Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    मानव अधिकार

    विकासलाई मानव अधिकारसँग जोडे मात्र दिगो विकास : सचिव भट्टराई

    विकासलाई मानव अधिकारसँग जोडे मात्र दिगो विकास : सचिव भट्टराई


    • शुक्रवार, फाल्गुण १४ २०७७

    • नेपाल वाइड


    विकासलाई मानव अधिकारसँग जोडे मात्र दिगो विकास : सचिव भट्टराई
    फायल तस्बिर

    खोटाङ । फागुन १४, राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेद भट्टराईले विकासलाई मानव अधिकारसँग जोडेर अघि बढाउन सकिए मात्र दिगो विकास हुने बताएका छन् । खोटाङको विभिन्न स्थानीय तहमा आयोजना गरिएको ‘विकासको अधिकारमा स्थानीय तहको भूमिका’ सम्बन्धी छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका सचिव भट्टराईले मानव अधिकार चित्रित हुनेगरी कार्यसम्पादन गर्न आग्रह गरेका हुन् ।

    राज्यका सबै निकायले सम्पादन गर्ने कार्यप्रतिको आम नागरिकको अवधारणाले कुनैपनि देश, प्रदेश वा स्थानीय तहको समग्र मानव अधिकारको अवस्था चित्रित गर्ने उल्लेख गर्दै सचिव भट्टराईले मानव अधिकारको अवस्थाका बारेमा नागरिकको बुझाईलाई स्वःमूल्याङ्कन गरी कार्य सम्पादन गर्नु पर्ने धारणा राखेका छन् ।

    आयोगले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेसी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकामा फागुन १० गतेदेखि १४ गतेसम्म ‘विकासको अधिकारमा स्थानीय तहको भूमिका’ सम्बन्धी छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा आयोगको प्रदेश शाखा कार्यालय खोटाङका प्रमुख उपसचिव श्यामबाबु काफ्लेले ‘विकास र मानव अधिकार’ सम्बन्धी अवधारणाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

    कार्यपत्र माथिको अन्तरक्रीया कार्यक्रममा सम्वन्धित स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगायत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागीता रहेको थियो । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले सबै कर्मचारीले आफु पनि अर्को कार्यालयको सेवाग्राही भएको महसुस गरी कार्य सम्पादन गरे नागरिकको अधिकार स्वतः सम्बोधन हुँदै जाने बताएका छन् ।

    यस्तै, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले विकास सहित सम्पूर्ण गतिविधिलाई मानव अधिकारसँग जोडेर लैजानु पर्नेमा जोड दिए । कार्यक्रममा सहभागी नगरपालिकाका उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पनि आगामी दिनमा विकास निर्माणको कार्य अगाडी बढाउँदा मानव अधिकार र विकासको अधिकारको विषयमा थप ध्यान दिइने प्रतिबद्धता जनाएका छन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विणादेवी राई, रावाबेँसी गाउँपालिकाका अध्यक्ष लीलानाथ निरौला, ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौला र ऐसेलुखर्क गाउँपालिकाकी उपाध्यक्ष पुष्पकला भुजेलले विकास अधिकारलाई मानव अधिकारको अभिन्न अङ्गको रुपमा आत्मसात गर्दै योजना निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

    सम्बन्धित समाचार