शनिवार, फाल्गुण ८ २०७७
नेपाल वाइड
खोटाङ । फागुन ८, खोटाङको केपिलासगढी गाउँपालिकाको बाक्सिलामा दुई दिने निःशुल्क स्वास्थ्य शिबिर सुरु गरिएको छ । स्वास्थ्यको पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणलाई लक्ष्यीत गर्दै जनसेवा समाज नेपाल जालपा र डिटुएन फाउण्डेसन अमेरिकाको साझेदारीमा सञ्चालित कोरोना सहायता परियोजनाले जनसेवा सामुदायीक अस्पताल जालपासँगको सह–आयोजनामा विशेषज्ञ सहितको स्वास्थ्य शिबिर सुरु गरेको हो । विशेषज्ञ डाक्टर सहितको शिबिरको पहिलो दिन १४४ जनाको स्वास्थ्य जाँच तथा उपचार गरिएको कोरोना सहायता परियोजनाका कार्यक्रम संयोजक उमेत राईले जानकारी दिए ।
शनिबार सुरु गरिएको स्वास्थ्य शिबिरमा पाठेघरको क्यान्सरको अवस्थाका बारेमा थाहा पाउन १० जनाको सर्भाइकल टेष्ट, १८ जनाको भिडियो एक्स–रे, एक सय जनाभन्दा बढिको आँखा जाँच, ३२ जनाको ३६ वटा दाँत फुकालिएको, १० जनालाई निःशुल्क चस्मा वितरण गरिएको, विभिन्न रोगका १७ जना विरामी बालबालिकाको चेकजाँच गरिएको छ । शिबिरमा आँखाको शल्यक्रीया गर्नुपर्ने ७ जना बिरामीको पहिचान भएको कार्यक्रम संयोजक राईले बताए । स्वास्थ्य शिबिर गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले उद्घाटन गरेका थिए ।

दूरदराजमा रहेका सर्वसाधारणको स्वास्थ्य उपचारलाई ध्यानमा राखेर जनसेवा अस्पतालले सुरु गरेको अभियान अन्तरगत बाक्सिलामा निःशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको हो । स्वास्थ्य शिबिरमा २५ वर्षदेखि ४० वर्षसम्मका महिलाको पाठेघरको क्यान्सरको अवस्था थाहा पाउन सर्भाइकल टेस्ट, दाँत, आँखा, भिडियो एक्स–रे, सामान्य चेकजाँच, ज्येष्ठ नागरिक, अपाङ्ग, महिला तथा वालवालिकाको स्वास्थ्य परिक्षणको व्यवस्था मिलाइएको छ ।
गत बुधबार र बिहिबार ऐसेलुखर्कको ऐसेलुखर्कबजारमा दुई दिने स्वास्थ्य शिबिर सञ्चालन गरिएको थियो । शिबिरमा एक जना एमडिजिपी, दुई जना मेडिकल अफिसर, एक जना बालरोग विशेषज्ञ, एक जना दन्तरोग विशेषज्ञ गरी १४ जना स्वास्थ्यकर्मी टोलीले उपचार सेवा दिइरहेका जनसेवा सामुदायीक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताए ।

जिल्लाको पुर्वी–उत्तरी क्षेत्रका स्थानीयको स्वास्थ्य सेवामा सहज, सुलभ र समान पहुँच बिस्तार गर्ने उद्धेश्यका साथ २०६९ सालमा स्थापित जनसेवा सामुदायिक अस्पतालले क्रमशः फागुन ११ र १२ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पाथेका, फागुन १४ र १५ गते रावाबेँसी गाँउपालिकाको हरमटारमा र फागुन १६ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपा स्वास्थ्य शिबिरको तयारी गरेको छ ।