प्रभावकारी ढंगले आफ्नो भूमीका निर्वाह गर्न/गराउन सक्षम बनाउने लक्ष्यका साथ ‘सि लिड्स’ परियोजना अन्तर्गत महिला नेतृत्व विकास सम्बन्धी तीन दिने तालिम दिइएको हो ।
स्वीस सरकार विकास नियोग र अस्टे«लियन एडको आर्थिक सहयोगमा दलित महिला केन्द्र नेपालले आईएफईएसको साझेदारीमा सञ्चालन गरेको नेतृत्व बिकास तालिममा हलेसी तुवाचुङ नगरपालिकाको ११ वडाका २० महिला जनप्रतिनिधि र दलित महिला जनप्रतिनिधिको सहभागीता रहेको थियो ।
महिला वडा सदस्य एवं दलित महिला वडा सदस्यलाई आवश्यक सीप र ज्ञान प्रदान गर्दै आ–आफ्नो वडामा प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्न सक्षम बनाउन, उनीहरुको आत्मविश्वास बढाएर राजनीतिक संवादमा सहभागी हुने वातावरण सिर्जना गर्न एबं स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिबिच एकआपसमा अनुभव आदान–प्रदान गर्दै सहयोगी सञ्जाल निर्माण गर्ने उद्धेश्यका साथ महिला नेतृत्व विकास सम्बन्धि तालिमको आयोजना गरिएको हो ।
तालिममा नेतृ दुर्गाजयन्ती राई, देवेन्द्रकुमार राई, लक्ष्मीकुमार राई र मैयाँ राईले सहजीकरण गरेका थिए । तालिममा सहभागी महिला वडा सदस्यले आफ्नो राजनीतिक जीवनमा अघि बढ्नका लागि नेतृत्व बिकास सम्वन्धी तालिम महत्वपूर्ण हुने बताएका छन् । तालिममा सहभागी हलेसी तुवाचुङ नगरपालिकाका–२ डिकुवाकी वडा सदस्य फूलमायाँ विकले सिकेका ज्ञान र सीपलाई व्यवहारमा लागू गरी समाजलाई सफल नेतृत्व प्रदान गर्ने बताईन् । ‘तालिम प्रभावकारी भएको छ ।
यसले हामीलाई केही गर्ने आँट र साहस दिएको छ,’ वडा सदस्य बिकले भनिन्, ‘यस्तो तालिम वडासमितिमा निर्बाचित भए लगत्तै भएको भए हाम्रो क्षमता विकासको लागि र आफ्नो भूमिका निभाउन उपयोगी हुने थियो । जति जानेका छौँ त्यसलाई व्यवहारमा उतार्ने कोसिस गर्ने छौँ ।’
दलित महिला केन्द्र नेपालका कार्यक्रम व्यवस्थापक सञ्चिता महर्जनको अध्यक्षतामा भएको तालिम हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईको प्रमुख आतिथ्यता एवं हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष चईन्द्र राईको विशेष आतिथ्यतामा उद्घाटन गरिएको थियो । मेयर राईले पनि सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतार्दै समाजको सफल नेतृत्व सम्हाल्नका लागि महिला वडा सदस्यलाई शुभकामना दिएका छन् ।