शनिवार, फाल्गुण २२ २०७७
नेपाल वाइड
खोटाङ । फागुन २२, स्वास्थ्यचौकीको भवन निर्माणमा चरम ढिलासुस्ती भएपछि खोटाङको साकेला गाउँपालिकाले ठेकेदारमाथि कारबाही गर्न माग गरेको छ । साकेला गाउँपालिका–५ मात्तिम विर्तामा तीन वर्षमा निर्माण गरिसक्नु पर्ने स्वास्थ्यचौकीको भवन पाँच वर्षमा पनि पूरा नभएपछि गाउँपालिकाले ठेकेदार कम्पनी यूएस–नाना जेभी निलकण्ठ–३ धादिङलाई कारबाही गर्न माग गरेको हो ।
स्वास्थ्यचौकीको भवन निर्माणको काम पुरा गर्नका लागि निर्माण कम्पनीलाई बारम्बार आग्रह र ताकेता गर्दा पनि बेवास्ता गरेको भन्दै गाउँपालिकाले कानूनी कारबाहीका लागि शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगालाई फागुन २० गते पत्राचार गरेको छ ।
स्वास्थ्यचौकीको अधुरो काम शिघ्र पुरा गर्नका लागि लिखित र मौखिक आग्रह गर्दा र सचेत गराउँदा पनि ठेकेदार कम्पनीले बेवास्ता गरेकाले कानूनी कारबाहीका लागि प्रकृया अघि बढाउन सघन शहरी तथा भवन निर्माण आयोजनालाई पत्राचार गरिएको गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताउनुभयो ।

शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगालाई फागुन २० गते गरेको पत्राचार
भवन निर्माणको काम पुरा गर्नका लागि निर्माण व्यवसायीलाई चार पल्ट पत्र पठासकिएको गाउँपालिकाले जनाएको छ । तोकिएको समयमा स्वास्थ्यचौकीको भवन निर्माण नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भइरहेको गाउँपालिका अध्यक्ष खड्काले बताए । तीन वर्षमा पुरा गर्नेगरी २०७२ साल कात्तिक २० गते सम्झौता गरिएको स्वास्थ्यचौकीको भवनको फिनिसिङको काम मात्र बाँकी छ । एक÷डेढ महिना समय दिए भवन तयार हुने अनुमान गरिएको छ ।
२०७७ साल असार महिना ३१ गतेसम्म थप भएको म्याद सकिएपछि पुःन थप भएको ६ महिने म्याद पनि गत पुस २९ गते गुज्रिसकेको संघीय शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका ईन्जिनियर बिनोद सिंले बताए । यूएस–नाना जेभीले २ करोड १६ लाखमा स्वास्थ्यचौकीको भवन ठेक्का लिएको हो ।
स्वास्थ्यचौकीको भवन निर्माणमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कारबाहीका लागि साकेला गाउँपालिकाले पत्राचार गरेपछि सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाले बैंक ग्यारेन्टी तान्ने प्रकृया थालेको छ । ठेकेदार कम्पनीले सम्झौता अनुसारको काम नगरेको तथा हालसम्म पेश्की रकमको १८ लाख फस्र्यौट नगरेको भन्दै सघन शहरी तथा भवन निर्माण आयोजनाले प्राईम कमर्सियल बैंक लिमिटेड, कमलपोखरीलाई जमानत रकमबाट रकम भुक्तानीका लागि पत्राचार गरेको हो ।
आयोजना प्रमुख प्रकिर्ण तुलाधरले बिहिबार पठाएको पत्रमा ‘पेश्की रकममध्ये हालसम्म १८ लाख फस्र्यौट हुन नसकेको उल्लेख गर्दै प्राईम कमर्सियल बैंकबाट जारी भएको बैंक जमानतबाट आयोजनाको नाममा रकम भुक्तानी गरिदिन’ भनिएको छ ।
