शनिवार, फाल्गुण १ २०७७
नेपाल वाइड
खोटाङ । फागुन १, खोटाङको रावाबेँसी गाउँपालिकामा पाँचौं बर्थिङ सेन्टर स्थापना गरिएको छ । रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा नयाँ भवन निर्माण गरेर बर्थिङ सेन्टर सेवा सुरु गरिएको हो । वनहर्ट वल्डवाईड नामक संस्था र गाउँपालिकाको सहकार्यमा भवन निर्माण गरेर स्थापना गरिएको बर्थिङ सेन्टर शुक्रबार रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले उद्घाटन गरेका छन् ।
वनहर्टको ६२.३ प्रतिशत र गाउँपालिकाको ३७.७ प्रतिशत गरी १७ लाखमा चार कोठे भवन निर्माण गरेर बर्थिङ सेन्टर स्थापना गरिएको हो । बर्थिङ सेन्टरका लागि सुत्केरी गराउने, स्वास्थ्यकर्मी बस्ने, वेटिङमा बस्ने र हल सहितको चार कोठे भवन निर्माण गरिएको हो । नयाँ भवन, बर्थिङ सेन्टरका लागि आवश्यक उपकरण, जनशक्ती एवं औषधिको व्यवस्था गरेर बर्थिङ सेन्टर स्थापना गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए । वनहर्टले सुत्केरी गराउनका लागि उपयोग हुने बेडदेखि अन्य आवश्यक उपकरण उपलव्ध गराएको छ ।
डुम्रेधारापानीका वडाध्यक्ष ज्ञानुराज पाण्डेको अध्यक्षतामा बर्थिङ सेन्टर उद्घाटन गरिएको हो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष समला राई, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देल लगायतको उपस्थिति रहेको थियो । ६ वडा रहेको गाउँपालिकामा अव रावाबेँसी गाउँपालिका–५ दुबेकोलमा मात्र बर्थिङ सेन्टर स्थापना गर्न बाँकी छ ।