Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    अरुण तेस्रो आयोजना

    नेपाल सरकारका पाँच सचिवद्धारा अरुण तेस्रोको एकैसाथ स्थलगत अनुगमन

    नेपाल सरकारका पाँच सचिवद्धारा अरुण तेस्रोको एकैसाथ स्थलगत अनुगमन

    गृहसचिव न्यौपानेले भने आयोजना निर्माणमा कसैले अवरोध नगर्नु

    • बुधवार, फाल्गुण १९ २०७७

    • नेपाल वाइड


    नेपाल सरकारका पाँच सचिवद्धारा अरुण तेस्रोको एकैसाथ स्थलगत अनुगमन

    खाँदबारी । नेपाल सरकारका विभिन्न मन्त्रालयका पाँच सचिवले सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको स्थलगत अवलोकन गरेका छन् । सेनाको हेलिकप्टरबाट आज बाँध निर्माणस्थल फ्क्सिन्दा र पावर हाउस निर्माणस्थल दिदिङको पिखुवा पुगेर उनीहरुले अरुण तेस्रोको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

    गृहसचिव महेश्वर न्यौपाने, ऊर्जा सचिव दिनेशकुमार घिमिरे, परराष्ट्र सचिव भरतराज पौड्याल, अर्थसचिव शिशिरकुमार ढुङ्गाना, रक्षा सचिव रेश्मीराज पाण्डे र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको टोलीले अरुण तेस्रोको स्थलगत अवलोकन गरेका हुन् ।

    उनीहरूले भारतीय निर्माण कम्पनी सतलज जलविद्युत् निगमले पछिल्लोपटक निर्माणको जिम्मा पाएको तल्लो अरुणको पनि अवलोकन गरेका थिए । अरुण–३ पावर डेभलपमेन्ट कम्पनीका सिइओ अरुण धिमानले विद्युत गृहस्थल पुखुवामा निर्माण भइरहेको सुरुङमार्ग र पावरहाउसका लागि निर्माण हुन लागेको अन्डरग्राउण्ड भवनका बारेमा जानकारी गराए । उनले तोकिएकै समयमा विद्युत् उत्पादन गर्ने पनि बताए ।

    गृहसचिव न्यौपानेले आयोजना निर्माणमा कसैले अवरोध गर्नु नहुने बताए । अरुण तेस्रोका लागि सेना, प्रहरी र सशस्त्रले सुरक्षा दिइसकेको पनि जानकारी दिए । “स्थानीयस्तरमा देखिएको समस्यालाई लगानी बोर्डमार्फत समाधान गर्नेछौँ”,उनले भने, “स्थानीयको माग गाउँपालिकामार्फत लगानीबोर्डमा आए छिट्टै समाधान हुन्छ ।”

    चिचिला गाउँपालिकाको छ्याङकुटीदेखि दिदिङस्थित पावरहाउससम्म जाने सडक एसजेभीएन कम्पनीले निर्माण गरिसकिएको छ ।छ्याङकुटीदेखि चिचिला–३ पुखुवास्थित दिदिङसम्मको २८ दशमलव ६९ किलोमिटरको सडक निर्माण सम्पन्न भएको छ । परियोजनाको २०७४ वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा शिलान्यास गर्नुभएको थियो । बाँधस्थलमा जयप्रकाश एशोसियट्स निर्माण कम्पनी तथा विद्युत्–गृहस्थल क्षेत्रमा पटेल इञ्जिनीयरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम गरिरहेका छन् ।

    सम्बन्धित समाचार