बुधवार, माघ २८ २०७७
नेपाल वाइड
काठमाडौँ । मुलुकमा फेरि पश्चिमी वायुको प्रभाव सुरू भएको छ । पश्चिमी वायुकै प्रभावले शुक्रबारसम्म वर्षा र हिमपातको पूर्वानुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं १ र बागमती प्रदेशमा आंशिकदेखि समान्य बदलीको अवस्था रहेको छ ।
मौसममा भएको बदलावसँगै दिउँसो र राति मुलुकका अधिकांश पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको जनाइएको छ । आकाश राम्रो नखुल्दा काठमाडौँ उपत्यकामा धुम्म देखिएको छ । तराईका अधिकांश क्षेत्रमा हुस्सु लागेको छ ।
आज बिहान साढे ६ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम ६.५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाका मौसमविद् निराजन सापकोटाले जानकारी दिए । उच्चपहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भू-भागमा विहानपख हुस्सु/कुहिरो लागिरहँने र चिसो अझै रहिरहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।
माघ २८ गते (बुधबार) दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । राति : बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश-२ र प्रदेश-१ मा आँशिक देखि सामान्य बदली रही वाँकी भुभागहरुमा आँशिक बदली रहनेछ ।
बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश-१ का पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । मध्य तथा पूर्वी उच्चपहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
माघ २९ गते (बिहिबार) दिउँसो : पहाडी भुभागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । राति : सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश-१ मा आंशिक बदली रही प्रदेश-२ मा मौसम सामान्यतया सफा रहनेछ ।
माघ ३० गते (शुक्रबार) दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ । राति : सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश-१ मा आंशिक बदली रही प्रदेश-२ मा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।