Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    यातायात

    पर्यटक बसले अन्य यात्रु बोकेको भन्दै यातायात व्यवसायीको ध्यानाकर्षण

    पर्यटक बसले अन्य यात्रु बोकेको भन्दै यातायात व्यवसायीको ध्यानाकर्षण

    नियमाअनुसार यात्रु ओसार–पसार गर्ने व्यवस्थाका लागि आग्रह

    • बुधवार, फाल्गुण १२ २०७७

    • नेपाल वाइड


    पर्यटक बसले अन्य यात्रु बोकेको भन्दै यातायात व्यवसायीको ध्यानाकर्षण
    पर्यटक बसले अन्य यात्रु बोकेको भन्दै प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मालाई ज्ञापन–पत्र बुझाउँदै यातायात व्यवसायी

    खोटाङ । फागुन १२, पर्यटक बस सेवा सुरु गरेको देश दर्शन बस सेवाले जथाभावी यात्रु ओसार–पसार गरेको भन्दै खोटाङका यातायात व्यवसायी विरोधमा उत्रिएका छन् । गत फागुन ३ गतेदेखि खोटाङ–काठ्माण्डौं पर्यटक बस सेवा सुरु गरेको देश दर्शन बस सेवाले नियम विपरित यात्रु ओसार–पसार गरेको भन्दै खोटाङ यातायात प्रालि, गणेश हिमाल तराई यातायात प्रालि, सुन्दर सगरमाथा यातायात प्रालि र फिक्कल मध्य पहाडी यातायात प्रालिले विरोध जनाएको हो ।

    गत फागुन ९ गते बसेको यातायात व्यवसायीको संयुक्त बैठकको निर्णय अनुशार बुधबार प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मालाई ध्यानाकर्षण–पत्र बुझाउँदै नियमाअनुसार यात्रु ओसार–पसार गर्ने व्यवस्थाका लागि आग्रह गरेका छन् । पर्यटकलाई तोकिएको समयमा हिँडाउने र तोकिएकै समयमा गन्तव्यमा पुर्‍याउने, खाना/खाजा खान एवं आकस्मिक काम बाहेक बिच बाटोमा गाडी नरोक्ने भन्दै सेवा सुरु गरेको देश दर्शन बस सेवाले बिच बाटोबाट यात्रु बोक्ने र अन्य यातायात प्रालिमार्फत टिकट कटाएर यात्रु ओसार–पसार गर्ने गरेको पाइएको ध्यानाकर्षण–पत्रमा उल्लेख छ ।

    देश दर्शन बस सेवाले फागुन १० गते फिक्कल मध्य पहाडी यातायात प्रालिको टिकटमा एक यात्रुलाई काठ्माण्डौंबाट हलेसी पठाएको प्रमाण फेला परेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।

    पर्यटक ओसार–पसार गर्ने पर्यटक बसमा अन्य स्थानीय यात्रुलाई बोक्न नहुने जिल्लाका यातायात व्यवसायीको माग छ । प्रमुख जिल्ला अधिकारी शर्माले पर्यटक बसले बिचबाटोबाट यात्रु बोक्नु पर्यटक बसको कमजोरी र आफ्नो टिकटमा देश दर्शनको टिकट काट्नु अन्य यातायात व्यवसायीको कमजोरी भएको औंल्याएका छन् ।

    त्रि–धार्मिकस्थल हलेसी आउने पर्यटकलाई लक्ष्यीत गर्दै देश दर्शन बस सेवाले दिक्तेल–हलेसी–काठ्माण्डौं पर्यटक बस सेवा सुरु गरेको हो । धार्मिक तथा पर्यटकीयस्थल हलेसीसँगको ‘कनेक्टिभिटी’ स्थापित गर्दै जिल्लाको पर्यटन प्र्रवर्धनमा टेवा पुर्‍याउने लक्ष्यका साथ पर्यटक बस सुरु गरिएको देश दर्शन बस सेवाका अध्यक्ष सिएन पाण्डेले बताए । देश दर्शन बस सेवाले १० औं गन्तव्य स्थानकारुपमा दिक्तेल–काठ्माण्डौं पर्यटक बस सेवा सुरु गरेको हो ।

    सम्बन्धित समाचार