बुधवार, माघ २८ २०७७
नेपाल वाइड
खोटाङ । माघ २८, बराहपोखरी सेवा समाज खोटाङ, काठमाण्डौंले भीरबाट लडेर गम्भीर घाईते भएका युवाको उपचारका लागि ५४ हजारभन्दा बढि आर्थिक सहयोग जुटाएको छ । माघे संक्रान्तीको अवशरमा फुटबल खेलेर घर फर्कनेक्रममा गत माघ १ गते स्थानीय मानेडाँडाको भीरबाट लडेर गम्भीर घाईते भएका बराहपोखरी गाउँपालिका–१ बराहपोखरीका १९ वर्षीय विजय तामाङको उपचारका लागि समाजले शुभेच्छुक र सहयोगीबाट ५४ हजार ५०२ रुपैयाँ रकम संकलन गरेको हो ।
हाल न्यूरो अस्पताल बिराटनगरमा उपचार गराइरहेका विजयको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले बराहपोखरी सेवा समाज खोटाङले ‘विजय तामाङ बचाउ’ अभियान सञ्चालन गरेको थियो । घाईते विजयको उपचारका लागि आवश्यक खर्च जुाउन सुरु गरिएको अभियान मंगलबार समापन गरिएको बराहपोखरी सेवा समाज खोटाङ, काठमाण्डौंका उपाध्यक्ष ईन्द्र लिमेल मगरले बताए ।
विभिन्न व्यक्ती तथा संस्थागरी ३३ दाताबाट विजयको उपचारका लागि सहयोग प्राप्त भएको समाजले जनाएको छ । घाईते विजयको जीवन रक्षाका लागि स्थानीय नरेश राईको संयोजकत्वमा तीन सदस्यीय आर्थिक संकलन सहयोग समिति गठन गरिसकिएको अवस्थामा बराहपोखरी सेवा समाजले पनि उपचार खर्च जुटाउन अभियान चलाएको थियो । राई संयोजकत्वको आर्थिक संकलन सहयोग समितिले पनि एक पटक ३२ हजार २१० रुपैयाँ रकम संकलन गरेर खातामा जम्मा गरिदिएको थियो ।
बेहोस अवस्थामा माघ २ गते बिहान अस्पतालमा पु¥याइएका बिजयको हाल स्वास्थ्यमा सामान्य सुधार आएको छ । १९ दिनसम्म आइसियूमा र एक हप्ता भेन्टीलेटरमा राखेर उपचार गरेपछि सामान्य होस खुलेको साईला दाई सुब्बा तामाङले बताए । भीरबाट करिब डेढ सय मिटर तल खसेका तामाङको देब्रे आँखामाथि र थाप्लोमा गहिरो चोट लागेको थियो । उनको घाँटीमुनि बायाँ करङ पनि भाँचिएको थियो ।