बुधवार, माघ २८ २०७७
नेपाल वाइड
खोटाङ । माघ २८, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माविमा अध्ययनरत कानून संकायका विद्यार्थी समुहले बैतडीकी १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मामार्फत बुधबार गृहमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै कानून संकायका विद्यार्थी समुहले किशोरीको क्रुर, अमानवीय एबं कायरतापूर्ण बलात्कार र हत्यामा संलग्न दोषी पहिचान गरेर कानूनी कठ्घरामा उभ्याउनका लागि ध्यानाकर्षण गराएका हुन् ।
निर्दोष किशोरीको बलात्कार एवं पासविक हत्याको बिरोध, दोषीलाई कडाभन्दा कडा कारबाही तथा पीडितलाई न्यायको मागमा गृहमन्त्रीलाई गुहार्नु परेको कानून संकायका विद्यार्थी समुहले जनाएको छ । ‘गृहमन्त्री ज्यू ! यस प्रकारको क्रुर, अमानवीय एवं कायरतापूर्ण जघन्य कसुरका दोषीलाई अविलम्ब पक्राउ गरी निजहरु उपर अनुसन्धान गरी हदैसम्मको कानूनी कारबाहीको माग गर्दछौँ,’ कानून संकायका विद्यार्थी समुहको ज्ञापन–पत्रमा भनिएको छ, ‘यस घट्नालाई तोडमोड गर्ने, ढाकछोप गर्ने तथा यो वा त्यो बाहनामा दोषीलाई उन्मुक्ती दिने काम भएमा देशभरका विद्यार्थी कडा भन्दा कडा आन्दोलनमा उत्रने जानकारी गराउँदछौँ ।’
कानून संकायका विद्यार्थी समुहका संयोजक कृष्णा आचार्य र सचिव कविता ठटालको हस्ताक्षर रहेको ज्ञापन–पत्रमा जंगलमा बलात्कारपछि हत्या गरेर क्षतविक्षत अवस्थामा फालिएको अवस्थामा भट्टको शव फेला परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । दोगडाकेदार गाउँपालिका–७ निवासी सनातन धर्म माबिमा कक्षा १२ मा अध्ययतरत भागरथीको माघ २१ गते बलात्कार पछि हत्या गरिएको अवस्थामा घर नजिकैको जंगलमा शव फेला परेको थियो । विद्यार्थी समुहले क्रुरतापुर्वक हत्या गरिएका भागरथीको परिवारलाई उचित क्षतिपुर्ति उपलव्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
भागरथीको बलात्कार पछिको हत्याकाण्डलाई लिएर सरकारले चाल्ने कदम र गर्ने निर्णयलाई देशको सम्पूर्ण विद्यार्थीले नियलीरहेको विद्यार्थी समुहले जनाएको छ । किशोरीको बलात्कारपछि हत्या भएको घट्नामा सरकारले चाल्ने कदमले उत्पीडित महिला समुदायलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार छर्लङ्ग हुने ज्ञापन–पत्रमा उल्लेख छ । घट्नाको घोर निन्दा र भत्र्सना गर्दै विद्यार्थी समुहले पिडितको न्यायका लागि हाल भइरहेका विरोध तथा संघर्षप्रति ऐक्यवद्धता जाहेर गरेको छ ।