बुधवार, माघ २८ २०७७
नेपाल वाइड
खोटाङ । माघ २८, जीवनोपयोगी तालिममा सहभागी हुने तर व्यवहारमा नउतार्ने आम प्रवृत्ति छ । तर खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्ककी किशोरी कविता वनले भने सेनीटरी प्याड बनाउने तालिम मात्र लिईनन्, गाउँमा फर्केर सेनीटरी प्याड बनाउने सिप बाँड्ने अभियान नै थालेकी छन् । वातावरणीय कृषि तथा विकास केन्द्र (केड)को आर्थिक सहयोगमा ग्रामिण युवा शसक्तीकरण तथा अनुसन्धान केन्द्र राखाबांदेलले ऐसेलुखर्कमा गत माघ १२ गते सञ्चालन गरेको ‘लाईफ स्कील’ तालिम अन्तरगत सेनीटरी प्याड बनाउने तालिम लिएकी कविताले गाउँका ७५ जनाभन्दा बढि किशोरी र महिलालाई प्याड बनाउने सीप सिकाइसकेकी छन् ।
‘लाईफ स्कील’ तालिम अन्तरगत सेनीटरी प्याड बनाउने सीप सिकेकी १६ वर्षीय कविताले पहिलो चरणमा रैकर टोल (आफ्नै गाउँ)का दिदि, आमा देखि हजुरआमा उमेर समुहका २५ महिलालाई र दोश्रो चरणमा ५० जना किशोरीलाई प्याड बनाउने तालिम दिइसकेकी छन् । नरम कपडाबाट सियो धागोकै भरमा प्याड बनाउन सिपालु कविता त्रिभुवन मावि ऐसेलुखर्कमा कक्षा १२ मा अध्ययनरत छिन् । घरेलु प्याड बनाउने तालिम पाउँदा उनका साथीसंगी दंग छन् । उनले आफैले भेला गरेर प्याड बनाउने तालिम सञ्चालन गर्नुअघि आफ्ना अन्य साथीसंगीलाई पनि प्याड बनाउन सिकाइसकेकी थिईन् ।
अरुलाई प्याड बनाउने सीप बाँडेर उत्साहित देखिएका कविताले क्रमशः ऐसेलुखर्क गाउँपालिकाका ७ वडाका ८ माविमा पुगेर किशोरीलाई घरैमा प्याड बनाएर प्रयोग गर्न सिकाउने लक्ष्य राखेकी छन् । त्रिभुवन माविमा कक्षा ११ र १२ मा अध्ययनरत किशोरीलाई पनि प्याड उत्पादन सम्वन्धी तालिम दिने उनको लक्ष्य छ । गाउँघरमा महिनावारीको समयमा सेनीटरी प्याडको प्रयोग कमै हुन्छन् । महिनावारीका समयमा गाउँघरमा महिलाले चाहेर पनि सेनीटरी प्याड प्रयोग गर्ने अवस्था हुन्न । प्याडको सहज प्रयोगको अभावमा गाउँघरमा महिलाको दिनचर्य असहज हुने गरेको तथ्यलाई ध्यानमा राखेर कविताले आफुले सिकेको सीप बाँड्न सुरु गरेकी हुन् ।

कविताले सुती, कटन जस्ता नरम खालको कपडाबाट सियो र धागोले सिलाएरै प्याड तयार पार्न सिकाउने गरेकी छन् । पुनः प्रयोग गर्न मिल्ने घरेलु प्याड तयार पार्ने तालिम लिएकी उनले छोटो समयमै ‘प्याड बनाउने अब्बल गुरुमा’को दर्जा पाइसकेकी छन् । एक वर्षसम्म पुःन प्रयोग गर्न सकिने भएकाले घरमा तयार पारिएको प्याड महिलाका लागि उपयोग हुने कविता बताउँछिन् ।
बजारमा प्याड किन्दा महंगो पर्ने र एक पटक प्रयोग गरेर फाल्नु पर्ने हुन्छ तर घरमा उत्पादन गरिएको प्याडलाई राम्ररी सफा गर्दै पुःन प्रयोगमा ल्याउन सकिने भएकाले उपयोगी हुने दावी गरिएको छ । कम खर्चमै प्याड बनाउन सकिने र प्याड किन्नमा हुने खर्च जोगिने भएकाले ग्रामिण क्षेत्रका महिलाका लागि घरेलु प्याड उपयोगी हुने कविता बताउँछिन् । ‘बजारमा सेनीटरी प्याड किन्दा महंगो पर्छ, एक पटक प्रयोग गरेपछि फाल्नुपर्ने हुन्छ,’ कविताले भनिन्, ‘नरम कपडाबाट प्याड बनाउन सकियो भने खर्च कम हुन्छ । प्याड किन्ने पैसा बचत हुन्छ । सँधै बजारको प्याड किनेर प्रयोग गर्न सक्ने अवस्था पनि हुँदैन । त्यस कारण घरेलु प्याड महिलाका लागि उपयोगी हुन्छ ।’
स्कुल अफ डेमोक्रेसी शाखा खोटाङको सदस्य समेत रहेकी कविताबाट प्याड बनाउने सीप सिकेर फर्किएका महिलाले ‘धन्यावाद’ भन्न थालेका छन् । कतिपयले महिनावारीका बेला सहज भएको भन्दै भेटेर खुसी व्यक्त गर्न थालेका छन् । ‘सकेसम्म गाउँपालिकाभरीका सबै महिलालाई प्याड बनाउने सिकाउने लक्ष्य छ । कम्तीमा गाउँपालिकाभरीका आठ माविमा पुगेर प्याड बनाउन सिकाउने योजना छ,’ उनले भनिन्, ‘प्याड बनाएर प्रयोग गर्ने आमा दिदिहरुले दिनचर्य सहज भयो भनेर खुसी व्यक्त गरिरहेका छन् । भेटेकाबेला साथीसंगीले पनि राम्रो रेस्पोन्स गरिरहनु भएको छ । यसले अरु काम गर्न उत्साह थपेको छ ।’