मंगलवार, चैत्र ३ २०७७
नेपाल वाइड
खोटाङ । चैत्र ३, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कमा एकैदिन वडा कार्यालय, स्वास्थ्यचौकी, चम्पावती माबि र महिला समुहको भवन उद्घाटन गरिएकोे छ । विजयखर्कस्थित वडा कार्यालयको प्रांगणमा सोमबार आयोजना गरिएको कार्यक्रममा मेयर दिपनारायण रिजाल र उपमेयर विणादेवी राईले संयुक्त रुपमा चार वटा भवन उद्घाटन गरेका छन् ।
नगरपालिकाको ७० लाखको लागतमा सञ्जिव निर्माण सेवाले वडा कार्यालयको भवन निर्माण गरेको हो । निर्माण कम्पनीका प्रतिनिधि लालबहादुर विश्वकर्माले वडाध्यक्ष वीरेन्द्रप्रसाद ढकाललाई भवनको चाँबी हस्तान्तरण गरेका छन् । १५ वडा रहेको नगरपालिकामा एकै डिजाईनका भवन बनाउनेक्रममा बिजयखर्कको भवन निर्माण गरिएको हो । वडाको करिव सय जना अट्ने सभाहल, वडाध्यक्ष, वडा सचिव र वडा कार्य समितिका सदस्य बस्ने चार कोठे भवन निर्माण गरिएको छ ।

यस्तै, भवन जिल्ला आयोजना कार्यन्वयन इकाई भवन ओखलढुंगाको १ करोड ७० लाख र प्राविधिक सहयोगमा स्वास्थ्य चौकीको भवन निर्माण गरिएको हो । यस्तै, प्राधिकरणकै ७० लाख ४० हजारमा चम्पावती माविको भवन निर्माण गरिएको जनाइएको छ । विद्यालयको मेसिनरी वाल निर्माणमा नगरपालिकाले १० लाख सहयोग गरेको जनाइएको छ । यस्तै, नगरपालिकाकाे ५ लाख सहयाेगमा स्थानीय भैरबेश्वर महिला जागरण मञ्चको भवन निर्माण गरिएको छ। ।
वडा कार्यालय, स्वास्थ्यचौकी, विद्यालय र महिला जागरण मञ्चको भवन निर्माण भएपछि सेवा लिन सहज भएको बिजयखर्कका स्थानीय शारदाप्रसाद पोखरेलले बताए । नवनिर्मित विद्यालय भवनमा कम्प्युटर ल्याब एवं साइन्स ल्याब स्थापना गरिएको छ । विद्यालयकै प्राङ्गणमा सरस्वती मन्दिर निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
विद्यालयको नयाँ भवन निर्माणसँगै कम्प्युटर ल्याब एवं साइन्स ल्याब स्थापना भएपछि पठन–पाठन प्रभावकारी बनाउन योगदान पुगेको चम्पावी माबिका प्रअ गोबिन्द पोखरेलले बताए । भवन उद्घाटनकै अवशरमा विजयखर्कका विद्यार्थीलाई दिवा खाजा तथा टिफिन क्यारी एवं छात्राका लागि स्यानिटरी प्याड वितरण सुरु गरिएको छ ।