शनिवार, माघ २४ २०७७
नेपाल वाइड
काठमाण्डौ । माघ २४, सिसि क्यामेराको सहायताले चोरी सिकारीमा संलग्न ९ जनालाई बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले गरेको छ । बाँके, दाङ र सल्यान जिल्लामा फैलिएको निकुञ्जभित्र चोरी सिकारी हुन सक्ने आशंकामा निगरानीका लागि कार्यालयले सिसि क्यामेरा जडान गरेको छ । उक्त क्यामेरामा कैद भएका तस्बिरका आधारमा सल्यान कालिमाटी गाउँपालिका वडा नम्बर २ र ३ बाट ७ थान भरुवा बन्दुकसहित ९ जना सिकारीलाई नियन्त्रणमा लिइएको हो ।
अप्रेशन ‘महाहन्ट’ अभियान अन्तर्गत निकुञ्ज र नेपाली सेनाको संयुक्त टोलीले पक्राउ गर्न सफल भएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिए । ‘निकुञ्ज भित्र हुने अवैध कामको निगरानीका लागि हामीले ठाउँ–ठाउँमा सिसि क्यामेरा जडान गरेका छौं, तिनै क्यामेराले कैद गरेको तस्बिरको मद्दतले सिकारीलाई पक्राउ गर्न सफल भएका हौं,’ उनले भने ।
निकुञ्ज क्षेत्रभित्र बन्दुक बोकी आउने जाने गरिएको फोटो प्रमाण एवम् सूचनाका आधारमा सिकारीलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा कालिमाटी गाउँपालिका वडा नम्बर २ निवासी २६ वर्षीय देवप्रसाद थापा, सोही ठाउँका २२ वर्षका धनबहादुर डाँगी, ४१ वर्षीय तिलक डाँगी, ३२ वर्षका टेकबहादुर कुँवर, ५२ वर्षीय कृष्ण थापा, ५१ वर्षीय शोकबहादुर खत्री, २९ वर्षीय कुमार थापा, ५० वर्षका रत्नलाल मगर र वडा नम्बर ३ का ५२ वर्षीय भिमबहादुर खनाल रहेका छन् ।