Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क

    सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माण गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

    सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माण गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

    नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसँग सम्झौता

    • बिहिवार, फाल्गुण १३ २०७७

    • नेपाल वाइड


    सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माण गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय

    खोटाङ । फागुन १३, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माणमा जुटेको छ । मासिक ५ देखि ६ लाख राजस्व शुल्क उठाउने श्रोतकारुपमा विकास गर्नेगरी नगरपालिकाले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसँगको साझेदारीमा दिक्तेलको रत्नपार्कमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माणको तयारी थालेको हो ।

    तल्लो तलामा २३ कोठा र माथिल्लो तलामा २३ कोठा हुने सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माणका लागि नगरपालिकाले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसँग सम्झौता गरेको छ । आगामी २०७९ साल फागुन मसान्तसम्ममा ३ करोड ९६ लाखमा पूरा गर्नेगरी सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माण प्रकृया थालिएको हो ।

    सो योजनामा मन्त्रालयको २ करोड ५७ लाख र नगरपालिकाको १ करोड ३९ लाख खर्च हुने सम्झौतामा उल्लेख छ । तल्लो सटरमा कोसेली घर, नगरपालिकाको तरकारी, कृषि उपज संकलन केन्द्र लगायतका स्टल राखेर अन्य कोठा भाडामा दिने लक्ष्य राखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए ।

    माथिल्लो तलाका सटरमा मःम, कफीसप, रेष्टुरेन्ट जस्ता २३ वटै स्टल सञ्चालन गरिने छ । सपिङ कम्प्लेक्सको बिचमा भने केटाकेटी खेल्ने आकर्षक पार्क निर्माण गर्ने डिजाईन गरिएको मेयर रिजालले बताए । सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माणका लागि हालको प्रहरी बुथ लगायतका संरचना हटाउनुपर्ने हुन्छ । ‘सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क दुई तलाको हुने छ । दुबै तलामा २३/२३ वटा सटर हुने छ,’ मेयर रिजालले भने, ‘केही सटरमा नगरपालिकाकै कोसेली घर, कृषि उपज संकलन केन्द्र जस्ता स्टल सञ्चालन गरिने छ । बाँकी रहेका कोठा भाडामा दिनेछौँ ।

    भाडावापत मासिक ५ देखि ६ लाख राजस्व संकलन गर्ने दिगो माध्यमको रुपमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्कलाई विकास गर्नेछौँ ।’ नगरपालिका र पर्यटन मन्त्रालय बिचमा पर्यटन पुर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका बमोजिम गर्ने, पालिकाले खरिद प्रकृया सम्पन्न गरी ठेक्का सम्झौता भए पश्चात सम्झौता रकममा लागत साझेदारी गर्ने, विद्युतीय खरिद प्रकृयामार्फत कार्यक्रम गर्ने, ठेक्का सम्झौता भएपछि सम्झौता रकमको मन्त्रालयले बेहोर्ने भारको २० प्रतिशत रकम प्रथम किस्तावापत सम्वन्धित पालिकामा पठाउने, थप रकम कार्यक्रम कार्यान्वयनको प्रगतीका आधारमा निकासा गर्ने सम्झौता भएको छ ।

    मन्त्रालयको गत भदौ २ गतेको सूचनामार्फत माग भएको पर्यटन पुर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम सञ्चालनका लागि नेपाल सरकार मन्त्रीस्तरको माघ २९ गतेको निर्णय अनुसार साझेदारी आयोजनाकारुपमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क छनौट भएको हो ।

    सम्बन्धित समाचार