मंगलवार, माघ २७ २०७७
नेपाल वाइड
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका आप्रवासी कामदारले बैदेसिक रोजगारीमा भइरहेको ठगी रोक्न माग गरेका छन् । आप्रवासी कामदार हकहित संरक्षण केन्द्रमा आवद्ध आप्रवासी कामदारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभाग समक्ष ज्ञापन–पत्र पठाउँदै बैदेशिक रोजगारीमा भइरहेको बेतिथि रोक्न र बैदेशिक रोजगार ब्यवसायीबाट रहेको ठगी धन्दालाई रोक्न माग गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मामार्फत पठाइएको ज्ञापन–पत्रमा आप्रवासी कामदारले बैदेशिक रोजगारीका क्रममा मेनपावरहरुबाट भइरहेको ठगीलाई नियन्त्रण गर्न विभागले द्रुत गतिमा सघन अनुगमन गरि कडा कारवाही गर्नुपर्ने, फ्री–भिषा, फ्री–टिकट पुर्णरुपमा कार्यन्वयन गर्नुपर्ने, बिमा कम्पनीले मृतक परिवारलाई प्रदान गर्ने बिमित रकम भुक्तानी दिने क्रममा ईच्छाबिपरित सबै प्रिमियम एकै पटकमा असुल गरी ५ लाख सम्मका बीमा गराइरहेकोले यसरी बीमाको नाममा ठगी गर्ने काम अबिलम्ब बन्द गर्नुपर्ने लगायतका ६ बुँदे माग राखेका छन् ।
यस्तै, कोभिड–१९ तथा अन्य कारणले बैदेशिक रोजगारीमा अलपत्र परेका कामदारलाई अबिलम्ब उद्धार गर्नुपर्ने, बिदेशबाट मृतकको शव तदारुकताका साथ ल्याउनु पर्ने, बैदेशिक रोजगारीबाट फर्किएका आप्रवाशी कामदारहरुका लागि रोजगारी सिर्जना गर्न सरकारले ब्यवस्था गरेको बित्तिय सहुलियत बिनाधितो उपलव्ध हुनुपर्ने माग राखिएको आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका नगरस्तरीय समितिका अध्यक्ष प्रेमकुमार श्रेष्ठले बताए ।