Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    छात्रामाथि कुटपिट गर्ने प्रअ प्रहरी नियन्त्रणमा

    छात्रामाथि कुटपिट गर्ने प्रअ प्रहरी नियन्त्रणमा


    • मंगलवार, फाल्गुण ११ २०७७

    • नेपाल वाइड


    छात्रामाथि कुटपिट गर्ने प्रअ प्रहरी नियन्त्रणमा
    प्रतिकात्मक तस्बिर

    कञ्चनपुर । भीमदत्त नगरपालिका–९, मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टको कुटाइबाट एक छात्रा घाइते भएकी छन् । कक्षा–९ मा अध्ययनरत् छात्रा मनिका नाथलाई प्रधानाध्यापक विष्टले सोमबार कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते भएकी छात्रा नाथलाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिए पनि अवस्था जटिल भएका कारण थप उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ ।

    छात्रा नाथको टाउकामा चोट लागेको छ । छात्राका बुवा पदम नाथले विद्यालय गएकी छोरीमाथि प्रधानाध्यापक विष्टले कुटपिट गरी घाइते बनाएको बताए । ‘‘छोरी विद्यालय गएकी थिइन्,’’ उनले भने, ‘‘घर आउँदा बेहोस भइन् । अस्पताल ल्याएका छौँ, टाउकामा चोट लागेको छ ।’’ छात्रामाथि कुटपिट गर्ने प्रधानाध्यापक विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले छात्रामाथि कुटपिट गरेका प्रअलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको बताए । घटनाबारे विद्यार्थी संघ–संगठन, महिला अधिकारकर्मीले विरोध जनाएका छन् । उनीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग अघि सारेका छन् ।

    अनेरास्ववियू कञ्चनपुरका नेता रमेश पन्तले घटना दुःखद् भएको भन्दै प्रअमाथि कारबाहीको माग गरे । महिला अधिकारकर्मी शारदा चन्द, मीना भण्डारी र निर्मला भट्टसहितका अधिकारकर्मीले महिला, बालबालिकामाथि भइरहेका घटनाको भर्त्सना गर्दै दोषीउपर कारबाहीको माग गरेका छन् । रासस

    सम्बन्धित समाचार