सोमवार, फाल्गुण १० २०७७
नेपाल वाइड
खोटाङ । फागुन १०, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ गाउँमै सम्मानित भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा जन्मिएर समाजको उन्नती, प्रगती र देशकै लागि राजनैतिक क्षेत्रबाट पुर्याएको योगदानको उच्च कदर गर्दै वडा कार्यालयले जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङलाई सम्मान गरेको हो ।
वडा कार्यालय र स्थानीय नमुना स्पोर्टस क्लवको आयोजनामा लफ्याङमा सोमबार सुरु भएको मझुवागढी रणजितमान राई अन्तर वडा स्तरीय पुरुष प्रथम च्यालेञ्ज कप फुटवल प्रतियोगिता उद्घाटनको अवशरमा जिसस प्रमुख चाम्लिङलाई सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिकारुपमा प्रदेशसभा सांसद रामकुमार राई पासाङ र वडाध्यक्ष निर्मल राईले चाम्लिङलाई दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरेका छन् । राजनैतिक क्षेत्रबाट समाज र राष्ट्रलाई इमान्दारीताका साथ पुर्याएको योगदानको कदर स्वरुप जिसस प्रमुख चाम्लिङलाई सम्मान गरिएको वडाध्यक्ष राईले बताए ।
विद्यार्थी कालमा यूनियन हुँदै अनेरास्वबियु एकताको पाँचौंमार्फत तत्कालिन नेकपा मालेको राजनिती सुरु गरेका चाम्लिङ २०४४ सालदेखि २०४७ सालसम्म जेल परेका थिए । पञ्चायत व्यवस्था बिरुद्ध लागेकोमा राजनैतिक मुद्धा लगाएर जेलमा पुर्याइएका चाम्लिङ २०४६ सालको ऐतिहासिक जनआन्दोलनले निरंकुस पञ्चायती व्यवस्था ढलेसँगै राजबन्दी रिहाइ गर्नेक्रममा २०४७ साल जेठमा जेल मुक्त भएका थिए ।
जेलबाट रिहाई भए लगत्तै प्ररायु संघको खोटाङ संयोजक, २०४८ सालमा प्ररायु संघको केन्द्रीय सदस्य, २०४८ सालमा सम्पन्न नेकपा एमालेको पहिलो जिल्ला अधिबेसनबाट सचिवालय सदस्य, २०६४ सालको अधिबेसनबाट उप–सचिव, २०६५ सालमा उपाध्यक्ष, २०७० सालमा अध्यक्ष तथा २०७२ सालमा सम्पन्न एमालेको छैठौं जिल्ला अधिबेसनबाट पुःन अध्यक्षको भूमीका पाएका थिए । तर, स्थानीय तहको निर्वाचन लगत्तै जिल्ला समन्वय समितिको प्रमुख भूमीका पाएपछि उनले पार्टी अध्यक्ष त्याग गरेका थिए । हाल उनी नेकपाका प्रदेश कमिटि सदस्य पनि छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा मझुवागढी रणजितमान राई खेलमैदान निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्ने चार जना जग्गादातालाई सम्मान गरिएको छ । मझुवागढी रणजितमान राई अन्तर वडा स्तरीय पुरुष प्रथम च्यालेञ्ज कप फुटवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा सोमबार वडा कार्यालयले जग्गादाता पञ्चसेर राई, हर्कराज राई, बालाचन्द्र राई र सर्वजित राईलाई सम्मान गरेको हो ।

जग्गादातालाई प्रदेशसभा सांसद रामकुमार राई, जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ लगायतले दोसल्ला ओढाएर कदर–पत्र प्रदान गरेका थिए । खेलमैदान निर्माणका लागि करिब ३० रोपनी जग्गा निःशुल्क प्रदान गरेकामा जग्गादातालाई सम्मान गरिएको वडाध्यक्ष निर्मल राईले बताए ।
खेल मैदान २०७६ साल जेठ ७ गते खेलमैदान शिलान्यास गरिएको थियो । दिक्तेल–खोटाङबजार सडक खण्डमा पर्ने भएकाले खेलमैदानबाट साकेला गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका लगायतका खेलाडी समेत लाभान्वित हुने आर्थिक संकलन सहयोग समितिका अध्यक्ष राजेन्द्र राईले बताए ।