बिहिवार, फाल्गुण २७ २०७७
नेपाल वाइड
खोटाङ । फागुन २६, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले छात्रालाई निःशुल्क सेनीटरी प्याड वितरण सुरु गरेको छ । महिनावारी भएको अवस्थामा विद्यालय छाड्न बाध्य किशोरीलाई ध्यानमा राखेर नगरपालिकाले कक्षा ८ देखी कक्षा १० मा अध्ययनरत छात्रालाई निःशुल्क सेनीटरी प्याड उपलव्ध गराउन सुरु गरेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माविबाट छात्रालाई निःशुल्क सेनीटरी प्याड वितरण सुरु गरिएको हो । बुधबार नगरपालिकाका मेयर दिपनारायण रिजाल र उपमेयर विणादेवी राईले कालिका माबिका छात्रालाई सेनीटरी प्याड वितरण गर्दै अभियानको सुरुवात गरेका छन् ।
अभियानका दौरान १५ वडा रहेको नगरपालिकाका २१ वटा मावि र १४ वटा आधारभूत विद्यालयमा अध्ययनरत ३ हजार ३१० छात्रालाई सेनीटरी प्याड वितरण गरिने नगरपालिकाका शिक्षा शाखा संयोजक तिर्थ बिश्वकर्माले बताए । विद्यालयमा तोकिएकी फोकल पर्सन शिक्षिकाबाट छात्राले आवश्यक परेको समयमा सेनीटरी प्याड लिन सक्ने नगरपालिकाले जनाएको छ ।
महिनावारी भएको बेलामा सेनीटरी प्याडकै अभावमा कक्षा छाड्न बाध्य छात्रालाई विद्यालयमा नियमित उपस्थित हुने वातावरण निर्माणका लागि निःशुल्क सेनीटरी प्याड वितरण सुरु गरिएको उपमेयर राईले बताईन् ।