Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    दुधकोसीको पानी लिफ्टिङ

    स्थानीयको पहलमा नदीको पानी गाउँमा निकालियो

    स्थानीयको पहलमा नदीको पानी गाउँमा निकालियो

    काकाकुल ठाउँमा नदीको पानी निस्कँदा स्थानीयलाई केही राहत

    • बिहिवार, फाल्गुण ६ २०७७

    • नेपाल वाइड


    स्थानीयको पहलमा नदीको पानी गाउँमा निकालियो
    दुधकोसीबाट कदुवामा निकालिएको पानी भदैै स्थानीय 

    खोटाङ । फागुन ६, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा कदुवाका स्थानीयले दुधकोसीको पानी लिफ्टिङ गरेर गाउँमा निकालेका छन् । घरायसी प्रयोजनदेखि कागती खेती, बाख्रा तथा कुखुरा पालनका लागि आवश्यक पानीको व्यवस्थापनका लागि स्थानीयले दुधकोसीको पानी करिब १ हजार ७९० मिटरमाथि रहेको थामडाँडामा निकालिएको हो । दुधकोसीको सान्ने दोभानबाट २० किलोवाट क्षमताको सोलार प्रयोग गरेर गाउँमा पानी निकालिएको उपभोक्ता समितिका कोषाध्यक्ष चन्द्रबहादुर कार्कीले बताए ।

    नदीको पानी ७२५ मिटर माथि निर्माण गरिएको पहिलो पोखरीमा जम्मा गरेर पुःन त्यहाँबाट तानेर थामडाँडाको दोश्रो पोखरीमा निकालिएको छ । नदीको पानी गाउँमा निकाल्नका लागि सर्वोच्च अदालतमा कार्यरत वकिल जगतबहादुर कार्कीको प्रमुख योगदान रहेको उपभोक्ता समितिका कोषाध्यक्ष कार्कीले बताए ।

    विशेषगरी प्रल्हाद कार्की र तिलक कार्कीको कुखुरा फर्म, कमल कार्कीको बाख्रा फर्म र चन्द्र कार्कीको कागतीको खेतीका लागि आवश्यक सिँचाईको व्यवस्थापनका लागि दुधकोसीको पानी तान्ने बिकल्प अघि सारिएको हो । सुक्खाग्रस्त क्षेत्रकारुपमा रहेको कदुवामा पानी ल्याउने कुनै श्रोतको बिकल्प नभएकाले नदीको पानी निकालिएको स्थानीय फौदसिं कार्कीले बताए ।

    गाउँमा निकालिएको पानी कदुवाका स्थानीयले पिउनका लागि समेत उपयोग गरिरहेका छन् । गत माघ २९ गतेदेखि बिहान साँढे ९ बजेदेखि दिउँसो ३ बजेसम्म प्रतिघण्टा चार हजारका दरले लिटर पानी गाउँमा निकाल्ने गरिएको छ । उपभोक्ता समितिका अध्यक्ष निरकुमार कार्की, उपाध्यक्ष कमलबहादुर कार्की, सचिव तिलक कार्की, कोषाध्यक्ष चन्द्रबहादुर कार्की, सदस्य प्रल्हाद कार्की, बिदुर कार्की, सन्तोष प्रधान लगायतको करिब ४५ लाखको खर्चमा गाउँमा पानी निकालिएको हो । लिफ्टिङ योजनाको ट्यांकी निर्माण लगायतका कतिपय काम अझै बाँकी नै छन् ।

    lifting at kaduwa photo_khotang.jpg

    बाहुनीडाँडा कदुवाका स्थानीयले दुधकोसीको पानी लिफ्टिङ गरेर गाउँमा निकालेपछि

    नेपाल उर्जा बिकासले लिफ्टिङ योजनाको सोलार जडान, पम्प जडान लगायतका कामको जिम्मा लिएको हो । २५–३० लाखमा लिफ्टिङको काम पूरा गर्ने योजना बनाइए पनि अनुमान गरिए भन्दा बढि खर्च भएको कोषाध्यक्ष कार्कीले बताए । लिफ्टिङ योजना सफल बनाउनका लागि कदुवाका करिब ८० घर स्थानीयले श्रमदान गरेका छ्न । श्रमदान गरेवापत उनीहरुले हाल नदीको पानी उपयोग गर्ने अवशर पाएका छन् । लिफ्टिङ गरिएको पानी स्थानीय मालिकादेबी माबिलाई पनि उपलव्ध गराइएको छ । ‘अहिले गाउँमा सिँचाई पनि भएको छ ।

    गाउँलेले पनि पानी उपयोग गर्न पाएका छन्,’ कोषाध्यक्ष कार्कीले भने, ‘अहिले एक घण्टामा कम्तीमा चार हजार लिटर पानी गाउँमा निस्किरहेको छ । योजनाका लागि गाउँलेले श्रमदान गरेर सहयोग गरे, अहिले हामीले पानी दिएर सहयोग गरिरहेका छौँ ।’ काकाकुल ठाउँमा नदीको पानी निस्कँदा स्थानीयलाई केही राहत मिलेको छ । हलेसी तुवाचुङ नगरपालिकामा दुधकोसीको पानी निकाल्नका लागि हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको काम भइरहेको अवस्थामा कदुवाका स्थानीयले आफ्नै पहलमा नदीको पानी निकालेका हुन् ।

    सम्बन्धित समाचार