बिहिवार, माघ २९ २०७७
नेपाल वाइड
खोटाङ । माघ २९, खोटाङको खोटेहाङ गाउँपालिकाले गत आर्थिक वर्षको पुरक (मौज्दात) बजेट बाँडफाँड गरेको छ । गाउँपालिकाको बिहिबार सम्पन्न आठौं गाउँसभाले आर्थिक वर्ष २०७६/०७७ मा कारोबार गरेर बाँकी सरेर आएको ३ करोड ७ लाख बजेट बाँडफाँड गरेको हो । गाउँसभाले खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी, खोटेहाङ गाउँपालिका–२ वाप्लुखा र खोटेहाङ गाउँपालिका–३ सावाकटहरेमा विद्युतीकरणका लागि एक करोड, रसुवा–बाघेढुंगा सडकको स्तरोन्नती (नाली र ग्राभेलिङ)का लागि एक करोड, कृषितर्फ बाँझो जग्गामा फलफुल खेती प्रवद्र्धन कार्यक्रम अन्तरगत चिस्यान केन्द्र निर्माणकालागि डिपिआर तयार पार्न १८ लाख, न्यायीक समितिको सचिवालय व्यवस्थापनका लागि १८ लाख बजेट बिनियोजन सहित पास गरेको छ ।
यस्तै, आर्थिक वर्ष २०७७/०७८ का लागि २५ लाख बिनियोजन गरिएको विपद व्यवस्थापनमा १४ लाख थप, टोटल स्टेसन मेसिन (सर्भे तथा डिजाईन उपकरण) खरिदमा १२ लाख, २० लाख बिनियोजन गरिएको औषधि र स्वास्थ्य सामग्री खरिदमा १० लाख, स्थानीय पाठ्यक्रम छपाईमा ८ लाख, सोलढुंगा पर्यटन प्रवद्र्धनका लागि ६ लाख, खोटाङबजार र सिमपानी बजारमा सिसि क्यामेरा जडानका लागि ५ लाख बिनियोजन गरिएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।
नगद मौज्दात रकमबाट गाउँसभाले ३ लाख बिनियोजन गरिएको खेलकुदमा ५ लाख, राजस्व सुधार योजना निर्माणका लागि ३ लाख, टोल बिकास संस्था गठन र शसक्तीकरणमा ३ लाख, शिक्षक दरबन्दी मिलान अध्ययनका लागि २ लाख, राजपत्र प्रकाशनका लागि २ लाख र क्लाम्पिङ मेसिन तथा इथरनेट खरिदका लागि १ लाख बजेट छुट्याएको छ ।
गाउँपालिकाका अनुशार चालु आर्थिक वर्ष कृषि कार्यक्रमका लागि ८० लाख बिनियोजन गरिएकामा बाँझो जग्गामा फलफुल खेती प्रवद्र्धन कार्यक्रम अन्तरगत चिस्यान केन्द्र निर्माणका लागि डिपिआर तयार पार्न थप रकम व्यवस्था गरिएको हो । यस्तै, तीन वडामा एक करोड बिनियोजन गरेर विद्यूतीकरणको काम भइरहेको अवस्थामा पुःन पुरक बजेटबाट एक करोड नै थप गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।
गाउँसभाले गाउँपालिकाका उपाध्यक्ष कविता राईले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/०७८ को अर्धवार्षिक समिक्षा तथा पुरक बजेट स्वीकृत गरेको छ । यस्तै, विनियोजन विधेयक र आर्थिक विधेयक २०७७ संशोधन सहित पारित गरिएको छ । शिक्षा ऐन २०७४ पहिलो संशोधन बिधेयक पनि स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष राईले बताए ।