शनिवार, फाल्गुण १५ २०७७
नेपाल वाइड
खोटाङ । फागुन १५, खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारस्थित सुनकोसीमा ‘आर्क’ ब्रिज निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी आफ्नै प्रतिवद्धता अनुशारको प्रगती देखाउन चुकेको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसी पुल निर्माणको ठेक्का लिएका निर्माण व्यवसायी आफैले गरेको प्रतिवद्धता अनुशारको कामको प्रगती देखाउनबाट चुकेको हो ।
गत माघ २६ गते काठ्माण्डौंमा भएको छलफलकाक्रममा खोटाङकै दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई र सडक बिभाग पुल योजना पुर्वी क्षेत्र सेक्टर नम्बर १ का डिई कैलास शाहको अगाडि निर्माण व्यवसायी रामकुमार थापाले गत फागुन १० गतेभित्र खोटाङतर्फको पिलर बिम र त्यसमाथि स्ल्याव ढलान गर्ने प्रतिवद्धता जनाएका थिए ।
तर, निर्माण व्यवसायी थापाले आफ्नो प्रतिवद्धता अनुशार पुलको कामको प्रगती देखाउन नसकेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष राईले बताए । उदयपुरतर्फको बिम र त्यसमाथि स्ल्याव ढलान गरिसकेका निर्माण कम्पनी गौरी पार्वती वाईपी जेभीलाई खोटाङतर्फको बिममाथि स्ल्याव ढलान गर्न अझै हप्ता/दश दिन लाग्ने अनुमान गरिएको छ ।
बिम ठडिए पनि हाल ढलानकालागि भने फर्मा ठड्याउने काम भइरहेको छ । ‘आज पुःन फोक्सिङटार पुगेँ । माघ २६ गते गरेको प्रतिवद्धता अनशारको प्रगती भएन तर कामको रफ्तार बढेको देखिएको छ,’ शुक्रबार पुल निर्माणस्थल पुगेर फर्किएका गाउँपालिका अध्यक्ष राईले भने, ‘यही गतिमा काम गरिरह्यो भने खोटाङतर्फको बिम र स्ल्याव ढलान हप्ता दिनमा पुरा गर्ने अनुमान गर्न सकिन्छ ।’
निर्माण व्यवसायीले हाल खोटाङतर्फको आर्क राख्ने रडको प्वाल ड्रिल लगाएर छेडिरहेको छ । बिमको फेदमा गरिएको ढलानमा रहेको आर्क राख्ने रड वर्षाको बाढीले बगाएको थियो ।

खोटाङलाई पुर्वी शहरसँग जोड्ने ‘आर्क–ब्रिज’ निर्माणको काममा चरम ढिलासुस्ती भएको व्यापक जनगुनासो आएपछि गाउँपालिका अध्यक्ष राईले पुलसँग सम्वन्धित डिई शाह र निर्माण व्यवसायी थापालाई काठ्माण्डौंमा एक ठाउँमा भेला गरेका थिए । सोही छलफलमा निर्माण व्यवसायी थापाले फागुन १० गतेभित्र खोटाङतर्फको बिम र स्ल्याव ढलान गर्ने, वर्षा याम सुरु भएपछि बेलिब्रिज हटाइए पनि तुईन लगाएर पुल निर्माणको कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका थिए ।
पुल निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउने वातावरण बनाउनका लागि दवाव सिर्जना गर्ने प्रयास स्वरुप गत माघ २४ गते स्थलगत निरिक्षण गरेको गाउँपालिका अध्यक्ष राई ठेकेदार खोज्दै काठ्माण्डौं पुगेका थिए । दिक्तेलबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका हुँदै उदयपुर पुग्ने गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने तथा खोटाङलाई पुर्वीशहरसँग जोड्ने पुल निर्माणमा ढिलासुस्ती भएकाले चासो देखाउनु परेको गाउँपालिका अध्यक्ष राईले बताए ।
पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा स्थानीय सरकार प्रमुखले चासो देखाएपछि माघ २७ गते सडक विभागमा समेत छलफल भएको भोलीपल्टै निर्माण व्यवसायी थापा फोक्सिङटार पुगेका थिए । ‘खोटाङ पछि परेको होईन, पारिएको हो । फोक्सिङटारमा बन्दै गरेको पुल निर्माणलाई निरन्तर दबाब र निगरानी गरिरहेका छौँ,’ गाउँपालिका अध्यक्ष राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुलको काम सोचे जति र निर्माण व्यवसायीले प्रतिबद्धता अनुशार भइरहेको छैन । फेरी पनि भन्छु, हामी खोटाङ्गेको सुख र खुसी खोस्ने अधिकार कसैलाई छैन ।’