Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    फोक्सिङटार पुल

    पुल निर्माणमा चरम ढिलासुस्ती, ठेकेदार खोज्दै काठ्माण्डौं पुगे गाउँपालिका अध्यक्ष

    पुल निर्माणमा चरम ढिलासुस्ती, ठेकेदार खोज्दै काठ्माण्डौं पुगे गाउँपालिका अध्यक्ष

    बेलिब्रिज हटाइए पनि तुईन लगाएर पुल निर्माणको कामलाई निरन्तरता दिने प्रतिवद्धता

    • मंगलवार, माघ २७ २०७७

    • नेपाल वाइड


    पुल निर्माणमा चरम ढिलासुस्ती, ठेकेदार खोज्दै काठ्माण्डौं पुगे गाउँपालिका अध्यक्ष
    डिई कैलास शाह र निर्माण व्यवसायी रामकुमार थापालाई एकै ठाउँमा भेला गरेर छलफल गर्दै दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई

    खोटाङ । माघ २६, खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारस्थित सुनकोसी पुलको निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा स्थानीय सरकार प्रमुखले चासो देखाएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसी पुल निर्माणको काममा भइरहेको ढिलासुस्तीका विषयमा दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले चासो देखाएका हुन् ।

    गौरी पार्वती वाईपी जेभीले जिम्मा लिएको ‘आर्क–ब्रिज’ निर्माणको काममा चरम ढिलासुस्ती भएको व्यापक जनगुनासो आएपछि गत माघ २४ गते स्थलगत निरिक्षण गरेको गाउँपालिका अध्यक्ष राई ठेकेदार खोज्दै काठ्माण्डौं पुगेका छन् । दिक्तेलबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका हुँदै उदयपुर पुग्ने गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने तथा खोटाङलाई पुर्वीशहरसँग जोड्ने पुल निर्माणमा ढिलासुस्ती भएकाले चासो देखाउनु परेको गाउँपालिका अध्यक्ष राईले बताए ।

    Pul photo 2.jpg

    सुनकोसीको फोक्सिङटारमा निर्माणाधिन आर्क डिलाईनको पुल 

    पुल निर्माणको कामलाई द्रुतगतिमा अघि बढाउने वातावरण बनाउनका लागि दवाव सिर्जना गर्ने प्रयास स्वरुप गाउँपालिका अध्यक्षले सोमबार सडक बिभाग पुल योजना पुर्वी क्षेत्र सेक्टर नम्बर १ का डिई कैलास शाह र निर्माण व्यवसायी रामकुमार थापालाई एक ठाउँमा भेला गरेर छलफल गराएका छन् । छलफलमा निर्माण व्यवसायी थापाले आगामी फागुन १० गतेभित्र बिम र स्ल्याव ढलान गर्ने, वर्षा याम सुरु भएपछि बेलिब्रिज हटाइए पनि तुईन लगाएर पुल निर्माणको कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको अध्यक्ष राईले बताए ।

    ‘हामी खोटाङगेको सुख र सम्वृद्धि यो फोक्सिङटारको पुलले रोकेको छ । हामीलाई प्राकृतिक नाकाबन्दी लगाउने यही सुनकोसी हो । यो गतिको पुल निर्माणले अझै खोटाङबासी नागरिकले दुःखमा बस्नु पर्ने देखिएको छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘त्यसैले सम्बन्धित निर्माण कम्पनी र ठेक्का खुलाउने कार्यलयले यो पुल छिटो निर्माण गरोस् । हाम्रो सुख र खुसी खोस्ने अधिकार कसैलाई छैन ।’ गाउँपालिका अध्यक्ष राईकै कारण पुलसँग सम्वधित डिई र निर्माण व्यबसायीबिचमा झन्डै १० महिना पछि भेट हुन पुगेको छ ।

    पुल निर्माणको काममा आगामी दिनमा निरन्तर दबाब र निगरानी राख्ने गाउँपालिका अध्यक्ष राईले बताए । अध्यक्ष राईका अनुसार पुलको बाँकी कामका विषयमा सडक बिभागमै छलफलको तयारी भइरहेको छ । कोभिड–१९ को महामारीका कारण काममा अवरोध पुगेको भन्दै जोगिएको निर्माण व्यवसायीले महामारी सामान्य बनिसक्दा समेत पुलको कामलाई सन्तोषजनक गति दिन सकेको छैन । भेटमा डिई शाहले लकडाउन अगाडिदेखि निर्माण व्यवसायी थापा सम्पर्कमा नरहेको बताएको अध्यक्ष राईले बताए ।

    खोटाङलाई पुर्वी शहरसँग जोड्ने पुलको पहिलोपल्ट थप भएको म्याद पुस १३ गते नै सकिइसकेको छ । सार्वजनिक खरिद (नवौं संशोधन) नियमावली अन्तरगत सो पुलको पहिलोपल्ट म्याद थप भएको थियो । कोभिड–१९ को महामारीका कारण पुल निर्माणको काम ६ महिना थप हुने जनाइएको छ ।

    Pul Photo.jpg

    सुनकोसीको फोक्सिङटारमा निर्माणाधिन आर्क डिलाईनको पुल तस्बिरहरु सौजन्य : भुपेन्द्र राईको फेसवुकवालबाट

    सम्बन्धित समाचार